चाँगुनारायणमा १०० श्ययाको आइसोलेशन तयार

मध्यपुर थिमी । कोरोना भाइरसको दोस्रो लहरको महामारीले कोरोना संक्रमित बिरामी बढ्दै गएपछि चाँगुनारायण नगरपालिकाले भक्तपुरको दुवाकोटमा रहेको नेपाल इन्जिनीयरिङ कलेजमा १०० श्ययाको आइसोलेशन तयार गरी बिरामी राख्न थालेको छ ।

होम आइसोलेशनमा बस्न नसक्ने कोरोना संक्रमित नगरवासीका लागि नगरपालिकाले सरकारको सहयोगमा १०० श्ययाको आइसोलेशन तयार पारेर कोरोना संक्रमित बिरामीलाई राख्न थालेको नगरप्रमुख सोम मिश्रले जानकारी दिए । आइसोलेशनको लागि श्यया, ओढ्ने, ओछ्याउने, तकिया, तन्ना, साबुन, रुमाल, दन्तमन्जनलगायतका आवश्यक सामानका १०० सेट सरकारले नै उपलब्ध गराएको थियो ।

गत वर्ष कोरोना संक्रमणका बेलामा लकडाउन हुँदा सरकारले उक्त कलेजमा श्यया राखेको थियो । पछि कोरोना कम भएर बिरामी राख्नुपर्ने अवस्था नभएपछि कलेजले श्यया हटाई सामान सबै गोदाममा राखेको थियो ।

यस वर्ष त्यही श्यया विस्तार गरिएको हो । कलेजको आइसोलेशनमा होम आइसोलेशनमा बस्न नसक्ने, अक्सिजन नचाहिने सामान्य बिरामी राखेको छ । आवश्यक परेमा अक्सिजन र स्वास्थ्यकर्मीसहितको टोली खटाइने नगरप्रमुख मिश्रले बताए ।

नगरपालिकाले होम आइसोलेशनमा बस्ने बिरामीका लागि पनि चिकित्सकको व्यवस्था गरेको छ । नगरवासीलाई प्रत्येक दिन साँझ चिकित्सकसँग संक्रमणमा परेका बिरामीले प्रत्यक्ष कुराकानी गर्ने र कस्ता औषधि सेवन गर्ने, होम आइसोलेशनमा बस्दा ध्यान दिनुपर्ने कुरा, सावधानी अपनाउनुपर्ने बारेमा चिकित्सक र बिरामीको कुराकानीसहितको चिकित्सकसँग परामर्श कार्यक्रम नगरपालिकाले सञ्चालन गरेको नगरप्रमुख मिश्रले जानकारी दिए ।

प्रतिक्रिया