आइसोलेसन रित्तै, अस्पतालमा चाप

नुवाकोटसहित धादिङ र रसुवा आसपासका जिल्लाका कोरोना संक्रमित बिरामीको पहिलो रोजाई अहिले त्रिशूली अस्पताल बनेको छ । संक्रमित बिरामीको लागि भनेर नुवाकोटका स्थानीयतहले सुविधा सम्पन्न ओइसोलेसन केन्द्र बनाए पनि त्यहाँका शय्याहरू भने खाली हुने गरेका छन् । बिरामी र बिरामीका आफन्तका लागि आइसोलेसनभन्दा अस्पताल भरपर्दो बनेको छ । उता आइसोलेसन रित्तै रहेको अवस्थामा अस्पताल भने बिरामीको चाप रहेको छ । बिरामीको रोजाइ बनेको अस्पतालमा भने शय्या भरिएर दोस्रोपटक थप गरिएको छ । जिल्लाका मात्र नभई रसुवा र धादिङस्थित जिल्ला अस्पतालमा उपचाररत संक्रमित बिरामी पनि त्यहाँबाट रिफर भएर त्रिशूली अस्पताल आउन थालेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. दीपेन्द्र पाण्डेले जानकारी दिए । उनको अनुसार बिरामीको चाप बढेसँगै दोस्रोपटक शय्या थप गरेर उपचार सेवा उपलब्ध गराइएको छ । अस्पतालमा हाल ५१ जना संक्रमित उपचाररत रहेको अस्पतालले जनाएको छ । तीमध्ये गम्भीर अवस्थाका ६ शय्याको सघन उपचार कक्ष (आइसियु), चार शय्याको हाइ डिपेन्डेन्सी युनिट (एचडियु) र चार भेन्टिलेटर राखिएको छ । आइसियु र भेन्टिलेटरमा राख्नुपर्ने बिरामी धेरै भएकाले व्यवस्थापनमा समस्या बनेको छ ।

अस्पतालले संक्रमित बिरामीका लागि स्रोत, साधन र जनशक्तिअनुसार ४० शय्याको आइसोलेसन वार्ड स्थापना गरिएकोमा अपुगे भएसँगै २० शय्या थप गरेर हाल ६० शय्या पु¥याइएको छ । उनले भने, ‘दुई पटकसम्म शय्या थपिसकेकाले अब भने नसक्ने अबस्थामा पुगेका छौँ ।’
वाग्मती प्रदेश मातहत रहेको ५० शय्याको अस्पताल हो । अस्पतालले नियमित सेवा सुचारु राख्दै सोही स्रोत र जनशक्तिमार्फत हाल अतिरिक्त ६० शय्याको कोभिड वार्ड चलाइरहेको छ । कोरोना भाइरसको दोस्रो लहर देखिएसँगै अस्पतालले ४० शय्याको कोभिड वार्ड तयार गरेको भए पनि बुधबार र शुक्रबार थप १०÷१० शय्या वृद्धि गरी ६० शय्या पु¥याएको छ ।

संक्रमितको स्वास्थ्यमा समस्या देखिएसँगै धेरै बिरामीको रोजाइ यही अस्पताल भएकाले माग धान्न गाह्रो हँुदै आएको डा.पाण्डेले बताए । ‘भूकम्पपछि पुर्ननिर्माण गरिएको सुविधासम्पन्न भवन रहेको अस्पतालमा आरटी–पिसिआर प्रयोगशाला र आफ्नै अक्सिजन उद्योगसमेत भएकाले बिरामीको लागि अस्पतालप्रतिको विश्वास धेरै हुनसक्छ’ उनले भने, ‘अब भने स्थानीयतहको आइसोलेसन केन्द्रमा बिरामी ‘होल्ड’ गर्न आग्रह गर्नेछौँ ।’

