पेलेस्टिनले कहिलेसम्म अन्यायमा परेर पिल्सिन पर्ने ?

लोकनारायण सुबेदी

कथित लोकतान्त्रिक प्रणालीमा चलेको देश भनेर डिङ हाँक्ने इजरायलले पनि त यो कुरा मान्नु पर्ने होला । त्यसैले पनि आज पेलेस्टिनी माथिको अत्याचारका बारेमा इजरायली दमनको विरुद्ध विश्वभरी प्रदर्शन भइरहेका छन् । हुन पनि न्यायपूर्ण संघर्षको जहिले पनि जहाँ पनि समर्थन हुने गरेको विश्वको इतिहास छ । अहिलेको लडाइँमा अमेरिका र युरोपियनहरूको रक्षात्मक रवैयाले पनि यो खेमा धेरै कमजोर बनिसकेको थाहा हुन्छ ।

यतिबेला सम्पूर्ण विश्व कोरोना महामारी ब्याधीसँग संघर्ष गरिरहेको छ । तर, यति नै बेला बितेको ७३ वर्षदेखि चल्दै आएको इजरायल–पेलेस्टिन बीचको विवाद बल्झेको छ । पश्चिम एसियाको यो क्षेत्र एउटा तातो युध्द क्षेत्रको रूपमा रहँदै आएको छ । प्यालेस्टिनीहरू जो अरब मुस्लिम हुन्, उनीहरू यसै भूमिमा हुर्किएका हुन्, जसलाई आज हामी इजराइल भनेर चिन्छौँ । यस भूमिका लागि पहिले पनि दुईचोटि लडाइँ भइसकेको छ । पहिलो, अरब–इजरायल र दोस्रो इजरायल–प्यालेस्टिन । पहिलो लडाइँ भयो दुई समुदायको राष्ट्रवादका कारण, जुन द्वितीय विश्वयुद्धसँगै सतहमा देखापरेको थियो । त्यति वेला अरब देशहरू विदेशी शासनबाट आफूलाई स्वतन्त्र गराउन पनि संघर्षमा होमिएका थिए । अर्कोतर्फ भने विश्वभर फैलिएका यहुदीहरू अनेकौँ अत्याचारको चोट खप्दै आफ्नो देश खोजिरहेका थिए ।

दुवै समुदायले एउटै भूमिलाई आफ्नो ठानेपछि अप्ठेरोको सामना गर्नुप¥यो, जुन भर्खरै ब्रिटेनको कब्जाबाट मुक्त भएको थियो । यो अप्ठेरोलाई अन्तर्राष्ट्रिय समुदायले संज्ञानमा नलिएको होइन । सन् १९४७ मा संयुक्त राष्ट्रसंघले यो भूमिलाई दुइटा देशमा विभाजन गर्ने प्रस्ताव पनि ल्यायो । त्यसैबीच सन् १९४८ मा इजरायल एउटा देशको रूपमा देखा प¥यो । विदेशी शासन र हस्तक्षेप विरोधी भावनाबाट अरब मुलुक मुक्त भइसकेका थिएनन् । किनभने उनीहरू मुक्त भएको भर्खर एक वर्ष पुग्दै थियो । सन् १९४८ मा मिश्र, जोर्डन, इराक र सिरियाले इजरायलमाथि हमला गरे ।

प्यालेस्टाइनलाई जोगाउन होइन, उनीहरूका अनुसार इजरायल विदेशी शासनको प्रतीक थियो । तर, उनीहरू युद्धमा पराजित भए । यस युद्धमा आधा यरुसलम सहर इजरायलले कब्जा ग¥यो । यरुसलम अब प्यालेस्टिन र इजराइलबीच विभाजित सहर हो । अब वेस्ट बैंक र गाजामा मात्र प्यालेस्टिनीहरूका लागि ठाउँ बाँकी रह्यो र बाँकी सबै ठाउँ इजरायलले कब्जा गरिसकेको छ ।

