उखेल्नै पर्ने सिद्धबाबा पहाड

संघीय सरकारले ढुंगा, रोडा र बालुवा निर्यात गर्न ल्याएको अध्यादेशलाई लिएर मुलुकभित्र तीव्र विरोध भइरहँदा लुम्बिनी प्रदेश सरकारको एउटा अवधारणा सार्वजनिक भइरहेको छ । त्यो अवधारणा हो, ‘रूपन्देही र पाल्पाको सिमानामा पर्ने सिद्धबाबा पहाडलाई उखेलेर विशाल जलाशय निर्माण गर्ने ।’ यो अवधारणा दुई वर्षअघि नै संघीय सरकारलाई बुझाइसकेको तर स्वीकृत हुन ढिलाइ भएको लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले मिडियालाई जानकारी दिएका छन् । दुई वर्षअघि अर्थमन्त्री डा.युवराज खतिवडाले संसदीय समितिमा राय माग्दै भनेका थिए, ‘ढुंगा, रोडा र बालुवाजस्ता निर्माण सामग्रीको अभावका कारण विकास बजेट खर्च हुन सकेन, निर्माण सामग्रीको अभाव पूर्तिका लागि महाभारत पहाड भत्काउनुबाहेक अर्को विकल्प छैन ।’ अर्थमन्त्री डा.खतिवडाले महाभारत पहाड भत्काउन सके ढुंगा, रोडा र बालुवा निर्यात गरेर व्यापार घाटासमेत कम गर्न सकिने बताएका थिए । त्यस लगत्तै बंगलादेशमा कार्यरत नेपाली राजदूतले बंगलादेशमा नेपालको ढुंगा, रोडा र बालुवा मात्रै होइन माटोसमेत बिक्री हुने संभावना रहेको जनाएका थिए । यस विषयमा आफूले त्यहाँको सरकारसँग कुरा अघि बढाइसकेको तर ०७१ सालमा ल्याइएको कानुनले रोकेको उनले जनाएका थिए ।

लुम्बिनी प्रदेश सरकारले सिद्धबाबा पहाड उखेल्ने अवधारणा ल्याउनु र रूपन्देही जिल्ला कर्मथलो भएका अर्थमन्त्री विष्णु पौडेलले ढुंगा, रोडा र बालुवा निर्यातका लागि बाटो खोल्नु संयोग मात्रै होइन । नेपालका ७७ वटै जिल्लामध्ये सबैभन्दा बढी ढुंगा, गिटी निकासी हुने जिल्ला रूपन्देही हो । सिद्धबाबा पहाड तथा त्यस्तै अन्य पहाडहरूलाई लक्षित गर्दै सरकाले यो अवधारणा ल्याएको देखिन्छ । सिद्धबाबा पहाडलाई निहुँ बनाएर अरू पहाड पनि उखेल्ने रणनीति हो कि जस्तो देखिन्छ । यथार्थमा भन्ने हो भने सिद्धबाबा पहाड नेपालको सबैभन्दा ठूलो ज्यानमारा क्यान्सर हो । लुम्विनी प्रदेश र गण्डकी प्रदेश जोड्ने लाइफ लाइनका रूपमा रहेको सिद्धार्थ राजमार्गको प्रवेशविन्दुमै सिद्धबाबा नामको नांगो ढुंगे पहाड छ । त्यो पहाडबाट सुख्खा सिजनमा समेत ढुंगा खस्दा हरेक वर्ष सिद्धार्थ राजमार्गका दर्जनौँ यात्रहरूको ज्यान जाने गरेको छ ।

जसका कारण बुटबलको प्रचण्ड गर्मी ठाउँबाट करिव ३५ किमी दुरीमा रहेको शीतल पर्यटकीय सहर तानसेन निकै दुर्गम बनेको छ । सिद्धबाबाबाको पहाडबाट ढुंगा खसेर राजमार्ग अवरोध पु¥याउने समस्याको समाधान गर्न संघीय सरकारले एकदशक अघिदेखि नै ११ अर्ब रुपैयाँ लागतमा १३ सय मिटर सुरुङ सडक निर्माण गर्ने योजना अघि सारेको छ । ११ अर्ब रुपैयाँ खर्च गरेर सिद्धबाबामा सुरुङ मार्ग निर्माण गर्नुभन्दा यो क्यान्सररूपी घाउलाई फेदैबाट उखेल्नु उपयुक्त हो वा होइन ? भन्ने समीक्षा गर्नु जरुरी छ । कुनै राजनीतिक आग्रह वा पूर्वाग्रह नराखी यसको समीक्षा गरियो भने मात्रै निष्कर्षमा पुग्न सकिन्छ । बोट विरुवासमेत उम्रन नसक्ने ढुंगै ढुंगाको धरापका रूपमा रहेको यो पहाडभित्र ११ अर्ब रुपैयाँ खर्च गरेर सुरुङ सडक निर्माण गर्नुभन्दा फेदबाटै उखेल्दा आर्थिक रूपमा निकै ठूलो लाभ हुनेमा कुनै द्विविधा छैन ।

यो पहाड उखेल्दा करिब १ खर्ब २५ अर्ब रुपैयाँ बराबरको ढुंगा प्राप्त हुने र यसका लागि चार÷पाँच अर्ब रुपैयाँ लागत भए पुग्ने अनुमान लुम्बिनी प्रदेश सरकारको छ । यो पहाड उखेलेपछि करिब पाँच हजार रोपनी समथर पठार बन्ने र यो पठारको किनारमा जंगल र बीचमा ताल निर्माण गरियो भने वार्षिक दुई अर्ब घनमिटर पानी जमिनभित्र रिचार्ज हुने प्रक्षेपण लुम्बिनी सरकारको छ । यदि लुम्बिनी प्रदेश सरकारले विज्ञहरूलाई अध्ययन गर्न लगाएर यो प्रक्षेपण गरेको हो भने सिद्धबाबा पहाड उखेल्न ढिलाइ गर्न हुन्न । सिद्धबाबा जस्तै क्यान्सरका रूपमा रहेका पहाडहरू हाम्रो महाभारत पर्वत शृंखलामा धेरै छन् । अर्को उदाहरणका रूपमा पृथ्वी राजमार्गको कृष्णभीरदेखि चितवनको दासढुंगा सम्मको पहाडलाई लिन सकिन्छ । धरापका रूपमा रहेका यस्ता पहाड उखेल्दा खर्बाैंको ढुंगा निकासी गर्न सकिन्छ भने ढिलाइ गर्नु हुँदैन । एकातिर ढुंगा बिक्री गरेर पैसा आउने, अर्कोतिर पहिरोको जोखिम समाप्त हुने त छँदै छ, यस्ता पहाड उखेल्दा प्राप्त हुने समथर जमिनको महत्व हाम्रो मुलुकका लागि अझै धेरै छ ।

प्रतिक्रिया