५० हजार भन्दा तलको रकम जम्मा गर्न बैंक नआउन आग्रह

काठमाडौं । कोरोना संक्रमण तीव्र रुपमा फैलिएपछि डेभलपमेण्ट बैंक एशोसियसन नेपालले आफ्ना सेवाग्राहीलाई साना निक्षेपहरु लिएर बैंकमा नआउन आग्रह गरेको छ । एशोसियसनले ५० हजार भन्दा तलको रकम जम्मा गर्न बैंक नआउन आग्रह गरेको हो । एशोसियसनले अक्सिजन, आइसीयु, भेन्टिलेटर र अस्पतालमा उपचारका लागि बेड नपाउने अवस्था रहेको भन्दै अधिकतमरुपमा डिजिटल बैंकिङको प्रयोग गर्न भनेको छ ।

कोभिड -१९ का कारण आफू सुरक्षित भई ग्राहकलाई पनि सुरक्षित बनाउदै बैैकिङ सेवा प्रदान गर्न बैंक तथा वित्तीय संस्थालाई चुनौतीपूर्ण अवस्था रहेको एशोसियसनको भनाई छ । एशोसियनले डेभलपमेण्ट बैंकका हकमा बैशाख १९ गते दिएको निर्देशनमा केही थप गरेको छ । एशोसियसनले ग्राहक र कर्मचारीको सुरक्षाका लागि उपलब्ध र संभव भएसम्मका सावधानीको उपाय अवलम्बन गर्ने , प्रधान कार्यालयका कर्मचारीलाई अत्यावश्यक बाहेकका कामका लागि कार्यालयमा नबोलाउने निर्देशन थप गरेको छ ।

यस्तै संभव भएसम्म डिजिटल बैंकिङ् सुविधाको प्रयोग गर्ने, साना निक्षेप जम्मा गर्न बैंकमा नआउन अनुरोध गर्ने र नेपाल राष्ट्र बैंक, सम्बन्धित जिल्ला प्रशासन/नेपाल सरकारले दिएको निर्देशन कडाईका साथ पालना गर्ने लगायतका निर्देशन पनि थप गरिएको एशोसियसनले जनाएको छ ।

प्रतिक्रिया