ओली सरकारमा नजाने, आफैं नेतृत्व पाए सरकार बनाउने : जसपा

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले तत्काल सरकारमा नजाने बताएको छ । मंगलबार जसपाका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले विज्ञप्ति जारी गर्दै तत्काल सरकार नजाने घोषणा गरेका हुन् । आफ्नै पार्टीको नेतृत्वमा सरकार बन्ने वा राष्ट्रिय सहमतिको सरकार बन्ने भएमा मात्र अघि बढ्ने उनीहरुले बताएका छन् ।

‘पार्टी सरकारमा सहभागी हुने र नहुने सम्बन्धमा व्यापक तर्क–विर्तक एवं अड्कलबाजीहरू भइरहेका छन् । तत्काल हाम्रो पार्टी सरकारमा सहभागी हुने छैन। जनता समाजवादी पार्टी, नेपाल सरकारमा सहभागी नभई प्रतिपक्षमा नै रही आफ्नो भूमिका निर्वाह गर्ने पार्टीको नीति र निर्णय यथावत कायम रहने छ’, विज्ञप्तिमा भनिएको छ, ‘तर राष्ट्रिय सहमति वा आफ्नै पार्टीको नेतृतवमा सरकार बन्ने अवसर प्राप्त हुन सक्ने अवस्था भएमा सरकार गठन गर्न अगाडि बढ्न सकिने छ।’

जसपाका केही नेतृत्वहरूबाट नै गुट–उपगुट खडा गर्ने, पार्टीभित्र गुटबन्दी गरी अराजक कियाकलाप गर्दै आ–आफ्नो पक्ष खडा गरी सञ्चारमाध्ययमहरूमा समेत दिइएका गैरराजनीतिक, गैरजिम्मेवार अभिव्यक्तिहरूप्रति ध्यानाकर्षण भएको ठाकुर र यादवले बताएका छन्। यस्ता गतिविधिहरू पार्टी एकता, अनुशासन, आचारसंहिता एवं पार्टी कार्यपद्धतीका प्रतिकूल रहेका भन्दै यस्ता गतिविधिलाई तुरून्त बन्द गर्न भनिएको छ।

प्रतिक्रिया