प्राविधिकलाई ‘लप्पन छप्पन २’ को सहयोग

काठमाडौं । कोरोनाका कारण समस्यामा परेका चलचित्र प्राविधिकलाई ‘लप्पन छप्पन २’ ले सहयोग गरेको छ । कोरोनाका कारण लगाइएको निषेधाज्ञाले चलचित्र उद्योग ठप्प छ । यस उद्योगमा पर्दा पछाडि रहेर काम गर्ने प्राविधिक काम रोकिएपछि समस्यामा परेका छन् । कतिपयलाई भाडा तिर्न र कतिलाई चुल्हो बाल्न कठिन भएको छ । चलचित्र प्राविधिक समस्यामा परेका खबर बाहिरिएसँगै देशविदेशमा रहेका कलाकार सहयोग जुटाउन थालेका छन् । मुकेश आचार्य, रुपा राणा, निर्मल शर्मा, जीवन लुइँटेल, राजवल्लभ कोइराला लगायतका कलाकारले चलचित्र प्राविधिक संघको विपद् व्यवस्थापन कोषमा सहयोग प्रदान गरिसकेका छन् । पर्दा पछाडि बसेर काम गर्ने प्राविधिक कामविहीन भएर समस्यामा परेपछि उनीहरुले सहयोग जुटाएका हुन् ।

चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले कोषमा करिब पाँच लाख रकम संकलन भएको जानकारी दिए । यसैबीच ‘लप्पन छप्पन–२’ को टोलीले २५० जना चलचित्र प्राविधिकलाई खाद्यान्न सहयोग उपलब्ध गराएको छ । चिनियाँ चलचित्र वितरक शान्न शर्मा, निर्देशक मुकुन्द भट्ट र प्रोडक्सन म्यानेजर युवराज कार्कीको संयोजनमा उक्त चलचित्रको टोलीले २५० जनालाई खाद्यान्न वितरण गरेको जनाइएको छ । उनीहरुले प्रत्येकलाई २५ केजीको एक बोरा चामल, तीन लिटर तेल, पाँच किलो दाल सहयोग गरेका हुन् । खाद्यान्न वितरणमा अभिनेत्री करिश्मा मानन्धर, अभिनेता पल शाह, नवीन लम्साल लगायतका कलाकारको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया