भारतमा दैनिक संक्रमण र मृत्युदरमा कमी

नयाँ दिल्ली । कोरोना भाइरस महामारीको दोस्रो लहरबाट संकटमा परेको भारतमा विगत २४ घण्टामा तीन लाख २६ हजार नयाँ संक्रमित भेटिएका छन् । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार विगत २४ घण्टामा थप तीन हजार ८९० जनाको मृत्यु भएको छ ।

भारतमा हालसम्म कोरोनाबाट मृत्यु भएकाको संख्या दुई लाख ६६ हजार २०७ पुगेको मन्त्रालयले जनाएको छ ।। मन्त्रालयका अनुसार कोरोना संक्रमितको कूल संख्या दुई करोड ४३ लाख ७२ हजार पुगेको छ । जसमध्ये दुई करोड चार लाख ३२ हजार व्यक्ति संक्रमणमुक्त भएका छन् ।भारतमा हाल ३६ लाख ७३ हजार व्यक्ति सक्रिय संक्रमित अवस्थामा छन् ।

भारतमा गत जनवरीमा कोभिड–१९ विरुद्धको खोप लगाउन सुरु गरेको थियो । हालसम्म १८ करोड व्यक्तिलाई खोप दिइएको मन्त्रालयले जनाएको छ । गत मे १ देखि भारत सरकारले १८ वर्षभन्दा माथिको उमेरका सबै व्यक्तिलाई खोप दिने योजना अघि सारे पनि पर्याप्त खोप उपलब्ध नहुँदा सहज रुपमा खोप अभियान अघि बढ्न सकेको छैन ।

भारतमा संक्रमित व्यक्तिको संख्या दैनिक तीन लाखभन्दा बढी नै देखिए पनि भारत सरकारले देशव्यापी लकडाउन गर्न अस्वीकार गरेको छ । तर संक्रमित अत्यधिक देखिएका दिल्ली, मुम्बई समेतका शहरमा राज्य सरकारले लकडाउन, प्रतिबन्ध, कफ्र्यु लगाएका छन् । हाल, कोभिडको ठूलै संकट सामना गरिरहेको भारतमा हाल अक्सिजनको आपूर्ति समेतका अत्यावश्यक औषधि र अन्य स्वास्थ्य सेवाको चरम अभाव भएको छ ।

प्रतिक्रिया