लुम्बिनी राष्ट्रियसभा उपनिर्वाचन : कांग्रेसका पाण्डेय निर्वाचित

बुटवल । लुम्बिनी प्रदेशको राष्ट्रिय सभा उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार दृगनारायण पाण्डेय विजयी भएका छन् । कांग्रेससहित नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चाको समर्थन पाएका पाण्डेयले सत्तारुढ एमालेका उम्मेदवार चन्द्रबहादुर खड्कालाई पराजित गरेका हुन् । पाण्डेयले प्रदेशसभातर्फ ४२ र स्थानीय तहतर्फ ११८ जनाको मत पाएका छन् । खड्काले प्रदेशसभातर्फ ४० र स्थानीय तहतर्फ ९४ जनाको मत पाएका प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।

निर्वाचनमा प्रदेशसभा सदस्य ८३ र स्थानीय तहका प्रमुख र उपप्रमुख २१३ गरी २९६ मत खसेको थियो । प्रदेशसभा र स्थानीय तहतर्फका १÷१ मत बदर भएको थियो । पाण्डेयले प्रदेशसभाको २०१६ र स्थानीय तहको २१२४ गरी कुल ४ हजार १४० मतभारसहित विजयी भएका छन् । खड्काले प्रदेशसभाको १९२० र स्थानीय तहको १६९२ गरी कुल ३६१२ मतभार प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ ।

विजयी पाण्डेय हालै मात्र प्रदेश सभा सदस्यबाट राजीनामा दिएर नेपाली कांग्रेस प्रवेश गरेका थिए । उनी माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको साझा उम्मेदवार बनेका थिए । खड्कालाई जसपाको महन्थ ठाकुर पक्षको साथ थियो । राष्ट्रियसभा सदस्य चन्द्रबहादुर खड्का माओवादी केन्द्र छाडेर एमाले प्रवेश गरेपछि उनी पदमुक्त भएका थिए । उक्त पदमा भएको उपनिर्वाचनमा एमालेबाट खड्का नै उम्मेदवार थिए भने विपक्षी गठबन्धनको समर्थनमा कांग्रेसले पाण्डेयलाई उम्मेदवार बनाएको थियो ।

२०७४ सालमा भएको प्रदेशसभा निर्वाचनमा पाण्डेय एमालेको तर्फबाट कपिलवस्तु २ (१) बाट निर्वाचित भएका थिए । गत वैशाख १९ गते मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएर पुनः नियुक्त भएपछि पाण्डेयले प्रदेश सभा सदस्य पदबाट राजीनामा दिएका थिए । सोही दिन कांग्रेस प्रवेश गरेका उनलाई विपक्षी गठबन्धनले राष्ट्रिय सभा उपनिर्वाचनको साझा उम्मेदवार बनाएका थिए । राष्ट्रिय सभा उपनिर्वाचनमा प्रदेशसभाका ८३ सांसदमध्ये नेकपा एमालेका उम्मेदवार खड्काले ४० मत मात्र पाउनुले प्रदेशसभामा मुख्यमन्त्री शंकर पोखरेल अल्पमतमा परेको पुष्टि भएको कांग्रेसका सांसद फखरुद्दिन खानले बताए ।

प्रतिक्रिया