आगलागीबाट पाँच घर नष्ट

राजविराज । सप्तरीको डाक्नेश्वरी नगरपालिका–९ रञ्जीतपुरमा आइतबार दिउँसो आगलागी हुँदा पाँच घर जलेर नष्ट भएका छन् । स्थानीयवासी भरत चौधरीको परालको थुप्रोबाट सुरु भएको आगोले निजको एउटा घर, छिमेकी बन्हु चौधरी, उमाकान्त चौधरी, शोभाकान्त चौधरी र लक्ष्मीकान्त चौधरीको घर आगलागीमा परेर जलेर नष्ट भएको बोदेबरसाई निवासी उमेशकुमार साहले जानकारी दिए ।

उक्त आगलागीमा घर निर्माण गर्न रकम जम्मा पारेका बन्हुको घरमा राखिएको करिक नगद ६ लाखसमेत जलेर खरानी भएको उनले बताए । सो आगोमा १ सय २५ सिसीको डिसकभर मोटरसाइकलसमेत जलेको र आफ्नो घरको सम्पूर्ण सामग्री जलेर खरानी भएको शोभाकान्तको भनाइ छ ।

अग्निपीडितका अनुसार आगलागीमा घरभित्र रहेको सुनचाँदीसमेत जलेको छ । सो आगलागीमा खाद्यान्न, लत्ताकपडा, भाँडावर्तन, नगद र घरभित्र रहेको काठ, जस्तापाता, फर्निचरका सामान तथा फ्रिज जलेर खरानी हुँदा करिब २५ लाख मूल्य बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय बोदेबरसाइनले जनाएको छ । आगोलाई स्थानीयवासी तथा प्रहरी र डाक्नेश्वरी नगरपालिकाका वारुणयन्त्रले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया