‘पृथ्वीराज’ लाई चेतावनी

मुम्बई । बलिउड अभिनेता अक्षय कुमार र अभिनेत्री मानुषी छिल्लर अभिनीत चलचित्र ‘पृथ्वीराज’ विवादमा फसेको छ । निर्माण नसकिँदै यो चलचित्रको नाम परिवर्तन गर्न भारतको करणी सेनाले चेतावनी दिएको छ । करणी सेनाले चलचित्रको नाम परिवर्तन नगरे निर्माण पक्षले ठूलो क्षति व्यहोर्नुपर्ने चेतावनी दिएको छ । यशराज ब्यानरमा निर्माण गरिरहेको यस चलचित्रमा राजा राजपुत पृथ्वीराज चौहानको जीवनीलाई आधार मानेर रहेर निर्माण भइरहेको छ । अभिनेता अक्षय कुमारले चलचित्रमा पृथ्वीराज चौहानको भूमिका निर्वाह गरिरहेका छन् ।

महान राज पृथ्वीराज चौहानको जीवनमा आधारित चलचित्र भने पनि किन पृथ्वीराज मात्रै राखिएको भन्दै राजपुत संगठन करणी सेनाका युवा विङ अध्यक्ष तथा चलचित्र निर्माता सुरजित सिंह राठौरले बताए छन् । उनले भने, ‘जब चलचित्र महान राज पृथ्वीराज चौहानको जीवनमा आधारित छ भने किन यसको टाइटल पृथ्वीराज मात्र राखिएको ? हामी चाहन्छौं कि चलचित्रको टाइटलमा उनको पूरा नाम समावेश गरियोस् र उनलाई सम्मान दिइयोस् ।’ डाक्टर चन्द्रप्रकाश द्विवेदीले निर्देशन गरिरहेको यो चलचित्र सार्वजनिक गर्नुअघि विशेष सो आयोजना गरी आफूहरुलाई देखाउनु पर्ने करणी सेनाले जिकिर गरेको छ । यदि त्यसो नगरिए चलचित्रको निर्माण पक्षले ‘पद्यमावत’ को हालत व्यहोर्नुपर्ने चेतावनी दिएको छ ।

प्रतिक्रिया