एनएसएलको फाइनलमा काठमाडौं र धनगढी

काठमाडौं । नेपाल सुपर लिगको पहिलो संस्करणको उपाधिका लागि शनिबार धनगढी फुटबल क्लब र काठमाडौं रेजर्स फुटबल क्लबबीच प्रतिस्पर्धा हुँदैछ । खेल दशरथ रंगशालामा साँझ ५ः३० बजे सुरु हुन्छ । काठमाडौं र धनगढीबीच पहिलो संस्करणमा नै तेस्रो पटक भिडन्त हुन लागेको हो । यसअघि दुवै खेलमा धनगढी विजयी भएको थियो । दुवै टोलीका कप्तान एवं प्रशिक्षकले फाइनलको पूर्वसन्ध्यामा खेलबारे आफ्नो धारणा प्रस्तुत गरेका छन् ।

तोपे फुजा (प्रशिक्षक – धनगढी एफसी)
हामीले काठमाडौंलाई लिग र प्ले अफमा गरी दुईपटक हराइसकेका छौं । तर फाइनललाई लिएर सचेत छौं, हामी विपक्षीलाई सम्मान दिएर खेल्नेछौं । विपक्षीलाई कमजोर नठानी आफ्नो गेम खेल्दै च्याम्पियन बन्नेछौं । केही खेलाडी घाइते भएपनि रिकभरीमा छन् । आशा छ उनीहरु फर्कनेछन् ।

किरण चेम्जोङ (कप्तान – धनगढी)
फाइनल यात्राको बारेमा भन्नुपर्दा सुरुवाती खेल गुमाएपनि त्यसपछि लगातार जित निकाल्दै प्ले अफमा पुग्न सफल भएका छौं । काठमाडौंसँग हाम्रो तेस्रो भेट हुनेछ । सबै खेलहरु सुपर थिए । कुनै खेल सहज थिएन । यसअघि खेल जितेपनि लिगमा भन्दा सेमिफाइनल र फाइनलमा बढी प्रतिस्पर्धा हुनेछ ।

काठमाडौं रेजर्स राम्रो टोली हो । भोलिको खेल पनि रोमाञ्चक र प्रतिस्पर्धात्मक हुनेछ । कप्तानको रुपमा मलाई राष्ट्रिय टोली र क्लबबाट जित्दाको महत्व उस्तै हुन्छ । राष्ट्र र आफुले खेलेको क्लब मेरो लागि बराबरी नै हो । कप्तानीको रुपमा क्लबबाट उपाधि जित्ने मौका आएको छ । आशा छ यसमा पनि जित हाम्रो नै हुनेछ ।

बालगोपाल महर्जन (प्रशिक्षक – काठमाडौं)
काठमाडौंमै भइरहेको लिगमा काठमाडौं रेजर्स फाइनलमा पुगेको छ । कोभिड महामारीले देशमा निषेधाज्ञा तथा लकडाउन र ठप्प भइरहेको अवस्थामा लिग उदाहारणको रुपमा भइरहेको छ । अहिलेको अवस्था घरमै बस्नु, हिडडुल गर्न नहुने अवस्थामा छ । यसपाली ट्रफी पनि घर बाहिर जान नदिई घरमै राख्ने हिसावले खेल्नेछौं ।

रह्यो कुरा लिग र प्ले अफमा हामी पराजित भयौं । त्यसको कमी कमजोरीलाई मध्यनजर गर्दै खेल्नेछौं । फेरि धनगढीसँग खेल्ने अवसर आएको छ । हार्ने मानसिकताले खेल्ने छैनौं । यो अवसरलाई गुमाउने छैनौ । आशा छ यो ट्रफी भ्यालीमै राख्नेछौं । आरामको समय कम हुँदा खेलमा पक्कै असर पारेक छ । भोलिको खेल भनेको फाइनल खेल हो । केही खेलाडीहरु घाइते छन् । उनीहरु रिकभरीको अवस्थामा छन् । केही खेलाडी नखेल्न सक्छन् । तर उनीहरुको स्थान लिन सक्ने बेञ्च हामीसँग छ ।

विकेश कुथु (कप्तान – काठमाडौं)
जसरी एनएसल सुरु हुने कुरा थियो । हामी सबै खेलाडी उत्साहित थियौ । यो सम्भव भयो । त्यसको लागि एनएसएल टिम, सरकारलगायत सबैलाई धन्यवाद । हामी खेलाडीले एउटा राम्रो अवसर पायौं । लिगमा धेरै उतारचढाव आएको जित, बराबरी र हारको नतिजा निकाल्यौं । यसबाट पठ सिक्दै फाइनलसम्म आइपुगेका छौं ।

उपाधि जित्ने हिसाबले नै खेल्नेछौं । धनगढीसँगको दुई हारले पाठ सिकेको सुधार्दै खेल्नेछौं । कप्तानको रुपमा पहिलो प्रतियोगिता अझै दर्शक भएको भए राम्रो हुने । त्यै पनि राम्रो भइरहेको छ । कप्तान रुपमा पहिलो उपाधि नजिक पुगेका छौं । आशा छ नतिजा सकरात्मक नै हुनेछ । व्यक्तिगत रुपमा पनि पहिलो कप्तानी अनुभव भएकाले सुखद अन्त्य गर्ने लक्ष्य छ ।

प्रतिक्रिया