विपत्तिमा आफ्नै थातथलो प्यारो

‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’ अर्थात् आफूलाई जन्म दिने आमा र जन्मिएको ठाउँ स्वर्गभन्दा पनि प्यारो हुन्छ । रामायणमा आफ्ना भाइ लक्ष्मणलाई सम्झाउँदै भगवान् रामले भनेको यो उक्तिले अहिलेको विपद्कालीन अवस्थामा आफ्नै जन्मथलो सुरक्षित ठान्दै सहरबाट गाउँ फर्किएका व्यक्तिहरूको मनोभावनालाई समेत सम्बोधन गरेको छ । गाउँ नै गाउँले भरिएको नेपाली समाजका अधिकांश युवाहरूको सहर पस्ने, बस्ने, पढ्ने, जागिर खाने र रमाउने चाहना हुन्छ । त्यही चाहनालाई पूरा गर्न सहर पसेर गाउँलाई बिर्सनेहरू पनि धेरै नै हुन्छन् । सहरमा रमाएर गाउँलाई बिर्सने भनेको सहज परिस्थिति हुँदा मात्र रहेछ भन्ने तथ्य विपत्ति तथा महामारीका बेला देखिने गरेको छ । हाल विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरस संक्रमणले यो अवस्था र परिस्थितिलाई बुझ्ने तथा बुझाउने अवसर दिएको महसुस भएको छ ।

हुन त चाडपर्व र विशेष उत्सव÷महोत्सवमा पनि मानिसहरू गाउँ फर्किन्छन् तर त्यसरी केही दिनका लागि रमाइलो गर्न गाउँ आएकाहरूको तुलनामा यतिखेरको अवस्था भने निकै नै फरक छ । त्यसरी भन्दा अहिले घरगाउँ फर्किएका मानिसमा ग्रामीण जीवन र वातावरणप्रति अझ बढी अपनत्व र स्नेह पाइएको छ । यसैले विपत्तिका बेला आफ्नो थातथलोको महत्व र आवश्यकता अहिले देखिएको छ । यसपटक सहरमा कोरोना महामारीको बोझलाई थेग्न नसकेर सहरभन्दा गाउँ नै सुरक्षित मानी आफ्नो थातथलोमा फर्किएका म्याग्देलीहरूमा पनि आफ्नो जन्मथलो र आफ्नो माटोप्रति बिछट्टै माया र स्नेह देखिएको छ । विश्वव्यापी रूपमा कोरोना महामारी सुरुभए यता म्याग्दीमा देशका विभिन्न सहर र विदेशबाट गरी करिब चार हजार बढी युवा गाउँ फर्केका छन् । यस जिल्लाका ६ वटा स्थानीय तहका जनप्रतिनिधिहरूबाट प्राप्त सूचनाका आधारमा यतिधेरै युवा अघिल्लो दुई हप्तामा जिल्ला भित्रिएका हुन् । एक नगरपालिका र पाँच वटा गाउँपालिका रहेको म्याग्दीमा ६ वटा स्थानीयतह छन् ।

०६८ को जनगणनाअनुसार यहाँको कुल जनसंख्या १ लाख १३ हजार ६ सय ४१ रहेको छ । त्यसमा महिलाको संख्या ६२ हजार २ सय ४६ अर्थात् कूल जनसंख्याको ५४ दशमलव ७७ प्रतिशत रहेको छ भने पुरुषको ५१ हजार ३ सय ९५ अर्थात् ४५ दशमलव २३ प्रतिशत छ । पुरुषभन्दा महिलाको संख्या बढी रहेको म्याग्दीका अधिकांश युवाहरू वैदेशिक रोजगारका लागि विदेशमा छन् । जिल्ला प्रशासन कार्यालयको तथ्यांकअनुसार १९ देखि ४० वर्ष समूहका ४२ प्रतिशत युवाहरू वैदेशिक रोजगारीमा छन् । बाँकी रहेका युवा पनि अध्ययन, व्यापार, रोजगार वा अन्य प्रयोजनका लागि गाउँ छोडेर सहर पसेका थिए । अहिले कोरोना महामारीको दोस्रो लहरबाट बँच्न सहरबाट अधिकांश युवाहरू गाउँमा भित्रिएका मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले बताए ।

