लगातारको बर्सातले सडकसहित विद्यालयमा क्षति

डोटी । केही दिनयतादेखि भइरहेको लगातारको बर्सातका कारण यहाँका विभिन्न स्थानमा क्षति पुर्याएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार बर्सातका कारण पहिराले यहाँका विभिन्न ठाउँमा रहेका ग्रामीण सडक, कुलादेखि विद्यालयमा समेत क्षति पुर्याएको निवेदन दर्ता हुने क्रम बढेको छ ।

बर्सातका कारण यहाँका विपीनगर गड्सेरा, सायल, आदर्श, मुडभारा सडकमा चिरा पर्नाका साथै सडकसमेत भत्किएको बताइएको छ । समयमै मर्मतसम्भार नगरिए यहाँका गाउँमा सडकमा सवारी साधन चलाउन नसकिने अवस्थामा भएको गड्सेराका स्थानीयवासी लीलाधर विष्टले जानकारी दिए ।

यसै सिलसिलामा तीन–चार दिनदेखिको लगातारको बर्सातले बडिकेदार गाउँपालिका–२ मा रहेको बर्छैन माविमा समेत लाखौँको क्षति पुगेको छ । बर्सातले पर्खाल भत्किँदा विद्यालयमा समेत क्षति पुगेको प्राचार्य इन्द्रबहादुर बमले बताए । उनले भने, ‘बर्सातले पर्खाल भत्काएको छ, विद्यालय भवनमा समेत चिरा परेको छ, विद्यार्थीलाई पढाउन समस्या हुने स्थिति आएको छ ।’

प्रतिक्रिया