भक्तपुर अस्पतालले पनि अक्सिजन प्लान्ट राख्ने

भादगाउँ । भक्तपुर अस्पतालले पनि अक्सिजन प्लान्ट राख्ने भएको छ । भक्तपुरकै मध्यपुर थिमि नगरपालिकाले सञ्चालन गरेको नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालले अक्सिजन उत्पादन शुरु गरेलगत्तै भक्तपुर अस्पतालले पनि अक्सिजन प्लान्ट राख्ने प्रक्रिया अघि बढाएको हो ।

वाग्मती प्रदेश सरकारको आर्थिक सहयोगमा भक्तपुर अस्पतालमा अक्सिजन प्लान्ट राख्न लागिएको हो । त्यसका लागि प्रदेश सरकारले रु दुई करोड उपलब्ध गराउने निर्णय भएको अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा. सुमित्रा गौतमले जानकारी दिइन् ।

मेसु गौतमका अनुसार जडान गर्न लागिएको प्लान्टले दैनिक चार हजार लिटर अक्सिजन उत्पादन गर्नेछ । ‘युएस कम्पनीको प्लान्ट जडान हुने र यसले दीर्घकालीन रुपमा अक्सिजन आपूर्तिको समस्या केही हदसम्म समाधान हुने अपेक्षा गरेकी छु’, मेसु गौतमले भनिन् ।

भक्तपुर अस्पतालले कोरोना संक्रमितको उपचारमा जिल्लामै अग्रणी भूमिका निर्वाह गर्दै आएको छ । गत वर्ष प्रदेशको उत्कृष्ट अस्पताल हुन सफल सो अस्पतालमा हाल ६५ कोरोना संक्रमितको उपचार भइरहेको छ ।

अक्सिजनको अभावकै कारण कोरोना संक्रमितको उपचारका लागि ७५ श्ययासम्म विस्तार गरिसकेको यो अस्पतालले केही श्यया कटौती गरिसकेको छ । अक्सिजनको अभावलाई न्यूनीकरण गर्न मेसु डा. गौतमले तराईका जिल्लाबाट समेत अक्सिजन ल्याएर बिरामीको उपचार गरिएको बताइन् ।

मेसु डा. गौतमले अस्पतालका आधा दर्जन स्वास्थ्यकर्मीसमेत कोरोना संक्रमित रहेको जानकारी दिँदै यस विषम परिस्थितिमा अस्पताललाई आफ्नै सम्झेर हौसला र सहयोगका लागि आम जनसमुदायसँग अपिलसमेत गरेकी छन् ।

प्रतिक्रिया