संक्रमित खोज्दै घरघरमा स्वास्थ्यकर्मी

दोस्रो चरणको कोरोना भाइरस कोभिड–१९ का कारण डोटीका जिल्लावासी आक्रान्त बन्न थालेपछि त्यसको रोकथाम तथा नियन्त्रणका लागि यहाँका स्थानीय तहले आफ्ना विभिन्न प्रयास थालेका छन् । यहाँका स्थानीय तहमा रहेका स्वास्थ्यकर्मीहरू संक्रमित खोज्न औषधिसहित घरघरमा जान थालेपछि नागरिकमा पनि आडभरोसाको अनुभूति भएको छ । स्वास्थ्यकर्मीसँगै जनप्रतिनिधिहरू पनि आफ्ना नागरिकको सुरक्षाका लागि गाउँ तथा घरमा आउन थालेपछि नागरिकहरू खुशी हुन थालेको जोरायल गाउँपालिका–५ गड्सेराका गगनसिंह चोखालले बताए । उनले भने, ‘गाउँमा स्वास्थ्यकर्मी र जनप्रतिनिधि औषधि लिएर आउन थालेका छन्, अब त कोरोना लागे पनि बचिन्छ होला भन्ने आशा जगाएको छ ।’

डोटी जिल्लामा कोरोना सक्रमित दिन दिनै बढ्दै जान थालेपछि यहाँका स्थानीय तहले स्थानीयवासीका घरघरमा गएर संक्रमितको खोजी गर्न थालेका हुन् । यहाँका नौ वटा स्थानीय तह दिपायल सिलगढी नगरपालिका, शिखर नगरपालिका, आदर्श गाउँपालिका, सायल, पूर्वीचौकी, बोगटान फुड्सिल, केआइसिंह, बडिकेदार तथा जोरायल गाउँपालिकाले पछिल्लो समय आफ्ना वडामा रहेका नागरिकको घरैमा गएर कोरोना जाँच गर्न थालेका छन् । यहाँका स्थानीय तहमा रहेका स्वास्थ्यकर्मीहरूले घरघरमा गएर बिरामीहरूको एन्टिजेन परीक्षण गर्न थालेको हुन् ।

जिल्लामा हालसम्म सक्रिय कोरोना संक्रमितको संख्या एघार सय नाघिसकेको छ भने सातजनाको ज्यान गइसकेका छन् । भारतबाट घर आएका नागरिकहरूको सीमा क्षेत्रमा कोरोनासम्बन्धी जाँच नगरिएका कारण यहाँका गाउँघरमा कोरोना संक्रमित बढेको स्थानीयवासीको बुझाइ छ । पछिल्लो समय कोरोना महामारी समुदायस्तरमै फैलिन थालेपछि यहाँका स्थानीय तहका स्वास्थ्यकर्मीको सहयोगमा गाउँगाउँमा स्वास्थ्यकर्मी गएर संक्रमितको खोजी गर्न थालिएको जिल्ला अस्पताल डोटीका सुपरिटेन्डेन्ट कृष्णराज जोशीले बताए । उनले भने, ‘समुदायका कोरोना संक्रमण फैलिएको पाइएपछि हामीले स्थानीय तहका स्वास्थ्यकर्मीको सहयोगमा घर घरमा गएर संक्रमितको खोजी गर्दै उपचार गर्न थालेका छौँ, जसले गर्दा नागरिक र समुदायले राम्रो हुने भएको छ ।’ कोरोना संक्रमितको खोजी कार्यसँगै यहाँका स्थानीय तहका स्वास्थ्यकर्मीले आ–आफ्ना पालिका तथा वडाहरूमा स्वास्थ्य सेवालाई समेत प्रभावकारी बनाउन थालेका छन् ।

समुदायमा कोरोना संक्रमणको अवस्था र जनताको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै कोरोना परीक्षण, स्वास्थ्य सामग्री र औषधी वितरण जस्ता कार्यक्रमलाई अगाडि बढाएको जोरायल गाउँपािलकाका स्वास्थ्य संयोजक गोविन्दबहादुर विष्टले बताए । उनले भने, ‘नागरिकको स्वास्थ्य बचाउन हामीले घरैमा पुगेर स्वास्थ्य परीक्षण गर्ने अभियानलाई तीव्रता दिएका छौँ, कोरोना लाग्नेबित्तिकै मरिन्छ भन्ने छैन, हामी बचाउने प्रयास गर्नेछौँ ।’ यसैगरी जिल्लाको शिखर नगरपालिकामा रहेको नगर स्वास्थ्यले पनि नगरपालिकामा रहेका स्वास्थ्य समस्या देखिएका २० जनाको आज एन्टिजेन परीक्षण गरेको छ । परीक्षणमा १९ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने एक जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य संयोजक हरिष शाहले बताए ।