यद्यपि यताका केही वर्षहरूमा इजरायल र त्यस क्षेत्रका अरब देशहरूका बीच कुनै युद्ध भएको छैन । तर, त्यो क्षेत्रमा आन्तिरक रूपमा पेलेस्टिनी र यहुदीका बीचमा साना ठूला संघर्ष प्रयः निरन्तर जारी रहँदै आएका छन् । इजरायलले आफ्ना सैनिक तथा राजनीतिक दृष्टिले त्यस क्षेत्रमा आफ्नो वर्चश्व कायम राख्दै त आयो । तर पूरै पेलिस्टिनीहरूको प्रतिरोधलाई दबाउन सकेन । असफल रह्यो । १९४८ मा यहुदीको देशको रूपमा इजरायल अस्तित्वमा आएको थियो र त्यसलाई विश्वले यहुदीहरूका विरुद्ध अतितमा भएको अन्याय र अत्याचारको क्षतिपूर्तिको रूपमा स्वीकारेको देखिन्थ्यो । तर, एउटा जातीय समुदायलाई न्याय दिलाउने प्रयासमा अन्तर्राष्ट्रिय समुदायले एउटा अर्को जातीय समुदाय–पेलेस्टिनका साथ ठूलो अन्याय गरेको छ । उनीहरूलाई आफ्नो घरबार त्यागेर पलायन हुन विवश तुल्याइयो । कालान्तरमा इजरायलले पेलेस्टिनीहरूका लागि निर्धारित भूभागमाथि पनि निरन्तर अतिक्रमण र नियन्त्रण गर्ने बिस्तारवादी प्रयास जारी राख्यो । जसले गर्दा पेलेस्टिनहरूले आफ्नो भूमिमा नै निरन्तर शरणार्थीको जस्तो स्थिति भोग्न बाध्य हुनु परेको छ र परिरहेको छ ।

अहिले मुस्लिम समुदायको पवित्र रमजानको महिनामा भएको घटनाक्रमको पनि यही पृष्ठभूमि हो । जेरुसलेमलाई अन्तर्राष्ट्रिय समुदायले इजरायली कब्जाको क्षेत्र मान्दछ । तर अमेरिकाको आडधापमा इजरायली प्रधानमन्त्री नेतान्याहूले तेल अभिबको साटो जेरुसलेमलाई नयाँ राजधानी घोषणा गरेका छन् । यसको साथै इजरायली सरकारले पूर्बी जेरुसलेममा नयाँ यहूदी बस्तीहरूको निर्माणको काम पनि तीव्र पारेको छ । पेलेस्टिनी परिवारहरूलाई बेदखल तुल्याइएको या बेदखल हुने स्थितिमा धकेलिदिएको छ । यसको विरुद्ध वर्षांैदेखि बढ्दै गएको पेलेस्टिनी असन्तोष ज्वालमुखीको रूपमा बिस्फोट हुनु कुनै आश्चर्य र अस्वाभाविक कुरा भएन । पेलेस्टिनको पश्चिमी किनारा तथा गाजापट्टीको नेतृत्व क्रमशः त्यहाँको नरमपन्थी र उग्रपन्थी मानिने शक्तिहरूले गरिरहेका छन् । पश्चिम किनारमा पेलेस्टिनहरूले ढुंगा हानेर इजरायली सेनालाई चुनौती दिइरहेको देखिन्छ भने गाजापट्टीबाट पेलेस्टिनहरूको हमास समूहले इजरायली सहरहरूमा मिसाइल रकेटहरूले हमला गरिरहेको पनि देखिन्छ । हमासको हमलामा इजरायली पक्षका मारिनेहरूको संख्या दुई अंक पनि पुगेको छैन भने मारिने पेलेस्टिनीहरूको संख्या सयकडौं पुगिसकेको छ ।

पछिल्लो समयमा हताहत हुनेमा बालबालिका र महिलासहित १ सय ३९ पुगेको बताइएको छ । आश्चर्यको कुरा त अझ के छ भने इजरायलको यो आपराधिक बल प्रयोग त्यतिबेला भइरहेका छ, जतिबेला प्रमुख अरब र मुस्लिम देशहरूले इजरायलसँग कूटनीतिक सम्बन्ध कायम राखेका छन् । विश्वका ठूला देशहरूको सरोकार यस विश्व घटनामा देखिँदैन । आफ्नो हितमा चोट नपुगोस् भन्ने स्वार्थमा उनीहरू केन्द्रित छन् । उनीहरूले अन्याय गर्ने इजरायलसँग पनि राजनीतिक, सैनिक तथा कूटनीतिक सम्बन्ध कायम राखेका छन् । त्यसलाई नयाँ उचाइमा पु¥याएको पनि भनिरहेका छन् । अनि त्यस्ता देशहरूमध्ये कतिपयले पेलेस्टिनी क्षेत्रमा मानवीय सहयोग पनि गरिरहेका छन् । तर स्थिति हेर्दा ‘जसको लाठी उसैको भैंसी’ जस्तै स्थिति दोहोरिइरहेको छ । न्याय समानताको लडिरहेका समुदाय र देशहरूको सहयोग र समर्थका लागि पनि आफ्नो लागि प्रतिफलको खोजी गर्ने प्रवृत्ति शक्ति राष्ट्रहरूको रहेको छ ।

वर्तमान संघर्षमा यसपटक एउटा नयाँ घटना क्रम पनि सामुमा आएको छ । इजरायलका प्रमुख सहरहरूमा जातीय र साम्प्रदायिक दंगाफसादहरू पनि भएका छन् । इजरायलमा पेलेस्टिन मूलको जनसंख्या २०÷२५ प्रतिशत जति रहेको छ । यद्यपि तीमध्ये धेरैले आपूmलाई इजरायली नै मान्ने गरेका छन् । पेलेस्टिनी क्षेत्रमा रहने गरेका आफ्ना भाइबन्धुहरूसँग भलै उनीहरूको भावनात्मक सम्वन्ध रहेको छ र उनीहरूले आवश्यक सहानुभूति राख्ने गर्दछन् तथापि उनीहरूले प्रत्यक्ष रूपमा त्यसलाई व्यक्त गर्दैनन् । तर यसपटक अति भएपछि भने उनीहरू पनि पेलेस्टिनी बन्धुहरूमाथि भइरहेको अत्याचारका विरुद्ध सडकमा उत्रिएर विरोध जनाएको देखिएको छ । राजनीतिक विश्लेषकहरूका अनुसार गाजापट्टीमा हिंसाको जस्तो क्रूर ताण्डव मच्चिरहेको थियो त्यसभन्दा कम इजरायली सहरहरूमा पनि घटना घटिरहेको थिएन । इजरायली प्रधानमन्त्री बेञ्जामिन नेतान्याहूले पेलेस्टिनी असन्तोषलाई आतंकवादको संज्ञा दिए पनि बास्तवमा यथार्थ के हो भने ठूलो जनसंख्या भएको समुदायले अल्पसंख्यक समुदायलाई कही पनि जबर्जस्ती शक्तिको भरमा दबाएर राख्न सकिन्न । कथित लोकतान्त्रिक प्रणालीमा चलेको देश भनेर डिङ हाँक्ने इजरायलले पनि त यो कुरा मान्नुपर्ने होला ।

त्यसैले पनि आज पेलेस्टिनी माथिको अत्याचारका बारेमा इजरायली दमनको विरुद्ध विश्वभरी प्रदर्शन भइरहेका छन् । हुन पनि न्यायपूर्ण संघर्षको जहिले पनि जहाँ पनि समर्थन हुने गरेको विश्वको इतिहास छ । अहिलेको लडाइँमा अमेरिका र युरोपियनहरूको रक्षात्मक रवैयाले पनि यो खेमा धेरै कमजोर बनिसकेको थाहा हुन्छ । इजरायली भूमिमा विद्रोही प्यालेस्टाइनहरूका रकेटहरूले निशाना बनाउन सफल हुनुलाई अहिले सबैभन्दा आश्चर्यको विषय मानिएको छ । यसले अरब राष्ट्रहरूको सैन्य शक्ति इजरायलको भन्दा माथि पुगिसकेको अनुमान लगाउन सकिन्छ । यदि यो संघर्षमा इजरायलको पराजय भयो भने त्यो अमेरिकाको पूर्ण अवसानको थालनी हो भन्दा फरक पर्दैन । किनभने पश्चिम एसियामा अमेरिकी गुन्डागर्दीको आधार नै इजरायल हो ।

अब विश्वले अमेरिकी नेतृत्वको पश्चिमा अत्याचारलाई थेग्न सक्ने अवस्था छैन । आक्रोश जुनसुकै ठाउँबाट पनि बिष्फोट हुन सक्छ । यदि, कुनै पनि ठाउँबाट क्षेत्रीय युद्धहरू भड्किए भने त्यसले महायुद्धको रूप लिने कुरामा शंका नै छैन । किनभने जति पनि ठाउँहरूमा क्षेत्रीय तनाव र द्वन्द्वहरू बढिरहेका छन्, त्यसका पछाडि विश्वका ठूला शक्तिहरूको हात छ । सिरिया, क्रिमिया, युक्रेन, इराक, अफगानिस्तान, उत्तर कोरिया, इरान, भेनेजुयला लगायतका मामिलाहरूमा पश्चिमाहरूको रक्षात्मक नतिजा र अब देखिन थालेको इजरायलको हविगत हेर्ने हो भने यो खेमाले आफ्नो बचाउका लागि कहीँ न कहीँ युद्ध भड्काउँछ र आफू पनि समाप्त हुन्छ ।

प्रतिक्रिया