हालको अवस्थामा आयुर्वेदको वरदान : षडंगपानी

डा.सन्तोष गौतम

शरीरलाई प्राकृत अवस्थामा नै रहन दिनु वा राख्नु निरोगिताको अवस्था हो भने शरीर प्राकृत अवस्थामा नरहनु तथा बाह्य र आभ्यान्तर कारणले शरीरको प्राकृत अवस्थामा बदलाव आउनु रोगको अवस्था हो । यो सृष्टिमा जति पनि रोग, रोगका कारण तथा रोगका सम्भावना छन्, त्यत्ति नै धेरै औषध द्रव्य तथा तिनीहरूको उपयोगिताको व्यापकता विद्यमान छ । शरीरलाई निरोगी राखिराख्न तथा रोगको अवस्थाबाट निराकरण पाउन सम्पूर्ण रूपमा सक्षम र सर्वसुलभ उपाय भनेकै हाम्रो प्रकृति प्रदत्त आहार विहार तथा औषधि कै प्रयोग नै सर्वश्रेष्ठ हो । कुनै पनि विधा वा पेथी चिकित्सामा सम्पूर्ण हुन सक्दैन तथापि हाम्रो वरपरको प्रकृतिबाटै उत्पन्न रोगलाई रोक्न र जित्न हाम्रै प्रकृति सक्षम छ वा त्यसको उपयोगिता अपरिहार्य छ ।

यस्यदेशस्य यो जन्तुः तज्जम् तस्यौषधम् हितम् ।
देशेकन्यत्रापि वसतस्तुल्य गुणजन्म च ।।

अष्टांग संग्रह
(अर्थात् मानिस जुन देशको, स्थान र हावापानीको हो, उसका लागि सोही स्थानकै औषध, आहार तथा रहनसहन लाभकारी हुन्छ । बसोवासका लागि अन्यत्र देशमा रहेता पनि जन्मदेशको आचरण गर्नुपर्दछ ।) हालको आगन्तुक रोग अर्थात् बाह्य कारणले शरीरलाई रोगी बनाउने कोरोना संक्रमण, अहिलेको ऋतु (समय) अनुसार देखिने रोगका अवस्था तथा सामान्य रूपले निर्दिष्ट रोगहरूमा सदैव प्रयोग गर्न सकिने र सजिलै घर–घरमा तयार गर्न सकिने आयुर्वेदका धेरै ग्रन्थमा वर्णित बहुउपयोगी क्वाथ निर्माण विधिद्वारा बनाउन सकिने औषधि हो ‘षडंगपानी’ ।

योबेला देखिएको विद्यमान महामारीको अवस्थाका लक्षण तथा अन्य कारणले देखिने मिल्दाजुल्दा लक्षणहरूका सन्दर्भमा साथै आयुर्वेदअनुसार पनि अहिले चलिरहेको वसन्त–गृष्म ऋतु कफ दोषको प्रकोप तथा समन हुने तथा वात दोषको सञ्चयको बेला पनि हो । यसर्थ यो ऋतु (समय) मा यस्ता लक्षण देखिन सक्छन् वा अधिक रूपमा नै देखिन्छन् । किनकि योबेला यस्ता रोग गराउने तत्व प्रबल भएका हुन्छन् भन्ने मान्यता आयुर्वेदमा पाइन्छ । साथै ऋतु (समय) अनुसारको आहार विहार तथा चिकित्सा विधानजस्ता कुरा आयुर्वेदमा वर्णित छन् । ‘षडंगपानी’ यो अवस्था र सन्दर्भमा बहुउपयोगी हुनसक्ने योग हो ।

‘मुस्तपर्पट कोदीच्यच्छ्त्राख्योशीर चन्दनैः ।
श्रृतं शीतं जलं दद्यातृड्दाहज्वर शान्तये ।।
भावप्रकास निधण्टु म.१८।१५
मुस्तपर्पट कोशीरचन्दनोदिच्यनागरैः ।
चरक संहिता, चि.३।१४५
शार्ङगधर सहिंता, म.२।१६०

षडंगपानी बनाउने तरिका :–
मोथे (मोथेझार) को जरा तथा जरामा भएको गाँठो, खस (उशीर) को जरा, रक्तचन्दनको काण्ड (काष्ठ भाग), सुगन्धवाल (ह्रीवेर) सबै, पित्तपापडा (पर्पटी) सबै तथा तयारी सुठो यी ६ वटै चिज सबै आठ/आठ ग्राम मसिनो गरी कुटेर तीन लिटर (६ माना) पानीमा भिजाएर केही समयपछि आगोमा पकाउनुपर्दछ । आगोमा पाकेर पानीको मात्रा आधा कम भएपछि यो क्वाथलाई आगोबाट निकालेर चिसो हुन दिनुपर्छ र छानेर राख्नुपर्दछ । यो अनुपातमा यसरी धेरै वा थोरै ‘षडंगपानी’ तयार गर्न सकिन्छ ।

पेट पोल्ने, धेरै गर्मी हुने, मलायसयगत तथा गुदारोग (piles, rectal, prolapse etc) भएका व्यक्तिले सुठोको स्थानमा अमला वा धनियाँको वीज राखेर क्वाथ तयार गर्नुपर्छ । यस्तोको विकल्पको उल्लेख आयुर्वेद चिकित्साका महर्षि वाग्भट्टले पनि गरेका छन् । तर हरेक दिन ताजा पानी बनाएर पिउनु नै श्रेयकर मानिन्छ । खानासँगै पेयजलका रूपमा यसको प्रयोग गर्न सकिन्छ ।

क्षुण्णं द्रव्यपलं साध्यं चतुषष्ठी पले जले ।
अर्धशिष्ठं च तद् ज्ञेयं पाने भक्तादि संबुधौ ।।
भावप्रकाशः म.२।१५५
मात्राः –
५० मि.लि. दिनमा ४ पटकदेखि ६ पटकसम्म ।
उपयोग तथा फाइदाहरूः –
‘पर्पटो …. …. हन्ति पित्तास्त्रभ्रमतृष्णाकफज्वरान् ।’
भावप्रकाशः

अर्थात् भावप्रकाश निघण्टुमा यसका फाइदाका सन्दर्भमा निम्नानुसार उल्लेख भएको पाइन्छ :–

१. यो पेय शरीरमा अनुभव हुने आलस्यता, शरीरको दुखाइ, नाक÷मुख सुक्खा हुने तथा अत्यधिक तिर्खाको अवस्थामा उपयोगी हुन्छ ।

२. यो शरीर भित्रको दोषगत तथा धातुगत ज्वरो, नयाँ ज्वरो र बाह्य (किटाणुको संक्रमण आदि) का कारणले उत्पन्न ज्वरो र ज्वरोसँगैको तिर्खामा लाभकारी छ ।

३. धनियाँ वा अमलाको साटो सुठो नै राखेर बनाइएको यो षडंगपानी वातविकारमा उपयोगी हुनका साथै अग्निकर्म (पेटमा पुगेपछि देखिने असर) पाचन र दीपन (शारीरिक पाचक ऊर्जा बढाउने) भएका कारण शरीरको सबै खाले अग्निबल बढाएर शरीरमा रहेको आम वा रोगकारक अवस्थाको पाचन गर्दछ ।

४. कफवातहर दोषकर्म (शरीरमा भएको आधारभूत दोषमा काम गर्ने क्षमता) भएका कारण स्वाद तथा गन्ध हराएको अवस्थामा साथै आवाज बसेको अवस्थामा यसको प्रयोग प्रभावकारी हुन्छ र छिटो परिणाम पाउन सकिन्छ ।

५. षडंगपानी छाती तथा श्वासमार्गमा जमेको कफ हटाउन तथा टाउको दुख्ने, भारी हुने, नाक बन्द हुने, आँखा भारी हुने आदि अवस्थामा उपयोगी सिद्ध हुनसक्छ ।

६. शरीर, हातखुट्टा पोल्ने, झम्झमाउने, आँखामा दाह हुने तथा छाला रातो हुने, बिबिरा आउने आदि समस्यामा प्रभावकारी निराकरण पाउन सकिन्छ ।

नोट :– घरायसी रूपमा सबै जडिबुटी चिन्न नसकिने अवस्थामा उपलब्ध भएजति सबै राखेर उल्लिखित तरिकाले नै क्वाथ बनाई प्रयोग गर्न सकिन्छ । साथै नजिकको आयुर्वेद स्वास्थ्यकर्मी, आयुर्वेद चिकित्सक वा विज्ञको परामर्शमा तयार गर्न पनि सकिन्छ ।

प्रतिक्रिया