स्थानीय तहका अक्सिजन सहितका आइसोलेसन खाली

सल्यान । जिल्लामा कोरोना संक्रमण बढ्दै गए पनि जिल्लाका स्थानीयतहहरूले निर्माण गरेका अक्सिजन सहितका आइसोलेसन भने खाली हँुदै गएका छन् । जिल्लाका नौ स्थानीयतहले तयार गरेका १ सय ८० शय्याका आइसोलेसनमा १३ जना कोरोना संक्रमितहरूले उपचार गराइरहेका छन् । कोरोना संक्रमितहरूको उपचारका लागि अक्सिजन आवश्यक भएको भन्दै जिल्लाका स्थानीय तहहरूले ३० शय्याभन्दा बढी अक्सिजन सहितका आइसोलेसन तयार भए पनि आइसोलेसन भने खाली रहेका छन् ।

अहिले जिल्लाको छत्रेश्वरी गाउँपालिकामा ६ जना, कुमाख गाउँपालिकामा दुई जना र बनगाड कुपिण्डेमा पाँच जना गरेर १३ जनाको उपचार भइरहेको भए पनि अन्य स्थानीयतहहरूले निर्माण गरेका आइसोलेसन भने खाली रहेका छन् । स्थानीय तहमा दक्ष जनशक्तिको अभाव तथा अक्सिजनको अभाव भएपछि अक्सिजन सहितका आइसोलेसनसमेत सञ्चालन गर्न नसकिएको स्थानीयतहले जनाएका छन् । ‘हामीले आइसोलेसन त तयार ग¥यौँ तर दक्ष जनशक्ति नभएपछि यहाँ बिरामी राख्नुभन्दा सल्यान अस्पतालमा रिफर गरेका छौँ र हामीसँग भएका अक्सिजन सिलिन्डरसमेत अस्पताललाई हस्तान्तरण गरेका छौँ’, सिद्द कुमाख गाउँपालिकका प्रमुख प्रशासकीय अधिकृत मार्शल ओलीले जानकारी दिए ।

आपूmहरूले स्थानीय तहमा बिरामीहरूलाई राखेर उपचार गर्न खोजेको भए पनि अक्सिजन अभावका कारण जोखिम मोल्न नसकिएको बनगाड कुपिण्डे नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख बासुदेव पोखरेलले जानकारी दिए । ‘हामीले अक्सिजन सहितको आइसोलेसन तयार पारेका छौँ तर अक्सिजन सकिएपछि फेरी भर्न समयमा पाइँदैन यहि समस्याका कारण संक्रमितहरूलाई आइसोलेसनमा उपचार गर्न गाह्रो भइरहेको छ’, पोखरेलले भने ।

जिल्लामा कोरोना संक्रमणकै कारण दिनहँुजसो मृत्यु भइरहेको भए पनि गत वर्षको तुलनामा यस वर्ष स्थानीय तहको सक्रियता सुस्त भएको देखिन थालेको छ । जसका कारण संक्रमितहरूको स्थानीय तहमा निर्माण गरिएका आइसोलेसनप्रति विश्सास नभएपछि सल्यान अस्पतालमा संक्रमितहरूको चाप बढन थालेको हो ।

स्थानीय तहहरूले निर्माण गरेका कोरोना संक्रमितहरूको उपचारका लागि बनाइएका आइसोलेसन अव्यवस्थित भएको संक्रमितहरूको भनाइ रहेको छ । ‘समयमै हाम्रै नगरपालिकमा व्यवस्थित आइसोलेसन तयार गरिएको भए हामीले दुःख पाउने थिएनौँ अव संक्रमित हुनेहरूले दुःख नपाऊन्’, बागचौर नगरपालिकका एक संक्रमितले भने ।

स्थानीयतहरूले निर्माण गरेका आइसोलेसनमा बिरामीहरू नबसेपछि सल्यान अस्पतालमा शय्याको अभावमा बेन्च तथा अन्य शय्याहरू राखेर उपचार गरिएको छ । सल्यान अस्पतालमा रहेको १६ शय्याको कोरोना वार्ड भरिएपछि अस्पताले आकस्मिक कक्षलाई समेत कोरोना संक्रमितहरूको उपचारका लागि प्रयोग गर्दै आएको कोरोना स्रोत व्यक्ति रिखाराम पुनले जानकारी दिए । ‘हामीसँग अहिले २६ जना संक्रमितहरूको उपचार भइरहेको छ, बिरामी आउने दर बढी भएकोले अस्पतालले सबै वैकल्पिक उपायहरू अपनाएर बिरामीहरूको उपचार गरिरहेको छ’, पुनले भने ।

सल्यान अस्पतालमा तत्काललाई अक्सिजनको समस्या टरेको अस्पतालले बताएको छ । हाल अस्पताल तथा अन्य सहयोगी निकायहरूको सहयोगमा ४६ वटा र पछि फिर्ता गर्ने गरी १४ वटा अक्सिजन सिलिन्डर रहेको र आठ शय्याका लागि अक्सिजन कन्सन्ट्रेटर उपलव्ध भएकोले अक्सिजन अभाव नहुने पुनले जानकारी दिए । ‘हाललाई अस्पतालमा अक्सिजनको अभाव तत्काललाई टरेको छ तर अक्सिजन भर्ने ठाउमा २४ घन्टामा १४ वटा सिलिन्डर मात्रै भर्ने व्यवस्था भएकोले अभाव हुन सक्ने पनि देखिन्छ’, पुनले भने ।

हालसम्म जिल्लामा ५ सय ७१ जनामा कोरोना संक्रमण देखिएका मध्ये ५ सय ३४ जना होम आइसोलेसनमा रहेको र बाँकीको अस्पतालमा उपचार भइरहेको अस्पतालले जनाएको छ । यस्तै जिल्लामा हालसम्म २५ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको अस्पतालले जनाएको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट दुई जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया