रोल्पामा लागुऔषधको ओसारपसारमा महिलाको प्रयोग बढ्दो

जघन्य र संगठित अपराध मानिने लागुऔषध (अफिम) ओसारपसारमा पछिल्लो समयमा रोल्पामा महिलाहरूको प्रयोग बढेको देखिएको छ । जिल्ला प्रहरी कार्यालय रोल्पाले चालु आर्थिक वर्षको १२ वैशाखसम्म गरेको ‘अफिम अप्रेशन’ मा लागुऔषध ओसारपसारमा संलग्न भएको आरोपमा पाँच महिला पक्राउ परेसँगै यो तथ्य बाहिर आएको हो । यस अवधिमा लागुऔषध ओसारपसारका चार घटनामा पक्राउ परेका १० मध्ये ६ महिला नै थिए । प्रहरीले ०७७ साल असोज ५ गते रोल्पा थवाङ गाउँपालिका–२ छेर्लोवाङबाट सोही गाउँपालिका–२ ठूलोगाउँकी ४५ वर्षीया मुली झाँक्रीमगर र ३५ वर्षीया विनज्योति रोकामगरलाई पक्राउ ग¥यो । चेकजाँचका क्रममा मुली झाँक्रीमगरले बोकेको झोलाबाट ४ किलो ९ सय ३५ ग्राम र रोकामगरको साथबाट ४ किलो ८ सय ८५ ग्राम अफिम बरामद गर्यो । पक्राउ परेका उनीहरू ०७७ मंसिर १४ को रोल्पा जिल्ला अदालतको आदेशअनुसार पुर्पक्षका लागि कारागार चलान भए ।

०७७ असोज १७ गते रोल्पा सुनिलस्मृति गाउँपालिका–२ खुग्रीस्थित प्रहरी चौकीले दाङ जाँदै गरेको एक स्कार्पियो गाडीको जाँच गर्ने क्रममा लागुऔषध (अफिम) फेला पा¥यो । वा १५ च ३७७६ नम्बरको गाडीको डिक्कीमा लुकाइएको अवस्थामा ४ किलो ३ सय ग्राम कालो रङ्को लागुऔषध फेला पारेको हो । सो गाडीमा सवार दाङ गढवा गाउँपालिका–६ बस्ने ३० वर्षीया निसा पुन र घोराही उपमहानगरपालिका–६ हापुर बस्ने ४५ वर्षीया दिलप्रभा वुढामगरको मिलोमतोमा सो पदार्थ ल्याइएको प्रहरी अनुसन्धानबाट खुल्यो । सोही गाडीमा सवार रुकुमपूर्व भूमे गाउँपालिका–६ की ३७ वर्षीया ज्योती घर्तीमगर पनि सोही घटनामा पक्राउ परिन् । रोल्पा जिल्ला अदालतमा पेस गरेको सो मुद्दामा ०७७ मंसिर २४ मा भएको अदालतको आदेशमा दिलप्रभा १ लाख ५० हजार धरौटीमा छुटे पनि निसा र ज्योति पुर्पक्षका लागि कारागार चलान भएका थिए ।
०७८ वैशाख १२ गते रोल्पा त्रिवेणी गाउँपालिका–७ भित्रिखोलाका ४० वर्षीय रतन बुढाको तीन रोपनी जग्गामा लगाएको अफिम खेती प्रहरीचौकी जुँगारबाट खटिइ गएको प्रहरी टोलीले नष्ट गर्यो । उक्त खेतीमा संलग्न रहेको आरोपमा सोही ठाउँका ३५ वर्षीया मनकुमारी वुढा पक्राउ परिन् । वुढाकोे मुद्दा जारी रहेको प्रहरीको भनाइ छ ।

‘महिलाले अरूको विश्वास छिट्टै गर्ने गरेका कारण पनि यस्ता अपराधमा उनीहरूको संलग्नता रहेको देखिन्छ र उनीहरू समातिएका पनि छन्’, जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायव उपरीक्षक नरेशराज सुवेदीले भने, ‘लागुऔषध संगठित अपराध भएकाले यसमा धेरै जनाको संलग्नता हुन्छ र त्यसमा बढी मात्रामा महिला प्रयोग गरेको पाइएको छ’, सुवेदीले भने । ‘यस्तो अपराधमा अहिलेको युवा समूह नै संलग्न हुँदा भावी पुस्तालाई पनि हत्या, हिंसाजस्ता अपराधमा प्रोत्साहित गर्नसक्ने खतरा रहेको छ’, सुवेदीले भने । नेपालको सामाजिक सुरक्षाका दृष्टिकोणले यो पक्षलाई दुःखद रूपमा लिनुपर्ने पनि उनले बताए ।

प्रहरीका अनुसार रोल्पाबाट वसाइँसराइ गरी दाङ, नेपालगञ्ज, बुटवलजस्ता सहरी क्षेत्रमा बसोवास गरेकाहरूले समेत संलग्न भई उत्पादन र ओसारपसारको काम भइरहेको छ । रोल्पाको भूगोल, रहनसहन तथा चालचलन थाहा पाएका उनीहरू आएर ग्रामीण क्षेत्रका सोझा महिलाहरू प्रयोग गरेको प्रहरीको दावी छ । ‘गरिब तथा विपन्न परिवारलाई छोटो समयमा धनी बन्न सकिने लोभलालचामा फसाएर यस्तो अपराधमा संलग्न गराएको देखिन्छ’, प्रहरी नायव उपरीक्षक सुवेदीले भने ।

कानुन सबैले जानेका हुन्छन् भन्ने मान्यता रहे पनि लागुऔषधको बारेमा ग्रामीण भेगमा चेतना पाइँदैन अधिवक्ता श्रीमन पोख्रेलको भनाइ छ । ‘लागुऔषधको उत्पादन, ओसारपसार र बिक्री वितरणको पनि कसुर र संवेदनशीलताअनुसार फरकफरक भए पनि त्यसको जानकारी नहुँदा निर्दोषहरू पनि फसेको देखिन्छ’, पोख्रेलले भने । मलाई थाहा थिएन, झोला त्यहाँसम्म पु¥याइदेउ भनेर यस्तो काम गरेका हुँ भन्नेजस्तो बयान उनीहरूले दिने गरेका पनि अधिवक्ता पोख्रेलले जानकारी दिए ।

त्यस्तै काममा लागेका टाँठोबाठो मान्छेले सोझा र इमानदार महिलाहरूलाई भरियाको रूपमा प्रयोग गर्ने गरेको पाइएको छ । कानुन जानेको थिएन भनेर अपराध छुट नहुने उनको भनाइ छ । त्यसैले पनि यस्ता विषयमा गाउँगाउँमा सचेतनामूलक कार्यक्रमहरू जरुरी देखिएको पोख्रेलको अनुभव छ । महिलाहरूले ओसारपसार गर्दा प्रहरीले निगरानी र चेकजाँच गर्दैन भन्ने गलत मान्यताका कारण पनि महिलाहरू बढी मात्रामा प्रयोग भएका हुनसक्ने महिला अधिकारकर्मी श्रीकुमारी रोकाको बुझाइ छ । कतिपय गाउँमा लागुऔषध खरिदको काम पनि महिलाले गरेको देखिएको र उनीहरू नै आफूले खरिद गरेको लागुऔषध ठूला व्यापारी भएको ठाउँसम्म पु¥याउने जिम्मा लिएका हुन्छन् ।
‘ओसारपसारको क्रममा ठूला व्यापारीसम्म नपुग्दै उनीहरू बाटैमा पक्राउ परेको देखिन्छ’, रोकामगरले भने । ‘कतिपय महिलाहरू कानुन थाहा पाउँदापाउँदै अनि कति त पैसाको लोभले पनि संलग्न भएको देखिन्छ’, रोकामगरले भने ।

नेपालको कानुनले उत्पादन, ओसारपसार र बिक्री वितरणमा प्रतिबन्ध लगाए पनि लुकीछिपी उत्पादन र ओसारपसारमा संलग्न भएका उनीहरूलाई पक्राउगरी कानुनी कारवाही गरिएको प्रहरी दावी छ । ‘अन्य लागुऔषधको तुलनामा हेरोइनको उत्पादन, ओसारपसार र बिक्री वितरणलाई गम्भीर मानिन्छ’, जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक सन्तोषकुमार केसीले भने । रोल्पा, रुकुम पश्चिम, रुकुमपूर्व तथा बागलुङ जिल्लामा यसको खेती बढी मात्रामा हुने गरेको प्रहरीको भनाइ छ । यी जिल्लामा उत्पादन हुने लागुऔषध रोल्पाको सुलिचौर र घर्तीगाउँ नाका हुँदै ओसारपसार गर्ने गरेको पाइएको केसीको भनाइ छ ।

‘कतिपयलाई आपूmले उत्पादन गरेको वस्तु हिरोइन हो भन्ने थाहा नभएको पाइयो’ केसीले भने । अरु नै प्रजातीको बिउ भन्दै लागुऔषधका संकलकहरूले हेरोइनको बिउ दिएर उत्पादन गराएको समेत अनुसन्धानका क्रममा भेटिएको प्रहरी निरीक्षक केसीको भनाइ छ । अफिमविरुद्ध अप्रेसन नै चलाएको रोल्पा प्रहरीले चालु आर्थिक वर्षमा रोल्पाका विभिन्न भागमा अफिमको खेती नष्ट गरेको छ । अफिम खेती भइरहेको स्थानीय नागरिकको सूचनाका आधारमा प्रहरीले जिल्लामा ठूलो क्षेत्रफलमा लगाएको खेती नष्ट गरी उत्पादनमा संलग्नहरूलाई सचेत गराउने काम गरेको थियो । यस्तो खेती निजी जग्गा, ऐलानी तथा जंगलको बीच भागमा पनि हुने गरेको प्रहरीको भनाई छ । ऐलानी जग्गा तथा जंगल बीचमा सो खेती कसले गरेको भन्ने प्रहरीलाई बुझ्न समस्या परेको देखियो ।

इलाका प्रहरी कार्यालय थवाङको टोलीले ०७७ चैतमा थवाङ गाउँपालिका–१ याङचवाङमा ऐलानी दुई कठ्ठामा लगाइएको अफिम खेती नष्ट गरेको थियो । सोही प्रहरी टोलीले ०७७ चैत १० मा थवाङ गाउँपालिका–१ थाङ्चिनस्थित जंगलको बीचभागमा अन्दाजी तीन कठ्ठा ऐलानी जग्गामा लगाएको अफिम खेती पनि नष्ट ग¥यो । त्यस्तै ०७८ वैशाख १२ मा थवाङ गाउँपालिका–२ सिस्याखानाको जंगलमा अन्दाजी दुई कठ्ठा जग्गामा लगाइराखेको अफिम खेती नष्ट ग¥यो । तीनै स्थानमा लगाएको सो खेती कसले गरेको भन्ने खुल्न नआएको प्रहरीको भनाइ छ ।
लागुऔषधजस्तो संगठित र जघन्य अपराध नियन्त्रणका लागि ओसारपसारमा भन्दा उत्पादन हुन नदिनेतर्फ भूमिका बढाउनुपर्ने प्रहरीको बुझाइ छ । संगठित अपराधको जालो धेरै ठूलो हुने भएकाले यसको नियन्त्रणका लागि नागरिकको साथ सहयोग जरुरी रहने प्रहरीको धारणा छ ।

प्रतिक्रिया