सिटिजन्स बैंकमा प्रवक्ता र सूचना अधिकारी नियुक्त

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सूचना अधिकारीमा राजेन्द्रलाल श्रेष्ठ र प्रवक्तामा नारायणराज अधिकारीलाई नियुक्त गरेको छ । करिब २२ वर्षदेखि बैंकिङ क्षेत्रमा कार्यरत राजेन्द्रलाल श्रेष्ठले स्थापनाकालदेखि नै बैंकसँग आबद्ध भई विभिन्न ओहदामा रही कार्य सम्पादन गरेका छन् ।

भारतको पुणेस्थित सिम्बायोसिस इन्स्टिट्युट अफ बिजनेस म्यानेजमेटबाट व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका श्रेष्ठसँग शाखा सञ्चालन, ट्रेड प्रशासन, जोखिम व्यवस्थापन तथा कर्जा असुलीजस्ता क्षेत्रमा अब्बल दक्षता रहेको छ । हाल उनी बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतका साथसाथै कम्पनी सचिवका रूपमा समेत कार्यरत छन् ।

प्रवक्तामा नियुक्त भएका नारायणराज अधिकारीसँग करिब १७ वर्षको बैंकिङ अनुभव रहेको छ । त्रिभुवन विश्व विद्यालयबाट वित्त व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका अधिकारी शाखा सञ्चालन तथा जोखिम व्यवस्थापनमा अब्बल छन् । अधिकारीले सामान्य सेवा विभाग, मानव संसाधन विभाग, कर्जा असुली विभाग, कर्जा प्रशासन र कर्पोरेट कम्युनिकेसन विभागसमेतको जिम्मेवारी वहन गर्दै आएका छन ।

‘भित्र सिस्टम र बाहिर इमेज’को नारालाई आत्मसात् गर्दै कार्यपथमा लम्किरहेका बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले बैंकिङ क्षेत्रमा रहेको उनीहरुको लामो अनुभवले बैंकलाई नयाँ उचाइँमा लैजाने विश्वास व्यक्त गरे । बैकले देशैभरि फैलिएका आफ्ना १ सय ६८ वटा शाखा, १ सय ११ वटा एटीएम र १ सय ९ वटा शाखारहित बैंकिङ एकाइबाट करिब १० लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले नवीनतम प्रविधिको अधिकतम प्रयोग गर्दै ग्राहकको वित्तीय आवश्यकता डिजिटल च्यानलको माध्यमबाट प्रदान गरिरहेको छ ।

बैंकले चेकको प्रयोग नगरी मोबाइल बैंकिङ एपमा लग–इन गरेर काउन्टरमा भएको क्यूआर कोड स्क्यान गरी खाताबाट रकम झिक्न, मोबाइल बैंकिङको पिन नम्बर बिर्सेमा बैंकको शाखामा गएर निवेदन दिने झन्झट नगरी घरबाटै पिन रिसेट गर्न सकिनेजस्ता सेवाको थालनी गरेको छ ।

प्रतिक्रिया