डर्टमुन्ड बन्यो जर्मन कप च्याम्पियन

बर्लिन । युवा स्टारद्धय एर्लिङ ब्राउट हालान्ड र जाडोन सान्चोले उच्च प्रदर्शन गरेपछि बोरुसिया डर्टमुन्डले बुन्डेसलिगा प्रतिद्धन्द्धी आरबी लाइप्जिगमाथि सानदार जित निकाल्दै जर्मन कप (डिएफवी पोकल) च्याम्पियन बनेको छ । बर्लिनमा बिहीबार राति भएको खेलमा डर्टमुन्डले लाइप्जिगलाई ४–१ ले पराजित गर्दै च्याम्पियन बनेको हो । डर्टमुन्डलाई च्याम्पियन बनाउन हालान्ड र सान्चो दुवैले समान २–२ गोल गरे । लाइप्जिगका ड्यानियल ओल्मोले एक गोल फर्काए ।

डर्टमुन्ड चार वर्ष जर्मन कपको च्याम्पियन बनेको हो । यसअघि डर्टमुन्ड २०१७ मा च्याम्पियन बनेको थियो । समग्रमा डर्टमुन्डको यो पाँचौ जर्मन कप उपाधि हो । यसअघि डर्टमुन्डले १९६५, १९८९, २०१२ र २०१७ मा उपाधि जितेको थियो । जर्मन कप बायर्न म्युनिखले सर्वाधिक २० पटक जितेको छ ।

खेलको पाँचौ मिनेटमा नै जाडोन सान्चोको गोलबाट डर्टमुन्डले अग्रता लिएको थियो । उनले मामुद दाहुदको पासमा गोल गरेका थिए । २८औं मिनेटमा एर्लिङ ब्राउट हालान्डले कप्तान मार्काे रिउसको पासमा गोल गर्दै डर्टमुन्डको अग्रत दोब्बर पारे । पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा कप्तान रिउसकै पासमा सान्चोले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरेपछि डर्टमुन्ड जिततर्फ अग्रसर बन्यो । ७१औं मिनेटमा ड्यानियल ओल्मोले क्रिस्टोफेर एनकुकुको पासमा गोल गर्दै लाइप्जिगको सम्भावना जीवितै राख्यो । ८७औं मिनेटमा दुई गोल गरिसकेका सान्चोका पासमा हालान्डले व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गर्दै डर्टमुन्डलाई ४–१ को जित दिलाउँदै च्याम्पियन बनाए ।

प्रतिक्रिया