ज्येष्ठ नागरिकको सम्मानमा कविता प्रतियोगिता

काठमाडौं । समाजमा ज्येष्ठ नागरिकले दिएको योगदानको सम्मान गर्दै कविता प्रतियोगिता हुने भएको छ । राष्ट्रिय ज्येष्ठ नागरिक कोष र नेसनल प्याब्सनको संयुक्त आयोजनामा आगामी १ असारमा भर्चुअल माध्यमबाट उपत्यकाव्यापी विद्यालयस्तरीय कविता प्रतियोगिता हुने भएको हो । नेसनल प्याब्सनका अध्यक्ष खड्गबहादुर बस्नेतले ज्येष्ठ नागरिकको दुव्र्यवहारविरुद्ध जनचेतना फैलाउने लक्ष्य राखेर उपत्यकाव्यापी विद्यालयस्तरीय कविता प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी दिए । उनले भने, ‘कविता प्र्रतियोगिताले स–साना बालबालिकालाई ज्येष्ठ नागरिकप्रति सम्मान गर्नका लागि थप सहयोग पुग्ने विश्वास लिएका छौँ ।’ उनले सिर्जनात्मक गतिविधिमार्फत ज्येष्ठ नागरिकको सम्मान बढाउन र उनीहरुको योगदानलाई नयाँ पुस्तासम्म जोड्न प्रतियोगिताले सघाउ पुग्ने विश्वास व्यक्त गरे ।

नेसनल प्याब्सनका सञ्चार विभाग प्रमुख राजन श्रेष्ठले ज्येष्ठ नागरिकमाथि कतिपय स्थानमा अपमानजनक व्यवहार तथा शब्दहरू प्रयोग हुँदै आएकाले यस्ता प्रकारका गलत काम रोक्न उक्त प्रतियोगिताले सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले भने, ‘ज्येष्ठ नागरिकको सम्मान समाज र राष्ट्रकै सम्मान भएकाले हामीले संयुक्त रुपमा प्रतियोगिताको आयोजना गर्न लागेका हौं ।’ कार्यक्रममा सहभागी हुने विद्यार्थीले जेठ २८ गते साँझ ४ बजेसम्म आफ्नो विद्यालयमा नाम दर्ता गरिसक्नुपर्ने श्रेष्ठले बताए । बढीमा चार मिनेटभित्र कविता सम्पन्न गर्नुपर्ने उक्त प्रतियोगितामा कक्षा १० सम्मका विद्यार्थीले भाग लिन पाउनेछन् । प्रतियोगितामा प्रथम हुने विद्यार्थीलाई आठ हजार, दोस्रो हुनेलाई छ हजार, तृतीय हुनेलाई चार हजार र सान्त्वना चार जनालाई जनही एक हजार र प्रमाणपत्र प्रदान गरिने जनाइएको छ ।

प्रतिक्रिया