कोरोनाबाट बच्न साढे ९ लाखको मारमा हुम्ली

कोभिड संक्रमितलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला उद्धार हेलिकोप्टरबाट गरिँदै । फोटो : लक्ष्मी रोकाया

हुम्ला । करिब एक हप्ता अगाडि हुम्लाको सर्केगाड गाउँपालिकाको स्वास्थ्य संयोजक सन्तोष धामी महालेखा परिक्षण र पालिकालाई आवश्यक पर्ने कोरोना नियन्त्रणको सामाग्री ढुवानीको लागि दुई दिन हिँडेर सदरमुकाम सिमकोट आए । सिमकोट पुग्दा एक्कासी ज्वरो सुरु भयो । पालिकाको सम्पर्क कार्यालय नै पुगेर काम गर्नसमेत पाएनन् ।

पालिकामा संक्रमणको दर बढीरहेको थियो । महामारीको लागि आवश्यक पर्ने सामाग्री तयार गर्नसमेत पाएनन् । ज्वरो उच्च हुँदै गएपछि जिल्ला अस्पतालमा एन्टिजेन परीक्षणपछि कोरोना पोजेटिभ देखियो । दिन प्रतिदिन उनको स्वास्थ्य अवस्था खराब हुँदै गयो । अक्सिजनको मात्रा कम हुँदै जाँदा जिल्लाको सुविधासम्पन्न जिल्ला अस्पतालमा समेत अक्सिजन एक सिलिन्डर भएन ।

उपचारमा कठिनाई हुने देखियो । जिल्ला अस्पतालका चिकित्सकले थप उपचारको लागि अन्य सुविधासम्पन्न अस्पतालमा जान सुझाए । त्यसपछि धामी परिवारलाई समस्या भयो । उता खाद्यान्न र निर्माण सामाग्री मात्रै ढुवानी गर्ने हवाई कम्पनीले विरामी बोक्ने अनुमती पाएका छैनन् । हेलिकोप्टर चार्टर बुक गर्नको लागि आवश्यक पर्ने भयो । चार्र्टडको लागि ९ लाख ५० हजार रुपैयाँ लाग्ने सिम्रिक ईएरले बतायो ।

जिल्ला बाहिर मात्रै उपचार गर्न जानको लागि ९ लाख ५० हजार धामीका परिवारले मात्रै होईन हुम्ली जनताले काठमाडौंबाट विरामी हुँदा नियमित तिर्ने गर्दछन् । पैसाको जोहो कम गराउन गाउँपालिकाले साढे ४ लाख र व्यक्तिगत रुपमा साढे ४ लाख व्यहोरिने भएपछि हेलिकोप्टर हुम्ला जिल्ला अस्पतालको हेलिप्याडमा ल्याण्ड भयो र धामीलाई जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याईयो ।

यो एक प्रतिनिधी उदाहरण मात्र हो । हुम्लाका सामान्य नागरिकले अब कोरोना उपचार गर्नको लागि यति धेरै रकम उपचारको व्यवस्था गर्न सक्ने आर्थिक हैसियत कमैको मात्र रहेको छ । जिल्ला अस्पतालमा भेन्टिलेटर पनि छैन । भएका भेन्टिलेटर पनि काम लाग्ने हालतमा छैनन् । प्रदेश सरकारले भेन्टिलेटर खरिदको लागि केही महिना अगाडि नै ठेक्का दिइसकेको भएता पनि ठेकेदारले सामान जिल्लामा नपुर्याएको जिल्ला अस्पतालका कर्मचारीको भनाइ छ ।

सडक सञ्जालले नछोएको कारण हुम्लाका सिकिस्त विरामी जिल्ला बाहिर जानुपर्ने अवस्थामा यसरी महँगो शुल्क तिर्न हुम्ली बाध्य भएका छन् । सबै हुम्लीले साढे ९ लाख तिर्न नसक्ने अवस्था रहेको स्थानिय छवाङ्ग लामाले बताए । गरिविको रेखा मुनी रहेका नागरिक कोभिडको कारण ज्यान गुमाउनु बाहेक केही उपाय नभएको लामाको भनाई छ ।

स्थानिय सरकार, प्रदेश सरकार र संघीय सरकारले तत्काल केही उपाय नअपनाएमा अझ भयावह हुने स्थीती हुम्लामा रहेको छ । सिकिस्त विरामीलाई यथोचित सुरक्षा अपनाई जिल्ला बाहिर उपचारको लागि जान पहल गरिनु पर्ने स्थानियको भनाई छ । हवाईजहाजबाट सुरक्षा समाग्रीसहित उद्धार गर्न सकिएमा केही सस्तो हुने अवस्था रहेको छ ।

उपचार गर्नको लागि २ वटा अक्सिजन प्लान्ट रहेको भएता पनि यो प्रयाप्त नभएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख प्रेम सिंहले जानकारी गराए । थप २ वटा अक्सिजन प्लान्टको लागि ठेकेदारलाई चाँडो जडान गर्नको लागि ताकेता समेत गरिएको सिंहले बताए । हुम्लामा कोरोना संक्रमणको दर बढिरहेको छ । संक्रमण हुनेको संख्या ५० नाघेको छ । दिन प्रतिदिन संक्रमण समुदाय स्तरमा बढिरहेको छ ।

जिल्लाका स्थानिय तहले खासै चासो देखाएका छैनन् । एन्टिजेन परीक्षणको दायरासमेत बढाएका छैनन् । समुदायमा स्तरमा कोरोना फैलिएको भने हुम्लामा पहिलो पटक हो । जिल्लामा भेन्टिलेटर सञ्चालनको लागि जनशक्ति नभएको कारण अझ थप समस्या हुँदै आएको छ । अक्सिजन प्लान्ट र भेन्टिलेटर सञ्चालनको लागि आवश्यक पर्ने जनशक्ति तत्काल परिपुर्ति गर्नको लागि निर्देशन दिईएको नेपाली कांग्रेस कर्णाली प्रदेशका प्रतिपक्षी दलका नेता जीवन बहादुर शाहीले बताए ।

आवश्यक पर्ने स्थानिय तहमा पनि जनशक्तिको लागि जोड दिईएको पूर्व कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले बताए । ठेकेदारलाई पनि तत्काल अक्सिजन प्लान्ट जडान गर्नको लागि ताकेता भईसकेको रावलले बताए ।

प्रतिक्रिया