आइसियु र भेन्टिलेटर प्रयोगविहीन

मान्म । कालीकोट सदरमुकाम मान्ममा सञ्चालन गरिएको कोभिड–१९ विशेष अस्पतालमा स्थापना गरिएका सघन उपचार कक्ष (आइसियु) र भेन्टिलेटर प्रयोगविहीन भएका छन् । दक्ष जनशक्तिको अभावमा सघन उपचार कक्ष (आइसियु) र भेन्टिलेटर प्रयोगविहीन भएका हुन् । कोरोना महामारीको पहिलो चरण गत आर्थिक वर्षको भदौ महिनामा स्थापना गरिएको सघन उपचार कक्ष र भेन्टिलेटर चलाउन सक्ने दक्ष जनशक्ति नभएका कारणले सञ्चालनमा आउन सकेका छैनन् । कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा स्थापना गरिएका दुई सघन उपचार कक्ष र एक भेन्टिलेटर सञ्चालन हुन सकेका छैनन् ।

जिल्लामा नै सघन उपचार कक्ष र भेन्टिलेटर भए पनि कोरोनाका जटिल बिरामीलाई जिल्लाबाहिर सिफारिस गर्नुपर्ने बाध्यता रहेको जिल्ला जनस्वास्थ्य सेवा कार्यालयले जनाएको छ । आइसियु कक्ष नियमितरूपमा सञ्चालन गर्नका लागि कम्तीमा एक÷एक इन्टरनल मेडिसिन र बेहोस बनाउने चिकित्सक (एनएस्थिसियोलोजिस्ट) आवश्यक पर्ने भए पनि सो जनशक्ति नहुँदा सञ्चालनमा आउन नसकेको जिल्ला जनस्वास्थ्य सेवा कार्यालयका निमित्त प्रमुख कटकबहादुर महतले बताए ।

जिल्लामा विद्युत्को नियमित आपूर्ति नहुँदा पनि सघन उपचार कक्ष र भेन्टिलेटर सञ्चालनमा समस्या भएको निमित्त प्रमुख महतले जानकारी दिए । ‘सघन उपचार कक्ष र भेन्टिलेटर सञ्चालनमा ल्याउन केही समय अझै लाग्ने देखिएको छ’, उनले भने, ‘जनशक्तिको व्यवस्थापनसँगै विद्युत्को वैकल्पिक माध्यम खोजेर सञ्चालनमा ल्याउनेछौैँ ।’

कालीकोटमा हालसम्म ७ हजार ६ सय २२ मा कोरोना परीक्षण गर्दा १ हजार ३ सय ४१ जनामा पोजेटिभ देखिएको जनस्वास्थ्य कार्यालयले जनाएको छ । त्यसमध्ये १ हजार २३ जना निको भएर डिस्चार्ज भएका र ३ सय १५ जनाको विभिन्न आइसोलेसनमा उपचार भइरहेको तथा तीन जनाको हालसम्म मृत्यु भएको उक्त कार्यालयले जनाएको छ ।

प्रतिक्रिया