कोरोनाको दोस्रो लहर आएसँगै जिल्लाका प्रत्येक स्थानीयतहमा व्यवस्थित आइुसोलेसन केन्द्र सञ्चालनमा आइसकेको स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लाका १२ स्थानीयतहले १५ स्थानमा निर्माण गरेको केन्द्रमा अक्सिजन सहितको १ सय ८१ शय्या तयारी अवस्थामा रहेको स्वास्थ्य कार्यालयका सूचना अधिकृत उत्तमराज खनालले जानकारी दिए । उनका अनुसार केन्द्रमा चिकित्सक सहितको सुविधा भए पनि संक्रमित भने त्रिशूली अस्पतालमा नै भर्ना हुने दर बढेकाले अब पालिकालाई आआफ्नै स्थानका बिरामीलाई सकेसम्म पालिकाभित्रै व्यावस्थापन गर्न भनिएको छ । कोरोना नियन्त्रणको लागि जिल्लामा गत वैशाख २१ गतेदेखि निषेधाज्ञा कायम रहेको छ । ‘कर्मचारी र जनप्रतिनिधिलाई कोरोनाको भाइरस पुष्टि भएसँगै जिल्लाको सबैजसो स्थानीयतहले अति आवश्यक बाहेकका सेवा बन्द गरेर महामारी रोक्न लागेका छन् ।’ कार्यालयका सूचना अधिकृत खनालले भने, ‘कोरोनाको संक्रमितको पहिचानको लागि खोजपड्ताल, स्वाब संकलन, सक्रमितको उपचार प्रभावकारी बनाउन पालिकाले आइसोलेसन केन्द्रमा बिरामी राख्न पहिलो प्राथमिकता दिनुपर्छ ।’

स्थानीयतहको आइसोलेसन केन्द्रमा अक्सिजनसहित अक्सिजन कन्सनट्रेटर, पल्स–अक्सोमिटर, पिपिई, भाइरस परीक्षण गर्ने एन्टिजेन किट, पिसिआरका लागि स्वाब संकलन गर्न भिटिएम सहितको सुविधा उपलब्ध भए पनि कोरोना संक्रमित बिरामी त्रिशूली अस्पतालमा आकर्षित हुँदा पालिकाको शय्या भने रित्तै छन् । जिल्लामा आइसियु र भेन्टिलेटर सेवासहित अक्सिजनको व्यवस्था सहज भएसँगै नुवाकोटको बिरामीका लागि यो महामारीमा पालिकाको मात्र नभई काठमाडौंभन्दा त्रिशूली अस्पताल पहिलो रोजाइ बनेको छ । संक्रमितका लागि अस्पतालबाट उपलब्ध सेवा सबै निःशुल्क रहेको अस्पताल विकास समितिका अध्यक्ष अर्जुनप्रसाद न्यौपानेले बताए ।

कुन पालिकामा कति आइसोलेसन शय्या
विदुर नगरपालिकाले बट्टारस्थित कभर्डहलमा २२ र सिटी कम्युनिटी अस्पतालमा १५ गरी ३७ शय्याको आइसोलेसन तयार गरेको स्वास्थ्य शाखा प्रमुख पूर्णध्वज श्रेष्ठले जानकारी दिए । उनका अनुसार आइसोलेसनमा अक्सिजन सिलिन्डर, अक्सिजन कन्सनट्रेटर, पल्स–अक्सोमिटरसहित चिकित्सकको व्यवस्था गरिएको छ । जिल्लाको अर्को नगरपालिका बेलकोटगढीमा कोरोनाको उपचारका लागि ‘कोभिड–१९ अस्थायी अस्पताल’को स्थापनासहित थप २५ शय्याको आइसोलेसन केन्द्र सञ्चालनमा ल्याइएको नगर प्रमुख राजेन्द्ररमण खनालले जानकारी दिए । उनका अनुसार अस्पतालमा डाक्टरसहित पाँच जना स्वास्थ्यकर्मीलाई २४सै घण्टा खटाइएको छ ।

जिल्लाको गाउँपालिकातर्फ लिखुमा १०, शिवपुरीमा २०, म्यागङमा आठ, किस्पाङमा पाँच, सूर्यगढीमा २०, तादीमा २०, तारकेश्वरमा नौ, दुप्चेश्वरमा आठ, पञ्चकन्यामा पाँच र ककनीमा पाँच शय्याको आइसोलेसन शय्या तयार बनाइएको छ । स्थानीयतहमा हाल १ सय ८१ शय्या भए पनि संक्रमित बिरामी भने जम्मा चार जना मात्रै भर्ना भएका छन् । संक्रमणको लक्षण देखिएकालाई पालिकाको आइसोलेसनमा राख्नसकेमा त्रिशूली अस्पतालमा बिरामीको चाप घटाउन, अति आवश्यक पर्ने बिरामीका लागि शय्या उपलब्ध गराउन, बिरामीले पनि उपचार सुविधा सहजै पाउने जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङले बताए । ‘त्रिशूली अस्पतालमा दरबन्दी अभावले जनशक्ति कम छन्, त्यसमा पनि आधाभन्दा बढीलाई आफँै संक्रमित भएसँगै कामको दबाब बढी परेको छ,’ उनले भने, ‘स्थानीयतहले बनाएको आइसोलेसनमा खटाइएका जनशक्ति भने बिरामी पर्खिरहेका छन् ।’

प्रतिक्रिया