म्याग्दीको सदरमुकाम बेनीसँग जोडिएको पर्वतको पारीबेनीस्थित न्यु होराइजन आवासीय उच्च माविका प्रिन्सिपल तथा सञ्चालक अर्जुन पौडेल यतिबेला विद्यालयमा होइन गाउँको खेतवारीमा व्यस्त छन् । बेनी नगरपालिका–६ का पौडेल अहिले मिनिट्रेलर हलोमार्फत् खेतबारी जोत्ने, मकै गोड्ने, तरकारी लगाउने जस्ता कृषि कर्ममा आफूलाई व्यस्त बनेका छन् । प्रिन्सिपल पौडेलले भने, ‘मान्छे सहरको रमाइलो भुलेजस्तो मात्र गर्दो रहेछ, वास्तवमा गाउँको माटोको सुगन्धमा मान्छेलाई लठ्याउन सक्ने शक्ति हुँदोरहेछ ।’

‘सहर सम्पत्ति हुँदा मात्र आफ्नो जस्तो लाग्ने हो, वास्तवमा विपत्तिको बेला चाहिने भनेको त गाउँ नै रहेछ’, १० वर्ष कोरिया बसेर काठमाडौंमा घर बनाई होटल व्यवसाय गरी त्यहाँबाट पनि सन्तुष्ट हुन नसकेका बेनी नगरपालिका–२ बगरफाँटका दुर्गाबहादुर थापाले भने, ‘गाउँमा जस्तो अपनत्व र आनन्द सहरमा केही गरी पनि पाउन नसकेर म त सपरिवार आफ्नै गाउँ फर्की आएँ ।’ थापाले गाउँमा आएर १२ रोपनी जमिनमा व्यावसायिक केरा खेती सुरु गरेका छन् । उनीसँगै पत्नी, छोरा र बुहारी दैनिक कृषि कर्ममा खटेर लागेका छन् । उनकोे श्रम देखेर गाउँमा परम्परागत कृषि प्रणाली अपनाउँदै आएका किसानहरूले पनि सिक्ने अवसर पाएका स्थानीय पदमपाणी शर्माले बताए ।

बेनीको कालीपुल बसपार्कका धवलागिरि यातायात कार्यालयको काउन्टरका कर्मचारी गणेश वानियाँका अनुसार जब संकट आइपर्छ तब मानिस काठमाडौं, पोखरा, चितवन तथा बेनी बजार नै छाड्न तँछाडमछाड गर्छन् । यो हामीले गत वर्षको लकडाउन र ०७२ सालको भूकम्पको बेलामा पनि देशका अरू जिल्लाको जस्तै म्याग्दीमा पनि यस्तै अवस्था देखिएको थियो । अहिले पनि त्यही क्रम दोहोरिएको छ । उनका अनुसार यसपाली विभिन्न ठाउँबाट करिब चार हजारको हाराहारीमा म्याग्देली युवा जिल्ला भित्रिएका छन् ।

संकटको बेला मानिसहरू सहर छोडेर गाउँ फर्किनुमा धेरै कारण हुन सक्छन् । तीमध्ये प्रमुख कारण भनेको आर्थिक पृष्ठभूमि र जीविकोपार्जनसँग जोडिएका कुराहरू नै भएको म्याग्दी बुहुमुखी क्याम्पसका प्राध्यापक तथा नेपाल पत्रकार महासंघ म्याग्दीका निवर्तमान अध्यक्ष तारानाथ शर्माले बताए ।

प्राध्यापक शर्माका अनुसार नेपाली सहरको संरचना विश्वका अरू मुलुकको संरचनाभन्दा कान्छो छ । वैदेशिक रोजगारसँग नेपाली सहरको साइनो नङ र मासुको जस्तै छ । यहाँको सहरको चरित्र भनेको गाउँसँग साइनो र मितेरीको सम्बन्धको चरित्र हो । नेपाली सहरहरूले अझै पनि गाउँको सहयोगविना विपत्ति र संकटलाई झेल्न नसक्ने भएकोले मानिसहरू विपत्तिको बेला सहरको भन्दा बढी गाउँको नै भर पर्ने गरेका छन् ।

शर्माले भने, ‘संकट वा बिपत्तिको बेला शहरको वास्तविक स्वरुप र शहरमा बसोवास गरेका मानिसहरूको अवस्था देखिन्छ । उनीहरूमा विभिन्न वस्तुको अभाव देखिने गरेको छ भने यस्तो बिपत्तिबाट बच्नका लागि यहाँका बासिन्दाले आफ्नो घरजस्तो सुरक्षित महसुस गर्न पनि सकेका हँुदैनन् ।’ गाउँमा जीविकोपार्जन गर्न सजिलो छ । सहरको जस्तो तनाव र दौडधुप गाउँमा नहुने भएकाले पनि संकटको बेलामा मानिसहरू सहर छोडेर गाउँमा पस्न रुचाउने गरेको वुद्धिजीविहरूको भनाइ छ ।

‘सकटका बेलामा काम रोकिन्छ । मानिसको रोजगारी गुमेको छ । दैनिक आम्दानीमा कटौती भएको छ । उता खर्च भने बढेको बढ्यै हुन्छ । अहिले कोरोना भाइरसको महामारीको समयमा स्वास्थ्यको क्षेत्रमा धेरै खर्च भएको छ । अनलाइन कक्षा सञ्चालकले पनि मोबाइल र ल्यापटप किन्न जोड गरिरहेका छन् । कम आयस्रोत हुनेहरूका लागि यो दुर्भाग्यको कुरा हुन सक्छ । त्यसैले मानिसले सहरको महँगो जनजीवन छाड्ने गरेका छन्,’ रघुगंगा गाउँपालिकाका अध्यक्ष भववहादुर भण्डारीले भने ।

करिब १६ वर्षदेखि कुपण्डोल ललितपुरमा व्यापार गरी बसेका म्याग्दीका ४१ वर्षीय ललित खत्री आफ्नी पत्नी, दुई छोरा र एक छोरीसहित पसल बन्द गरेर गाउँमा फर्किए । काठमाडौंमा जमेर बसेका मान्छे किन गाउँमा फर्किनुभयो ? यो जिज्ञासामा उनले भने, ‘सुरक्षाका कारण गाउँ फर्किनुप¥यो । सहरमा धेरै भिडभाड छ, संक्रमण हुने खतरा पनि उत्तिकै बढी देखिन्छ । त्यसैले संक्रमणबाट बच्न गाउँ फर्केका हौँ । सहर त पैसा कमाउन्जेलसम्मको मात्रै हो, कमाइ हुन छोडेपछि सहरले हामी गाउँलेलाई चिन्दैन, अप्ठ्यारो परे साथ दिने मान्छे पनि पाइँदैन, कसरी बस्न सकिन्छ र संकटको बेला सहरमा ?’

बेनी अस्पतालका चिकित्सक जितेन्द्र कँडेलका अनुसार सहरमा भन्दा गाउँतिर नै बढी सुरक्षित हुन सकिन्छ । ‘हो गाउँमा धेरै सुरक्षित हुन सकिन्छ किनभने त्यहाँ खुला ठाउँ हुन्छ, भौतिक दुरी कायम गर्न सजिलो हुन्छ तर बढी कोरोना संक्रमित जिल्लाहरूबाट पनि मानिसहरूको आवागमन हुँदा केही जोखिम भने अवश्य छ,’ डा.कँडेलले भने ।

वैदेशिक रोजगारपछि म्याग्दीका नागरिकहरूको दोस्रो गन्तव्य भनेको काठमाडौं र पोखराजस्ता सुविधासम्पन्न सहर नै हुने गरेको छ । पछिल्लो समय कोरोना संक्रमणको दर बढ्दै जान थालेपछि ती ठाउँहरूबाट धेरै मानिसहरू गाउँ फर्किसकेका छन् । म्याग्दीको रघुगंगा गाउँपालिका–६ का वडाध्यक्ष मनकुमार शेरपुंजाका अनुसार काठमाडौं, पोखरा र बेनीबाट गाउँमा फर्किएका युवा युवतीहरूका कारण गाउँको रौनक नै फेरिएको छ । अध्यक्ष शेरपुंजाले भने, ‘युवाविहीन भएका गाउँहरू अहिले भरिभराउ भएका छन्, गाउँको रौनक नै फेरिएको छ, यहाँ आएका युवाहरू खाली बसेका छैनन्, कुनै न कुनै रूपमा कृषि कर्मसँग जोडिएका छन्, स्वास्थ्य सुरक्षा र सावधानीका उपायहरू गाउँलेलाई सिकाउँदै पनि छन् ।’

सम्पत्ति हुँदा र सहज अवस्था रहँदा सहर नछोड्ने युवाहरू बिपत्तिकै बेला भए पनि गाउँ आउनुलाई गाउँका अग्रजहरूले स्वभाविक रूपमा लिएका छन् । उनीहरू बताउँछन्, ‘सम्पत्ति हुँदा सहर नै प्यारो, बिपत्तिका बेला लुसुक्कै आफ्नै थातथलो प्यारो ।’ अघिल्लो वर्ष पनि कोरोना भाइरसको महामारीका कारण भएको लामो समयको लकडाउनले गर्दा यहाँका हजारौँ युवा गाउँ फर्किएका थिए । वर्षाैंदेखि बाँझो रहेका खेतबारी खनेर, जोतेर उनीहरूले अन्नपात तथा हरियो तरकारी र गेडागुडी राम्रैसँग उत्पादन गरेका थिए । यस समय गाउँ छिरेका युवा पनि कृषि कर्ममै रहेका छन् । त्यसैले जिल्लामा कृषि उपज एवं तरकारी उत्पादनमा वृद्धि हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया