लिभरपुलले म्यानचेस्टरलाई हरायो

लण्डन । एक गोलले पछि परेको स्थिति उल्ट्याउँदै मर्सिसाइड क्लब लिभरपुलले म्यानचेस्टर युनाइटेडलाई उसकै मैदानमा ४–२ को हार चखाएको छ । ओल्ड ट्राफोर्डमा बिहीबार राति भएको खेलमा लिभरपुलको जितमा रोबर्टाे फिर्मिनोले दुई तथा डिएगो जोटा र मोहम्मद सलाहले समान एक गोल गरे । घरेलु टोलीका ब्रुनो फर्नान्डेस र मार्कुस रासफोर्डले गोल फर्काए । खेलको १०औं मिनेटमा ब्रुनो फर्नान्डेसको गोलबाट म्यानचेस्टर युनाइटेडले अग्रता लिएको थियो । उनले आरोन वान विशाखाको पासमा गरेको प्रहार नाथानिल फिलिप्सलाई डिफ्लेक्ट हुदै गोलमा परिणत हुदा गोलरक्षक एलिसन बेकरले बचाउने कुनै मौका नै पाएनन् ।

३४औं मिनेटमा डिएगो जोटाले नाथानिल फिलिप्सको पासमा ब्याकहिलमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा ब्राजिली फरवार्ड रोबर्टाे फिर्मिनोले ट्रेन्ट एलेक्सान्डर अर्नाेल्डको फ्रिकिकमा हेडमार्फत गोल गर्दै लिभरपुललाई खेलमा २–१ को अग्रता दिलाए । दोस्रो हाफको सुरुमै ४७औं मिनेटमा फिर्मिनोले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै लिभरपुललाई ३–१ ले अघि बढाए । ट्रेन्ट एलेक्सान्डर अर्नाेल्डको प्रहार डिन हेन्डरसनले नियन्त्रणमा लिन नसकेको बललाई रिवाउन्डमा फिर्मिनोले जाली चुमाएका थिए ।

६८औं मिनेटमा मार्कुस रासफोर्डले इडिन्सन काभानीको पासमा गोल गर्दै खेललाई ३–२ को अवस्थामा ल्याए । तर खेलको अन्तिम समयमा मोहम्मद सलाहले कर्टिस जोन्सको पासमा गोल गर्दै लिभरपुललाई ४–२ को जित दिलाए । लिभरपुलले ओल्ड ट्राफोर्डमा म्यानचेस्टरलाई पहिलोपटक पराजित गरेको हो । यसअघि लिभरपुलले ओल्ड ट्राफोर्डमा १५ खेल खेल्दा चार बराबरी खेल्दा ११ हारको नतिजा निकालेको थियो । जितपछि लिभरपुलले प्रिमियर लिगको शीर्ष चारमा पुग्ने सम्भावना जीवित राखेको छ । लिभरपुल शीर्ष चारको चेल्सीभन्दा ४ अंकले पछि छ । एक खेल कम खेलेको लिभरपुल ३५ खेलबाट ६० अंक जोडेर पाँचौ स्थानमा रहेको छ । चेल्सीको ६४ तथा लेस्टर सिटीको ६६ अंक छ । पराजित म्यानचेस्टर युनाइटेड ७० अंक जोडेर दोस्रो स्थानमा यथावत छ ।

प्रतिक्रिया