खोजखबर

कोरोनाबाट साहित्यकार डा. वानीरा गिरिको निधन

सौर्य अनलाइन २०७८ जेठ १० गते १४:०७ मा प्रकाशित

काठमाडौं । साहित्यकार डा. वानीरा गिरिको गए राति कोरोना संक्रमणबाट निधन भएको छ । काठमाडौं बानेश्वरस्थित निजामती अस्पताल पुर्याइएको आधा घण्टामा नै उहाँको निधन भएको थियो । उनी मधुमेह र अल्जाइमर रोगबाट पनि पीडित थिइन् ।

त्रिमूर्ति निकेतनका आयोजनामा डा. गिरिलाई २०७१ सालमा प्रधानमन्त्री सुशील कोइरालाद्वारा रथारोहण गराइनाका साथै रु पाँच लाख राशिसहित ‘नेपाली साहित्यका विश्व नारीरत्न’को उपाधि पनि दिइएको थियो । विसं २०७६ मा वानीरा फाउण्डेशनको स्थापना भएको थियो । सो फाउण्डेशनको पूँजी करीब रु सात करोड बराबर ६ संस्थाका सचिव नरेन्द्रराज प्रसाईँले जानकारी दिए ।

गिरिको जन्म २००२ साल चैत २९ गते दार्जिलिङको खर्साङमा भएको थियो । उनी विसं २०२२ मा स्नातकोत्तर अध्ययन गर्न काठमाडौं आएकी थिइन् । उनी २०२५ सालदेखि पद्मकन्या कलेजमा प्राध्यापन पेशामा आबद्ध थिइन् । नेपाली भाषासाहित्यमा विद्यावारिधि (गोपालप्रसाद रिमालको काव्यसम्बन्धी २०४२) उनी पहिलो नारी थिइन् ।

डा. गिरिका जीवन थाय्मरु, शान्तनु, कारागार जस्ता कविता, निबन्ध र उपन्यास गरेर १४ कृति प्रकाशित छन् । उहाँका कृति विश्वका विविध भाषामा अनुवाद भएका छन् । नरेन्द्रराज प्रसाईंद्वारा डा. वानीरा गिरिको जीवनीकृति ‘विश्व नारीरत्न वानीरा गिरि’ (२०७०) प्रकाशन भयो भने सोको अङ्ग्रेजी भाषामा दुर्गा वनवासीले अनुवाद (२०७८) गरेकी छन् ।

सन् १९७६ मा रुसमा सम्पन्न अफ्रोएसियाली युवा लेखक सम्मेलनमा डा. गिरिले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरेकी थिइन् । डा गिरिका श्रीमान, एक छोरा र एक छोरी छन् । फाउण्डेशनले गिरिजस्तो विशिष्ट प्रतिभाको असामयिक निधनप्रति शोक प्रकट गर्दै श्रद्धाञ्जलि अर्पण गरेको छ ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय