इंग्ल्यान्डको घेषणा, आइपिएल खेलेका परेनन्

लण्डन । इंग्ल्यान्डले न्युजिल्यान्डसँग घरेलु मैदानमा खेल्ने दुई टेष्ट सिरिजको लागि जो रुटको कप्तानीमा १५ सदस्य टोली घोषणा गरेको छ । न्युजिल्यान्डले आइसिसी विश्व टेष्ट च्याम्पियनशिप फाइनलमा भारतसँग खेल्नुअघि इंग्ल्यान्डसँग दुई टेष्ट खेल खेल्ने छ । इंग्ल्यान्डको घोषणा टोलीमा इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ खेलेका खेलाडी परेका छैनन् । यस सिजनको आइपिएलमा इंग्ल्यान्डका १२ खेलाडी खेलेका थिए । युवा अलराउन्डर साम करन, अनुभवी स्पिन अलराउन्डर मोईन अली, विकेटकिपर जस बटलर र जोनी बेयरस्टोको टेष्ट टोलीमा पर्ने सम्भावना बोकेका खेलाडी थिए ।

चेन्नई सुपर किंग्सका अलराउन्डर साम करन र मोईन अलीले उत्कृष्ट अलराउन्ड प्रदर्शन गरेका थिए । राजस्थान रोयल्सका जस बटलरले सनराइजर्स हैदराबादविरुद्ध १ सय २४ रनको कीर्तिमानी इनिङ बनाएका थिए । इंग्ल्यान्डका ब्याट्सम्यानले आइपिएलमा एकै इनिङमा बनाएको सर्वाधिक रन हो । हैदराबादको जोनी बेयरस्टोको प्रदर्शन औसत थियो । स्टार अलराउन्डर बेन स्टोक्स औंला र तीव्र गतिका बलर जोफ्रा आर्चर कुइँनोमा चोटका कारण इंग्ल्यान्डको टोलीमा छैनन् । यी दुवै खेलाडीले आइपिएल पनि खेलेका थिएनन् ।

इंग्ल्यान्डको टोलीमा बायाँ हाते २४ वर्षिय युवा विकेटकिपर जेम्स रोबार्ट बेस्री र २७ वर्षिय तीव्र गतिका बलर ओली रोबिन्सन पहिलो पटक टोलीमा स्थान बनाएका छन् । यी दुवै खेलाडीले घरेलु प्रतियोगिता काउन्ट्री च्याम्पियनशिपमा उत्कृष्ट प्रदर्शनका साथ छनोट समितिलाई प्रभावित पारेका थिए । ब्रेसीले ४ सय ७८ रन र ओली रोबिन्सनले २९ विकेट लिएका थिए ।

मोईन अली, साम करन, जस बटलर, क्रिस वोक्स र जोनी बेयरस्टोलाई विश्राम दिएको इंग्ल्यान्ड क्रिकेट बोर्डले जनाएको छ । आइपिएल स्थगित भएपछि खेलाडी गत वैशाख २२ मा स्वदेश फर्किएका थिए । इंग्ल्यान्ड सरकारको नियम अनुसार १० दिन अनिवार्य क्वारेनटाइनमा बस्नुपर्छ । न्युजिल्यान्ड र इंग्ल्यान्डबीच पहिलो टेष्ट खेल जुन २ देखि ६ सम्म लर्ड्समा हुने छ । दोस्रो टेष्ट १० जुन देखि १४ सम्म बर्मिंघम हुने छ । टेष्ट च्याम्पियनशिप जुन १८ देखि २२ सम्म साउथह्याप्टमा हुने छ । इंग्ल्यान्डले गत मार्चमा चार टेष्ट सिरिज ३–१ ले गुमाएपछि फाइनलमा पुग्नबाट बञ्जित भएको थियो । न्युजिल्यान्डसँग इंग्ल्यान्डको टोली ः जो रुट (कप्तान), जेम्स एन्डरसन, जेम्स ब्रेसी (विकेटकिपर), स्टुअर्ट ब्रोड, रोरी बन्र्स, ज्याक क्रली, बेन फोक्स, ड्यान लरेन्स, ज्याक लेच, क्रेग ओभरटन, ओली पोप, ओली रोबिन्सन, डोम सिब्ले, ओली स्टोन र मार्क वुड ।

प्रतिक्रिया