धरासायी चलचित्र उद्योग

काठमाडौं । नेपालमा कोरोना संक्रमण सुरु भएपछि नेपाली चलचित्र उद्योग धरासायी भएको भन्दै पुनरुत्थानका लागि योजना ल्याउनुपर्नेमा जोड दिइएको छ । कोरोनाका कारण २०७६ चैतदेखि लगाइएको बन्दाबन्दीले चलचित्र उद्योग धरासायी बन्दै गयो । बीचमा केही समय खुलेको यो उद्योगमा कोरोनाको दोस्रो लहरपछि लगाइएको निषेधाज्ञाले उठ्नै नसक्ने गरी थला परेको छ । यसैबीच सुशील कोइराला मेमोरियल फाउण्डेसनले भर्चुअल माध्यमबाट आयोजना गरेको ‘कोरोना महामारी ः नेपाली चलचित्र’ क्षेत्र विषयक बहसमा पुनरुत्थानका लागि आवश्यक कार्यक्रम ल्याउनुपर्नेमा जोड दिइएको छ ।

सो कार्यक्रममा चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीले सन् २००८ देखि डिजिटल प्रविधिमा गएपछि चलचित्र उद्योग राम्रो चल्न थालेको बताउँदै भूकम्प, नाकाबन्दी, कोरोना महामारीजस्ता कारणले धरासायी अवस्थामा पुगेको जिकिर गरे । भूकम्पपछि गति लिँदै गएको चलचित्र उद्योगमा कोरोनाका कारण एक वर्षमा एक अर्बभन्दा बढी घाटा लागेको उनको भनाइ थियो । चलचित्र उद्योगमा काम गरिरहेका हजारौँ मानिस बेरोजगार भई बिहान बेलुका हातमुख जोर्नसमेत धौधौ हुन थालेको चलचित्र निर्माताको गुनासो छ । बन्दाबन्दी अगाडि प्रदर्शनका लागि तयार भएका धेरै चलचित्र रोकिएका छन् । सरकारले अध्यादेशमार्फत ल्याएको आगामी आर्थिक वर्षको बजेटमा चलचित्र उद्योगसम्बन्धी नीतिगत स्पष्टता नआएकाले त्यसलाई सच्याउन समेत उनीहरुले माग गरेका छन् । निर्माता संघका अध्यक्ष अधिकारीले चलचित्र क्षेत्र पुनरुत्थान हुने कार्यक्रम बजेटमार्फत आउनुपर्ने माग गरे । उनले नेपाल आफैँमा चलचित्रसिटी भए पनि एउटा स्टुडियो आवश्यक रहेको बताए ।

यस्तै, मोसन पिक्चर्स एसोसिएसनका अध्यक्ष मधुसुदन प्रधानले ऐतिहासिक पुरुष, संस्कृतिका विविध विषयमा चलचित्र बनाउन अनुसन्धानात्मक कार्यक्रम बनाउनुपर्ने आवश्यकता रहेको धारणा राखे । उनले नेपालका जननिर्वाचित पहिलो प्रधानमन्त्री बिपी कोइरालाका विषयमा चलचित्र निर्माण सुरु भए पनि पूरा नभएको, वीर गणेशमान चलचित्रमा गणेशमान सिंहलाई न्याय नभएको भनाइ राखे । हाल अमेरिकामा रहेका निर्देशक एवं लेखक अनिश कोइरालाले चलचित्र बनाउन धेरै दस्तावेज जुटाएर अनुसन्धान गरी अघि बढे मात्र सफल हुने बताए । चलचित्र निर्देशक महासंघका अध्यक्ष रक्षासिंह राणा, सञ्चारकर्मी तथा समालोचक सामीप्यराज तिमल्सिना लगायतले महिलालाई चलचित्रमा टिक्न निकै गारो हुने धारणा राख्दै कोरोना महामारीका कारण पलायन हुने अवस्था आएको बताए ।

नेपाललाई चिनाउन सक्ने चलचित्र बनाइनुपर्नेमा जोड दिँदै फाउण्डेसनको सदस्यसचिव अतुल कोइरालाले बिपी, पुष्पलाल, सत्यमोहन जोशी, माधवप्रसाद घिमिरे लगायतका ऐतिहासिक व्यक्तित्वका विषयमा चलचित्र बनाउनुपर्नेमा जोड दिए । कोरोनाअघि देशभर करिब ३०० चलचित्र घर चल्ने गरेकोमा गत वर्षको बन्दाबन्दीपछि केही समय खुलेका बेला ८० चलचित्र घर पनि चल्न नसकेको निर्माताले जानकारी दिएका छन् ।

प्रतिक्रिया