कोरोना संक्रमणको तिब्रता : वैशाखमा मात्रै डेढ लाख थपिए

काठमाडौं । वैशाखमा मात्रै नेपालमा कोरोना भाइरसबाट डेढ लाखभन्दा बढी व्यक्ति संक्रमित भएका छन् । वैशाख १ गतेसम्म कोरोना संक्रमितको संख्या तीन लाख सात हजार ९ सय २५ थियो । सो संख्या बढेर शुक्रबार चार लाख ३९ हजार ६ सय ५८ पुगेको छ । एक महिनाको अवधिमा मात्रै एक लाख ५८ हजार ७१ कोरोना संक्रमित थपिएका छन् । वैशाख १ गते एकैदिन कोरोनाबाट ६ सय ३ जना संक्रमित भएकामा ३१ गते एकैदिन संक्रमितको संख्या आठ हजार ५ सय २० पुगेको छ ।

योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमितको संख चार लाख ३९ हजार ६ सय ५८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा २० हजार ९ सय ४८ जनाको पिसिआर परीक्षण तथा ५ सय ३० जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो । वैशाख १ गतेसम्म पिसिआर परीक्षण गराउनेको संख्या २२ लाख ३६ हजार ५ सय २६ जना थियो भने आज सो संख्या बढेर २७ लाख ३३ हजार ५ सय १० पुगेको छ ।

वैशाखमा मात्रै चार लाख ९६ हजार ९८४ जनाको पिसिआर परीक्षण गरिएको छ । वैशाख महिनामा कोरोनाबाट निको हुनेको संख्या ४९ हजार ४७ रहेको छ । कोरोना भाइरसबाट आजसम्म मुक्त हुनेको संख्या तीन लाख २७ हजार ६ सय ५३ पुगेको छ । उक्त संख्या वैशाख १ गते दुई लाख ७८ हजार ५ सय ६ रहेको थियो । पछिल्लो २४ घण्टामा देशभर छ हजार १ सय ३५ संक्रमित निको भएर घर फर्किएका छन् । सक्रिय संक्रमितको संख्या देशभर ह्वात्तै बढेको छ । वैशाख १ गते सक्रिय संक्रमित चार हजार ५६ जना रहेकामा हाल उक्त संख्या बढेर एक लाख सात हजार ३ सय ३६ पुगेको मन्त्रालयले जनाएको छ ।

हाल देशभर एक हजार ७ सय ५ संक्रमितको आइसियु र भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ । एक हजार ३ सय ३४ संक्रमितको आइसियुमा तथा ३७१ संक्रमितको भेन्टिलेटरमा राखी उपचार भइरहेको छ । सबैभन्दा बढी वाग्मती प्रदेशमा ५ सय ४२ संक्रमित आइसियुमा तथा २ सय २० संक्रमित भेन्टिलेटरमा छन् । काठमाडौँ उपत्यकामा मात्रै १ सय ८५ संक्रमितको आइसियुमा तथा १ सय ५ संक्रमितको भेन्टिलेटरमा राखी उपचार भइरहेको छ ।

काठमाडौँ उपत्यकामा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । वैशाख १ गते उपत्यकामा संक्रमितको संख्या २ सय ५४ रहेको थियो । सो संख्या हाल बढेर तीन हजार ३ सय ४९ पुगेको छ । पछिल्लो २४ घण्टामा काठमाडौँमा दुई हजार ४ सय ५८, ललितपुरमा ५ सय ५६ तथा भक्तपुरमा ३ सय ३५ संक्रमित थपिएको मन्त्रालयले जनाएको छ । वैशाखमा एक हजार ६ सय ८ जनाले ज्यान गुमाए वैशाखमा मात्रै कोरोनाबाट एक हजार ६ सय ८ जनाले ज्यान गुमाएका छन् । वैशाख १ गतेसम्म कोरोनाबाट तीन हजार ६१ को मृत्यु भएकामा शुक्रबार सो संख्या बढेर चार हजार ६ सय ६९ पुगेको छ । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसको संक्रमणबाट २ सय ३ ले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ । वैशाख १ गते तीन संक्रमितको मृत्यु भएको थियो । वैशाख १४ गते एकैदिन १८ जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया