भावि सन्ततिका लागि अनुत्तरित इतिहास

वीरेन्द्र रावल

मैले गिरिजाप्रसाद कोइरालालाई एउटा प्रश्न राखेको थिएँ । प्रधानमन्त्री ज्यु तपाईँ  विराटनगर जाँदा त्यहाँका पत्रकारहरूलाई एअरपोर्टमा अब मुख खोल्छु भनेर भन्नुभएको थियो । त्यो दरबार हत्याकाण्डसँग सम्बन्धित छ । आज त्यसबारेमा के हो स्पष्ट पारिदिनुहोस् न किनकी तपाईं दरबार हत्याकाण्ड हुँदा देशको प्रधानमन्त्री हुनुहुन्थ्यो । तपाईँले इतिहासलाई त सहीरूपले प्रष्ट्याइ दिनुपर्यो । यो प्रश्न गर्दा उहाँ उत्तर नदिएर जुरुक्कै उठ्नुभयो । एक छिनमा चुरोट सल्काएर पिउन थाल्नुभयो ।

कुनै पनि देश वा समाजका आफ्नै विशिष्ठता हुन्छन् । विशिष्ठता अनि पहिचानका आधारमा जुनसुकै देश अगाडि बढेका हुन्छन् । जुनसुकै समाज, टोल, गाउँ वा देश निर्माणका क्रममा राम्रा र नराम्रा कार्यहरू भएका हुन्छन् । नराम्रा कुराहरूलाई पुनरावृत्ति हुन नदिन र नयाँ संरचना अनि व्यवस्थाबाट देशको व्यवस्थापनका आधारमै संसारका कतिपय देशहरू अगाडि बढिरहेका पनि छन् ।

हाम्रा दुई छिमेकी उत्तरको चीन र दक्षिणको भारत पनि मौलिक राजनीतिक, सामाजिक र सांस्कृतिक पहिचानहरू रहेका मुलुक हुन् । १९४९ मा सामन्ति तन्त्रबाट मुक्त भएको देश चीन र १९४७ मा अंग्रेजको उपनिवेशबाट मुक्त भएको देश भारत हो । त्यसको तुलनामा भने नेपाल एक स्वतन्त्र र अभिभाज्य देशका रूपमा आफ्नो पहिचान बनाउन सफल भएको देश हो । चिनियाँ कम्युनिस्ट पार्टीका संस्थापक माओत्सेतुङले स्वतन्त्र र सार्वभौम जनता बन्नका लागि ठूलो मिहिनेत, खुन, पसिना बगाएका छन् । त्यस्तै दक्षिणमा भारतलाई पनि अंग्रेजहरूको दमनचक्रबाट स्वतन्त्र बनाउनका लागि महात्मा गान्धीको महत्वपूर्ण भूमिका रहेको पाइन्छ ।

बाइसे र चौबिसे राजा रजौटाहरूसहित विभिक्त अवस्थामा रहेको नेपाललाई पृथ्वीनारायण शाहले एक सूत्रको मालामा उन्ने काम गरे । नेपाललाई स्वतन्त्र देशका रूपमा स्थापित गर्नका लागि पृथ्वीनारायण शाहले ठूलो योगदान दिएका थिए । नेपाल एकीकरण पूर्व विभिन्न राज्य रजौटाहरू थिए । सुगौली सन्धी पछिको नेपालको राजनीतिक अनि भौगोलिक अवस्थिति पनि फरक छ । नेपालमा शासन गरेका विभिन्न राजा रजौटा, राज्य र कोटहरूको पहिचान आज पनि यथावत देख्न सकिन्छ । किराँतकाल, लिच्क्षवीकाल, मल्लकाल, शाह काल हुँदै संघीय लोकतान्त्रिक गणतन्त्रसम्म आइपुग्दा नेपालमा धेरै उतारचढावहरू भएका छन् ।

नेपालको इतिहासमा कोतपर्व, भण्डारखालपर्व, प्रजातान्त्रिक लडाइ, मदन भण्डारी र जीवराज आश्रितको रहस्यमय जिप दुर्घटना, १० वर्षे माओवादी जनयुद्ध २०५८ साल जेठ १९ गतेको दरबार हत्याकाण्ड, प्रजातन्त्रमाथिको निरंकुश कु, अमर लामामाथि भएको गोली काण्ड लगायतका थुप्रै घटनाहरू नेपालमा भइसकेका छन् । राजनीतिक घटनाक्रमले नै कुनै पनि देशको इतिहासलाई ईंगित गरेको हुन्छ । नेपालमा राजनीतिक, अराजनीतिक गरि जे जति घटनाहरू हुने गरेका छन् ती सबैको आफ्नै पहिचान छ । तर, त्यो पहिचानलाई नेपालमा अक्षरशः त्यसको सत्य, तथ्य अनि प्रमाणको आधारमा जसरी लिपिबद्ध गरिनुपर्ने थियो त्यो कार्य न त विगतका सरकारहरूले गर्न सके न त वर्तमान सरकारले प्राथमिकताको विषय बनाएको देखिन्छ ।

