उन्नत जातको धानखेतीमा किसानको आकर्षण

दुल्लु । पछिल्लो समय स्थानीय रैथाने जातका धान रोप्न छाडेर किसानले उन्नत जातका धान रोप्न थालेका छन् । जिल्लाका अधिकांश खेतमा किसानले पुरानो रैथाने जातका धान डेरादुने, झ्याले, भुरसाले, गुणे र कालेगुणेलगायतका रोप्ने गर्दथे । पछिल्लो समय किसानले यी सबै पुराना जातका धान छाडेर उन्नत जातका धान लगाउन थालेका छन् । नारायण नगरपालिका–२ का किसान हरि थापाले रैथाने धान रोप्न छाडेको दुई वर्ष भएको बताए । पहिले स्थानीय जातको धान लगाउने भए पनि आफूले अहिले छाडेको पुरानो धान कम फल्ने अनि मिहिनेत बढी गर्नुपर्ने भएकाले उन्नत जातको धान लगाउने गरेको सुनाए ।

पछिल्लो समय रैथाने जातका धान लगाउनेको संख्याभन्दा उन्नत जातको धान लगाउनेको संख्या ह्वात्तै बढेको छ । कम सिँचाइमा धेरै उत्पादन हुने र गोड्न पनि नपर्ने हुँदा पुरानो धानभन्दा उन्नत जातका धान लगाउनतर्फ किसानको आकर्षण बढेको ललित रिजालले बताए । महाबु गाउँपालिकाका कृषि प्राविधिक सूर्य न्यौपानेले स्थानीय जातको धानमा उत्पादन बढाउन नसक्नु, यसको फाइदाबारे जानकारी गराउन नसक्नु र संरक्षणमा ध्यान दिन नसकेका कारण लोप हुने खतरा बढेको जनाए । अहिले किसानले युएस–३१२, युएस–३०५, युएस शंकर लगायतका उन्नत जातका धान बजारबाट खरिद गरी लगाउने गरेका छन् । आफ्नो पसलबाट मात्रै ४० क्विन्टल बिउ बिक्री गरेको किसान एग्रोभेट दैलेखका सञ्चालक कनक खड्काले जानकारी दिए ।

दैलेखका नौमुले, डुङेश्वर, राकम कर्णाली, भैरवी, पादुका लगायतका सेराखेतमा रैथाने गुणे र कालो गुणे लगाइने भए पनि यस वर्ष त्यहाँ पनि किसानले नलगाउने सम्भावना बढेको दुईपटक राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारबाट पुरस्कृत सर्वजित भण्डारीले आशंका व्यक्त गरे । जिल्ला कृषि विकास कार्यालयका प्रमुख तिलक पाण्डे रैथाने बाली प्रवद्र्धनका लागि अनुदानसमेत दिने गरिएको बताउँछन् । ‘किसानको पुरानो धान खेतीमा आकर्षण नहुनु भनेको प्रवद्र्धन गर्न नसक्नु नै हो, सबैभन्दा उत्पादन कम हुनु हो, यसका लागि अरूभन्दा किसान नै बढी लाग्नुपर्छ’, उनले भने । जिल्लाको कुलखेतीयोग्य जमिन ४१ हजार १ सय ३१ हेक्टर रहेको छ भने त्यसमध्ये ६ हजार ५ सय १७ हेक्टर जमिनमा धानखेती गर्ने गरेको पाण्डेले जानकारी दिए । अहिले ६० प्रतिशत किसानले उन्नत जातका धान रोप्ने आँकलन गरिएको छ ।

प्रतिक्रिया