सिटिजन्स बैंकको सातौँ साधारण सभा

काठमाडौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको सातौँ विशेष साधारण सभा बैंक सञ्चालक समितिका अध्यक्षश्री राजनसिंह भण्डारीको अध्यक्षतामा सम्पन्न भएको छ । कोभिड–१९ का कारण पर्न सक्ने सम्भावित असर एवं लकडाउनलाई मध्यनजर गर्दै सुरक्षात्मक उपाय अवलम्बन गरी बैंकले सातौँ विशेष साधारण सभा संचालन गरेको हो ।

सञ्चालक समितिको तर्फबाट अध्यक्ष भण्डारीले सिर्जना फाइनान्स लिमिटेडललाई प्राप्ति गर्नका लागि गरेको विशेष प्रस्ताव विशेष साधारण सभाबाट सर्वसम्मत रुपमा पारित भएको हो । सभाले सिर्जना फाइनान्स लिमिटेड र सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड बीच भएका प्रारम्भिक सहमति तथा अन्तिम सम्झौतापत्रको अनुमोदन गरेको छ । सिर्जनाको १ सय कित्ता शेयरलाई सिटिजन्सको ९५ कित्ता शेयर दिने गरी शेयर मूल्य अनुपात कायम गरिएको पनि बैकले जनाएको छ ।

राष्ट्र बैंकबाट ग वर्गको इजाजत प्राप्त, बिराटनगरमा प्रधान कार्यालय रहेको सिर्जनाको २७ जेठ २०७७ मा सम्पन्न विशेष साधारण सभाले समेत सिर्जना फाइनान्सलाई प्राप्तिका लागि स्वीकृति प्रदान गरिसकेको छ । दुबै बैंक तथा फाइनान्सको विशेष साधारण सभाले स्वीकृति दिएसँगै सिटिजन्स बैंकले सिर्जना फाइनान्सलाई प्राप्ति गर्नका लागि बाटो खुलेको हो ।

बैंकको संचालक तथा मर्जर तथा प्राप्ति समितिका संयोजक प्रवल जंग पाण्डेको नेतृत्वमा बैंकले सहयोगी विकास, तिनाउ मिसन डेभलपमेण्ट र सिर्जना फाइनान्सको प्राप्ति अगाडि बढाएको हो । प्राप्ति पश्चात बैंकको पहुँच बढ्न गई प्रतिस्पर्धात्मक क्षमताको अभिबृद्धि हुने, बैंकको वित्तीय, मानव–संशाधनका साथै प्राविधिक एवं अन्य क्षमताको अभिवृद्धि भई ग्राहक वर्गलाई आधुनिक, गुणस्तरीय तथा भरपर्दो बैंकिग सुविधा प्रदान गर्न सहज हुने अपेक्षा गरिएको पनि विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया