भर्चुअल माध्यममा ‘मितज्यू’

काठमाडौं । मण्डला थिएटर नेपालले पहिलोपटक आफ्नो पूर्णांकी नाटकलाई डिजिटल माध्यमबाट सार्वजनिक गर्न लागेको छ । सोमनाथ खनालद्वारा लिखित तथा दयाहाङ राईद्वारा निर्देशित नाटक ‘मितज्यू’ लाई मण्डलाले आफ्नो आधिकारिक युट्युव च्यानलमार्फत रिलिज गर्न लागेको हो । नाटकमा दुईजना वृद्धले आफ्नो किशोरवयतिर फर्केर हेर्दा देखिने ‘फ्लासब्याक’ कथालाई उधिनिएको छ । नेपाली संस्कृतिमा लोकप्रिय मानिने मितेरी साइनोअन्र्तगत एक जोडा मितको कथा नाटकमा प्रस्तुत गरिएको छ । मितेरी साइनोसँगै उनीहरुका अन्य सम्बन्ध, तिनका उतारचढाव र तिनीहरुले दुई मितको जीवनमा पारेको प्रभावलाई नाटकको घटनाक्रममा देखाइएको छ । पञ्चायतकालीन नेपालको पूर्वीभेगको कथालाई नाटकमा दुई वृद्धको स्मृतिमार्फत वर्तमान समयमा भनिएको यो नाटकमा ‘फेन्टासी’ को भरपूर उपयोग गरिएको छ । तर, फेन्टासीसँगै दुई वृद्धको जीवनदर्शन पनि समेटिएको छ ।

सात वर्षअघि मण्डला थिएटर नेपालको सातौं प्रस्तुतिको रुपमा मण्डला नाटकघरमा मञ्चन गरिएको नाटक ‘मितज्यू’ लाई डिजिटल प्लेटफर्मबाट सार्वजनिक गर्ने भएपछि पुनर्लेखन तथा परिकल्पना गरी आंशिक पुरानै र अधिकांश नयाँ कलाकारका साथ पूर्वाभ्यास तथा पुनः उत्पादन गरेर छायांकन गरिएको हो । नाटकको छायांकन चैत महिनाको अन्तिम साता गरिएको थियो । नाटकमा बुद्धि तामाङ, विजय बराल, सिर्जना सुब्बा, उमेश तामाङ, विकास जोशी, किरण चाम्लिङ, अंकित खड्का, अनुप न्यौपाने लगायतका कलाकारको मुख्य भूमिका छ । राजन खतिवडाको मञ्च परिकल्पना रहेको नाटकलाई शैलेन्द्रध्वज कार्कीले खिचेका छन् भने नाटकमा बेनुका राईको संगीत रहेको छ । नाटक निर्माण तथा छायांकनमा ५० भन्दा बढी रंगकर्मी तथा प्राविधिकको संलग्नता रहेको मण्डलाले जनाएको छ ।

नाटकको शुक्रबार साँझ ५ बजे प्रिमियर गरिने भएको छ । प्रिमियरपश्चात् अनलाइन एप्लिकेसन जुममार्फत नाटक तथा रंगमञ्चको वर्तमान सन्दर्भमाथि अन्तत्र्रिmया गरिनेछ । अन्तत्र्रिmयालाई मण्डलाले आफ्नो फेसबुकमार्फत प्रत्यक्ष प्रसारण गर्ने जानकारी दिएको छ ।

प्रतिक्रिया