जिल्लामा पछिल्लो समय कोरोना संक्रमणले महामारीको रुप लिन थालेपछि यहाँका स्थानीय तहले गाउँमै आफ्ना स्वाथ्यकर्मी परिचालन गरी सबैको एन्टिजेनमार्फत् कोरोना परीक्षण कार्यलाई तीव्रता दिन थालिएको जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले बताए । उनले भने, ‘भारतबाट रोजगारी गरी घर फर्किएका नागरिकमा कोरोना संक्रमण देखिन थालेको छ, गाउँमा पनि कोरोना संक्रमण फैलिएकाले महामारी नफैलियोस भन्दै हामीले स्वास्थ्यकर्मी परिचालन गरी संक्रमितको खोजी कार्य सुरु गरेका छौँ ।’

पछिल्लो समय यहाँका स्थानीय तहले परिचालन गरेका स्वास्थ्यकर्मीले भारतबाट रोजगारी गरी गाउँ आएर संक्रमित भएकाहरू हालै कहाँ गएका थिए भनेर खोजी गर्न थालेका छन् । कोरोना परीक्षण गर्ने एन्टिजेन किट उपलब्ध भएपछि बल्ल यहाँका स्थानीय तहहरू गाउँ गाउँमा गएर कोरोना संक्रमित खोज्न थालेको केआइसिंह गाउँपालिका–५ का शिक्षक चेतराज भट्टले बताए । उनले भने, ‘गाउँमा कोरोना संक्रमितको संख्या निकै बढेको देखिन्छ, ढिलै भए पनि स्थानीय सरकारले कोरोना संक्रमित खोजी गर्ने काम थालेको छ, अब भने संक्रमणले महामारीको रुप लिँदैन भन्ने लागेको छ ।’

यहाँका गाउँघरमा स्वास्थ्य समस्या देखिएका बिरामीहरू र भारतलायतका अन्य मुलुकबाट आएका व्यक्तिहरूको एन्टिजेन बिधिबाट कोरोना परीक्षण गर्ने गरी स्वास्थ्यकर्मीहरू परिचालन भएको जिल्ला स्वास्थ्य कार्यालय डोटीले जनाएको छ । जिल्ला स्वास्थ्य कार्यालयका परिवार नियोजन अधिकृत सूर्य विष्टका अनुसार कोरोना परीक्षणबाट यहाँका गाउँ तथा समुदायमा कोरोना संक्रमितको अवस्थाका बारेमा जानकारी हुने र सोही अनुसार स्वास्थ्यका गतिविधिलाई अगाडि बढाउने स्वास्थ्य कार्यालयको योजना रहेको छ । गाउँमा परिचालन भएका स्वास्थ्यकर्मीहरूले तत्काल बिरामी भइहाले आवश्यक पर्ने औषधि, स्वास्थ्यसामग्री मास्क र स्यानिटाइजर समेत घरघरमा पुगेर वितरण गर्न थालेको गड्सेरा स्वास्थ्यचौकीका अनमी विधि भण्डारीले बताइन् ।

