कोम्यानसँग पर्सनालिटी छैन : सुआरेज

मड्रिड । एटलेटिको म्याड्रिडका फरवार्ड लुइस सुआरेजले स्पेनिस ला लिगाको उपाधि जितेसँगै बार्सिलोनाका प्रशिक्षक रोनाल्ड कोम्यान र पूर्व अध्यक्ष जोसेप मारिया बार्टोमेउको आलोचना गरेका छन् । सुआरेज सिजनको सुरुवातमा बार्सिलोना छाड्न बाध्य पारिएपछि एटलेटिको म्याड्रिड पुगेका थिए । ३४ वर्षीय उरुग्वेली फरवार्डको उच्च प्रदर्शनमा नै एटलेटिको उपाधि यात्रा तय गर्न सफल रहेको थियो । उनले लिगको ३२ खेल खेल्दै २१ गोल गरे । पछिल्लो दुई खेलमा अन्तिम समयमा विजयी गोल गर्दै सुआरेजले एटलेटिकोको लिग उपाधि पक्का गरेका थिए ।

सुआरेजले उपाधि जितेको केहि दिनपछि एल पार्तिदाजोसँग बोल्दै आफ्नो बार्सिलोना छोड्नु पर्दाको स्थिति र उपाधि जितलाई यसरि व्याख्या गरे : ‘म बार्सिलोनाप्रति सधैं आभारी रहनेछु र क्लबविरुद्ध कहिल्यै पनि जाने छैन । बार्सिलोनाले मलाई सबथोक दिएको छ र मलाई यो स्तरसम्म ल्याउन मदत गरेको छ ।’

‘ तर अध्यक्ष बार्टोमेउले मलाई छोड्ने बेलामा निकै नराम्रो व्यवहार गरे । उनले मलाई व्यक्तिगत रुपमा केहि नभनी सार्वजनिक रुपमा पत्रकार सम्मेलनमा मेरो बारेमा बोले ।’ ‘जब मेस्सीले क्लब छाड्ने निर्णय लिएका थिए, क्लबले मलाई मेस्सीसँग छलफल गर्न र उनलाई क्लबमा राख्न आग्रह गर्यो । ग्रिजमनलाई पनि त्यसै गर्न लगायो । तर जब मलाई क्लब छोड्न भनियो, त्यो कुरा मलाई व्यक्तिगत रुपमा नभनेर सार्वजनिक रुपमा भनियो ।’

‘जब मेरो आवश्यकता क्लबमा थिएन भने प्रशिक्षकले मलाई जानकरी दिनु पर्थ्यो । उनले म नभएर अर्कै किसिमको फरवार्ड चाहिएको जानकारी मलाई दिनु पर्थ्यो ।’

‘कोम्यानले मलाई एक समय उनको योजनमा नरहेको बताए । तर फेरी उनी भोलीसम्म केहि निर्णय नभएको अवस्थामा भिल्लारियलविरुद्ध आफ्नो योजनामा राख्ने र राम्रो प्रदर्शन अपेक्षा गरेको बताए ।’

‘त्यसपछि मैले बुझें, कोम्यानमा पर्सनालिटी रहेनछ । उनले मलाई आवश्यकता नरहेको भन्ने हिम्मत पनि गर्न सकेनन् । मलाई अन्त्यमा त्यो खबर पनि बोर्डबाट आएको थियो ।’

‘आजसम्म पनि मलाई बार्सिलोनाको बोर्डबाट कुनै बधाई संदेश आएन । मैले झन्डै उपाधि जितेको तस्बिर पठाएको थिएँ ।’

सुआरेजले अर्को सिजनका लागि एटलेटिको छोड्नु असम्म्भाव रहेको पनि बताए । उनले क्लबसँग अर्को सिजनका लागि सम्झौता नविकरण गर्दै बस्ने पक्का गरेका छन् । प्रशिक्षक डिएगो सिमिओनीले पनि सुआरेज आफ्नो योजनाको महत्त्वपूर्ण पाटो रहेको बताए ।

प्रतिक्रिया