हरेक कालखण्ड वा दशकको अवधिमा विभिन्न खालका राजनीतिक, आर्थिक, सामाजिक परिवर्तनको सामना नेपाली जनताले गरिसकेका छन् । देशभित्र हुने राजनीतिक, आर्थिक र सामाजिक परिवर्तनदेखि लिएर नेपालको राजनीतिलाई अन्तर्राष्टिस्तरमा पनि पु¥याउने कार्य राज्य वा गैरराज्यबाट हुने गरेको छ । देशभित्र हुने सानातिना अन्दोलन, चक्काजाम हड्तालबाहेक अन्य ठूला राजनीतिक घटनाक्रमले ल्याउने परिवर्तन वा स्थापित जुनसुकै मान्यता नै किन नहोस् त्यसको विशिष्ठ पहिचान हुने गर्दछ । त्यहि पहिचानको आधारमा मानिसहरूले अन्य सामाजिक र राजनीतिक कार्यलाई आधार मानेर अघि बढेका हुन्छन् ।

सामाजिक, आर्थिक अवस्थालाई समेत विगत र वर्तमानले केही हदसम्म डो¥याइरहेको हुन्छ । विगतको तितो, मिठो, स्वर्णिम वा काला दिनहरूलाई पनि वर्तमान समाजले सकरात्मक वा नकरात्मक रूपले बुझिरहेको पाइन्छ । हामीले विगतमा माध्यमिक तहसम्म पढेको नैतिक र सामाजिक शिक्षा अनि ती पाठ्क्रमहरू आज सबै मेटाइएका छन् । नेपालमा पढाइने संस्कृत र नैतिक शिक्षासमेत दुई÷दुई दशक यता लगभग पाठ्यपुस्तकबाट हटाउने कार्य भयो । विगतको सामाजिक शिक्षामा कतिपय अनुत्तरित जिज्ञाशाहरू भएता पनि राजसंस्था भित्रको कोतपर्व, निरंकुश जहाँनियाँ राणाशाहीका पालामा भएका विभिन्न निरंकुशताका इतिहासहरू क्रमबद्ध रूपले पढ्न पाइने अवस्था थियो ।

नेपालको राजनीतिक इतिहासमा विभिन्न काला र स्वर्णिम इतिहासहरू हाम्रासामु रहेका छन् । मुख्यतः ०५० साल जेठ ३ गतेको दासढुंगा जिप दुर्घटना, ०५८ साल जेठ १९ गतेको दरबार हत्या काण्ड, ०६० सालमा कीर्तिपुरमा अमर लामाको गोली हानेर हत्या गरियो जुन दासढुंगा जिप दुर्घटनाका जिउँदा प्रमाण थिए । यी दुई घटनाको पछाडि राष्ट्रिय र अन्तर्राष्ट्रिय शक्तिको हात रहेको हुनुपर्छ । यी घटनापछि नै नेपालमा निकै ठूलाठूला उतारचढावदेखि लिएर राजनीतिक उथलपुथल आउनुका साथ साथै शान्ति नेपाल अशान्तिमा परिणत भएको देखिन्छ ।

नेपाल एक सार्वभौम देश हो । यसको आफ्नै सम्प्रभूता, अखण्डता र सार्वभौमिकता रहेको छ । एक सार्वभौम देश भएका नाताले पनि जसले नेपाली बीचको एकता अनि सामाजिक सद्भावलाई हेर्न चाहेका थिएनन् ती स्वदेशी र विदेशी शक्तिहरू दासढुंगा जिप दुर्घटनादेखि लिएर दरबार हत्या काण्ड नगरेको हो भन्न सकिँदैन ।

नेपालमा विभिन्न बहानामा पाइला टेकेर चीन र भारत विरोधी गतिविधिहरू सञ्चालन गर्नकै लागि पनि नेपालमा अशान्ति फैलाउने कुतत्वद्वारा नै नेपाली जनताको आशाका किरणहरू निभाउने कार्यहरू विगतदेखि नै क्रमबद्ध रूपले हुँदै आइरहेका छन् । यसको ज्वलन्त उदाहरणका रूपमा दरबार हत्याकाण्ड र दास ढुंगा जिप दुर्घटनालाई लिन सकिन्छ ।

आन्तरिक गृह युद्धमा फसाउने, जातजाति बप्चमा द्वन्द्व चर्काउने, साम्प्रदायिकता भड्काउने र नेपाललाई अशान्तिको अखडा बनाइराख्ने कुचेष्टा तिनै शक्ति केन्द्रदेखि नेपालभित्रकै केही शक्ति केन्द्रले गरेका घटनाहरूका कारण आज नेपालमा सामाजिक, राजनीतिक अनि आर्थिक संकटहरू एकपछि अर्कोगरी देखा पर्दै जान थालेका छन् । नेपालमा मदन भण्डारीको हत्यापछि माओवादीले शिस्त्र क्रान्ति गर्नु, त्यसपछि दरबार हत्याकाण्ड हुनु । ०६२÷६३ मा लोकतन्त्र आइसकेपछि देश संघीयतामा लैजाने नाममा भएका क्षेत्रीयताका लडाइँ, भेगीय लडाइँलाई पनि संकेतका रूपमा लिन सकिन्छ ।