यसैगरी शिखर नगरपालिकास्थित स्वास्थ्य कार्यालयले पनि बिरामीबाट अरुमा संक्रमण नफैलियोस् भन्ने हेतुले कोरोना लक्षण देखिएका व्यक्तिले प्रयोग गर्न सर्जिकल मास्क, स्यानिटाइजर उपलब्ध गराउन थालेको स्वास्थ्य संयोजक हरिष शाहले जानकारी दिए । आइसोलेसनमा बसेका समयमा एक्कासि ज्वरो आए स्वास्थ्य संस्था पुग्नुअघि औषधि सेवन गर्न मिलोस् भन्ने उद्देश्यले प्यारासिटामोल पठाउन थालिएको नगर स्वास्थ्यले जनाएको छ । यति मात्र नभइ यहाँका स्थानीय तहले बल्ल आएर भारतबाट रोजगारी गरी घरफर्किएका नागरिकहरू होम तथा विद्यालयको आइसोलेसनमा बसेका नागरिकहरूको स्वास्थ्य अवस्थाका बारेमा समेत जानकारी लिनुका साथै निगरानीसमेत गर्दै आएका छन् ।
पछिल्लो समय कोरोना संक्रमित भएकाहरूलाई पनि यहाँका बिभिन्न संघ संस्थाहरूले पौष्टिक खानेकुराको पनि व्यवस्थापन गर्न थालेका छन् । जिल्लामा कार्यरत सम विकास केन्द्र (इडिसी) नामक एक गैरसरकारी संस्थाले यहाँका कोरोना संक्रमितलाई पोषणयुक्त खानाको व्यवस्था गरेको छ । उक्त संस्थाले जिल्ला अस्पतालको आइसोलेसन कक्षमा भर्ना भएका कोरोना संक्रमितलाइ २१ दिनसम्म पोषणयुक्त खाना खुवाउने निर्णय गरी खानाको व्यवस्था मिलाएको छ । संस्थाले यही जेठ ११ गतेदेखि संक्रमितलाई पोषणयुक्त खाना खुवाउन थालेको कार्यक्रम संयोजक केशव परियारले बताए । उनले भने, ‘संक्रमितलाई पोषणयुक्त खाना खुवाए कोरोना जित्न सहज हुने भएकाले हामीले २१ दिनसम्म पोषणयुक्त खाना दिन थालेका छौँ, जसले गर्दा उनीहरूलाई कोरोना जित्न निकै सहज हुनेछ ।’

विदेशी दातृ निकाय एक्सन एड नेपालसँगको सहकार्यमा उक्त संस्थाले आइसोलेसनमा भर्ना भएका संक्रमित तथा उनीहरूका कुरुवाको लागि खानाको व्यवस्था मिलाएको जिल्ला अस्पताल डोटीले जनाएको छ । अस्पतालभित्र रहेको क्यान्टिन र सम विकास केन्द्रबीच सम्झौता भएअनुसार क्यान्टिन सञ्चालकले प्रतेक दिन ५० रुपैयाँमा बिहानको नास्ता, फलफूल तथा १ सय ३० रुपैयाँमा विहानको खाना दिने गरेका छन् । यसैगरी ५० रुपैयाँको दिउँसोको नास्ता, फलफल तथा साँझको खानासमेत दिने गरेका छन् । यसैगरी जिल्ला अस्पतालका ९० वटा अक्सिजन सिलिन्डरको रकम पनि संस्थाले बेहोर्ने अस्पतालसँग समन्वय भएको संस्थाका अध्यक्ष अधिराज बिसीले जानकारी दिए ।

यसैगरी मानवीय सेवामा अनेकौँ प्रयास नामक गैरसरकारी संस्था, साइन नेपाल आदिले पनि यहाँका विभिन्न स्थानीय तहमा एन्टिजेन तथा स्वास्थ्य सामग्री वितरण गर्न थालेका छन् । उक्त संस्थाले जिल्लाको पुर्वीचौकी, आदर्श, सायल, दिपायल सिलगढी, शिखर नगरपालिका तथा केआइसिंह गाउँपालिकामा कोरोना परीक्षण गर्न आवश्यक पर्ने एन्टिजेन किट तथा स्वास्थ्य सामग्री उपलब्ध गराएको छ । यसैगरी उक्त संस्थाले जिल्लामा कोरोना महामारी नियन्त्रणका लागि एन्टिजेन किट, सर्जिकल मास्क, स्यानिटाइजर, ग्लोब्स, पिपिई सेट, अक्सोपल्सलगायतका स्वास्थ्य सामग्री हस्तान्तरण गर्दै आएको संस्थाका अध्यक्ष भक्तराज जोशीले बताए ।

उक्त संस्थाले डोटीमा मात्रै लाखौँ रुपैयाँ बराबरका स्वास्थ्य सामग्री बितरण गरेको बताइएको छ । साइन नेपाल संस्थाद्वारा सञ्चालित केयर एण्ड रिलिफ परियोजना अन्तर्गत प्रायः सबै गाउँपालिकामा एक सय किट एन्टिजेन, पाँच हजार सर्जिकल मास्क, १० लिटर स्यानिटाइजर, ५० जोडी ग्लोब्स, दुई सेट पिपिई, दुई थान अक्सोपल्स मिटर हस्तान्तरण गरेको छ ।

प्रतिक्रिया