कोरोना संक्रमित दम्पतीले नै संक्रमितको उपचार गर्दै

सर्लाही । सर्लाहीको हरिवन नगरपालिका–९ सुकेपोखरीको सर्लाही जीवन अस्पताल सञ्चालन गर्दै आइरहेका एक जोडी आफू कोरोना संक्रमित भएर पनि अन्य संक्रमितको उपचारमा दिनरात लागिरहेका छन् ।

गत वर्ष कोरोना भाइरसको पहिलो लहर फैलिँदै गर्दा सरकारले बन्दाबन्दी गरेपछि अलपत्र परेका पैदल यात्रीलाई निःशुल्क खाना खुवाउन खटिएका यो दम्पती यस पटकको संकटमा भने संक्रमितको उपचारमा जुटेका छन् । उनीहरु आफैँ संक्रमित हुँदा समेत बिमारीको हेरचाहमा अहोरात्र खटिएका छन् ।

सर्लाही जीवन अस्पतालका सञ्चालक अमृता उप्रेती र अर्जुन मैनाली अहिले आफूहरु नै कोरोना संक्रमित छन् । बिरामीको उपचारमा खटिँदाखटिँदै आफूहरू समेत कोरोना संक्रमित भएको अमृताले बताइन् । अमृताका अनुसार उनिहरूकै कारण छोरा, छोरी, दाजु, बुबासहित पूरै परिवार संक्रमित भएका छन् ।

उप्रेती परिवारले निर्माणाधीन अस्पताल भवन आइसोलेसनका रूपमा प्रयोग गर्न हरिवन नगरपालिकालाई दिएको छ । नगरपालिकाले भवनमा ६० शय्याको अक्सिजनसहितको आइसोलेसन तयार गरेको जनाएको छ ।

आइसोलेसन स्थापना गरेको सुनेपछि गत वैशाख २४ देखि नगरका संक्रमितहरु उपचारका लागि आउन सुरु गरेको अमृताका श्रीमान अर्जुनले बताए । नगरपालिकाले बिरामीको उपचारमा भने कुनै ध्यान नदिएको उनिहरुको भनाइ छ ।

बिरामीको उपचारमा नगरपालिकाले बेवास्ता गरेपछि उनिहरू आफैँ उपचारमा खटिएका छन् । ‘‘नगरपालिका जिम्मेवारीबाट पन्छिरहेको छ, बिरामी शय्यामा लम्पसार परेपछि हामीले कसरी फर्काउनु, बिरामी मरेको हेरेर बस्न सकिएन र उपचारमा खटिएका छौँ’, अर्जुनले भने ।

दुवैजना स्वास्थ्यकर्मीले सञ्चालन गरेको निजी अस्पतालले कोरोना संक्रमितको उपचार निःस्वार्थ भावले गरिरहँदा नगरपालिका भने मौन बसेको देख्दा आफूहरुलाई आश्चर्य लागेको अमृताले बताइन् । अहिले उनीहरूको निगरानीमा हरिवन, बागमती, लालबन्दीलगायत स्थानबाट आएका १९ जना संक्रमित भर्ना भएका छन् ।

गम्भीर समस्या भएका आठजना उपचारपश्चात् घर फर्किसकेको अस्पतालले जनाएको छ । सामान्य स्वास्थ्य सुरक्षाको सामग्री समेत नहुँदा असुरक्षित ढङ्गले बिरामीको उपचार गरिरहनु परेको अमृताले दुःखेसो गरिन् । उपचारत बिरामीका लागि बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाले अक्सिजन सहयोग गरेका थिए । अहिले त्यही अक्सिजन प्रयोग भइरहेको छ ।

निकै अनुरोधपछि हरिवन नगरले पनि चारवटा खाली सिलिन्डर दिएको छ । आफैँ संक्रमित भएका कारण बिरामीको हेरचाह गर्न निकै समस्या हुने गरेको स्वास्थ्यकर्मी यस दम्पतीको भनाइ छ । आफूहरुले सोचेजति सेवा दिन नसके पनि बिरामीहरू अन्यत्र जान नमानेको अमृताले बताइन् ।

थप भर्ना नलिने भनेर फर्काउँदा समेत बिरामीहरू अस्पतालको द्वारमा आएर बस्ने गरेको छन्’, उनले भनिन् । बिरामीका लागि अहिले उनिहरु सारथी जस्तै बनेका छन् । अस्पतालमा बिरामीको सङ्ख्या बढेपछि चिकित्सक र स्वास्थ्य सामग्रीको व्यवस्था गर्न हरिवन नगरपालिकाका नगरप्रमुख गणेशप्रसाद प्रसाईलाई निकै अनुरोध गर्दा पनि कुनै चासो नदेखाएको उनको भनाइ छ ।

नगरपालिकाले भने अस्पतालमा राख्नुपर्ने बिरामीलाई आफ्नै स्वास्थ्य कार्यालयस्थित आइसोलेसनमा राखेको जनाएको छ । अस्पताल सञ्चालीका अमृता सिएमए हुन् भने उनका श्रीमान् अर्जुन ल्याब टेक्निसिएनसँगै जुनिएर इन्ट्रन हुन् ।

प्रतिक्रिया