दरबार हत्या काण्डको केही समयपछि कैलालीको सदरमुकाम पुगेका प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले ०५८ सालमा धनगढीस्थित तत्कालीन जिल्ला विकास समितिको हलमा पत्रकार सम्मेलन आयोजना गरेका थिए । त्यति बेला मैले गिरिजाप्रसाद कोइरालालाई एउटा प्रश्न राखेको थिएँ । प्रधानमन्त्री ज्यु तपाईं विराटनगर जाँदा त्यहाँका पत्रकारहरूलाई एअरपोर्टमा अब मुख खोल्छु भनेर भन्नुभएको थियो । त्यो दरबार हत्याकाण्डसँग सम्बन्धित छ । आज त्यसबारेमा के हो स्पष्ट पारिदिनुहोस् न किनकी तपाईं दरबार हत्याकाण्ड हुँदा देशको प्रधानमन्त्री हुनुहुन्थ्यो । तपाईंले इतिहासलाई त सहीरूपले प्रष्ट्याइ दिनुप¥यो । यो प्रश्न गर्दा उहाँ उत्तर नदिएर जुरुक्कै उठ्नुभयो । एकछिनमा चुरोट सल्काएर पिउन थाल्नुभयो । पत्रकार सम्मेलन सकिएको जानकारी सञ्चालकले गरे ।

त्यो दिनको जिज्ञासा आज पनि मेरो मानसपटलमै खेलिरहेको छ । दरबार हत्याकाण्डका एक से एक प्रश्नहरूको उत्तर अझै खुल्न सकेका छैनन । राजतन्त्र समाप्त भइसकेपछि अब दरबार हत्या काण्डका बारेमा कसले छानबिन गर्ने ? मदन भण्डारीकी धर्मपत्नी राष्ट्रपति र सोही पार्टीका अध्यक्ष प्रधानमन्त्री भएका बेलामा त दासढुंगा हत्याकाण्डको छानविन नहुने अवस्था छ भने एमालेको सरकार हटेपछि वा एमाले सत्ता बाहिर गएको अवस्थामा दासढुंगा हत्या काण्डको कसले छानबिन गर्ने ?

दरबार हत्याकाण्ड स्वयं युवराज दिपेन्द्रले नै गरेको हो भनेर दरबारले गठन गरेको छानविन टोलीले प्रतिवेदन बाहिर ल्यायो । त्यो प्रतिवेदनमाथि नै १ सय १ प्रश्नहरू अनुत्तरित छन् । नेपालमा भएका विभिन्न ऐतिहासिक घटनाक्रमको यथार्थता बाहिर आउन नसकेका कारण थुप्रै जिज्ञाशाहरू यो पुस्ताले राखिरहेको छ भने भावी पुस्ताले यदि यी प्रतिवेदनहरूलाई अध्ययन नै गरिहालेर वा दरवार हत्याकाण्ड, दासढुंगा जिप दुर्घटना काण्डको जवाफ मागेको खण्डमा के उत्तर दिने ? यो गम्भीर प्रश्न बनेको छ । गलत, अपत्यारिलो, किर्ते अनि निर्देशत छानविन समितिले बनाएको प्रतिवेदनका आधारमा यदि नेपाली पाठ्यपुस्तकमा कुनै पाठ लेखियो भने त्यो कलान्तर सम्मका लागि भावि सन्ततीले पूर्वजहरूलाई प्रश्न गरिरहने मात्र होइन धिक्कार्नेछन् ।

अवैज्ञानिक र अपत्यारिला इतिहास कायम गर्न स्वर्णीम घटनालाई कालो इतिहास बनाउने कुचेष्टाबाट नेपालको वर्तमान राजनीति संयन्त्र बेलैमा सजग हुन जरुरी देखिन्छ । नेपालको सामाजिक र राजनीतिक घटनाक्रमलाई सामाजिकीकरण वा सार्वजनिकीकरण गर्दा वा पाठ्क्रममा लिपिबद्ध गर्नु पुर्व त्यसको सत्य तथ्य पत्ता लगाई दुधको दूध पानीको पानी बनाएर मात्र बाहिर ल्याउने दिसामा राज्यको बेलैमा ध्यान जाओस् । दरबार हत्या काण्ड, मदन भण्डारीको दासढुंगा दुर्घटनाजस्ता घटनाहरूलाई ती शक्ति केन्द्रहरूले भावी दिनहरूमा पनि नगराउलान् भन्न सकिँदैन । त्यसको पूर्व तयारीका रूपमा नेपालका राजनीतिक दल, नागरिक समाज, सुरक्षा निकाय र प्रवुद्ध वर्गको ध्यान जानुपर्ने नितान्त जरुरी देखिन्छ ।

प्रतिक्रिया