रोनाल्डोको सय गोलको कीर्तिमान

लण्डन । पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डोले इतिहास रचेको खेलमा इटालियन सिरी ए अन्तर्गत युभेन्टसले सहज जित दर्ता गरेको छ । सासुओलोविरुद्ध खेलमा गोल गर्दै रोनाल्डोले युभेन्टसका लागि १ सय गोल पूरा गरे । रोनाल्डोले यो उपलब्धि हासिल गर्न सबैभन्दा कम खेल खेलेका हुन् । उनले पहिलो हाफमा नै गोल गर्दै टोलीको अग्रता दोब्बर पारेका थिए । उनले १ सय गोल पूरा गर्न युभेन्टसको जर्सीमा १ सय ३१ खेल खेले । उनी तीन सिजनभन्दा कम समयमा यो उपलब्धि हासिल गर्ने पहिलो खेलाडी समेत बने ।

यसअघि युभेन्टसबाट १ सय गोल पूरा गर्न ओमार सिभोरी र रोबर्टो बाजियोले ५ सिजन लगाएका थिए । सन् २०१८–१९ मा स्पेनिस क्लब रियल म्याड्रिडबाट आएका रोनाल्डोले तेस्रो सिजनमा नै यो उपाधि हासिल गरेका हुन् । यससँगै रोनाल्डो तीन फरक क्लब र राष्ट्रिय टोलीबाट १ सय गोल पूरा गर्ने पहिलो खेलाडी बनेका छन् । रोनाल्डोले यसअघि म्यानचेस्टर युनाइटेड र रियल म्याड्रिडका लागि पनि १ सय गोलको आँकडा पार गरिसकेका छन् ।

रोनाल्डोसँगै अर्जेन्टिनी स्टार पाउलो डिबालाले पनि सासुओलोविरुद्ध नै क्लबका लागि १ सय गोल पूरा गरे । उनी क्लबका लागि यो उपलब्धि हासिल गर्ने युरोपबाहिरका पहिलो खेलाडी पनि हुन् । युभेन्टसले खेलमा भने सासुओलोलाई ३–१ ले पराजित गर्यो । २८ औं मिनेटमा एड्रीएन राबिओटको गोलमा अघि बढेको युभेन्टसले अन्तिम मिनेटमा रोनाल्डोको गोलमा अग्रता दोब्बर पारेको थियो । दोस्रो हाफको ५९ औं मिनेटमा जियाकोमो रास्पदोरीले एक गोल फर्काएपनि डिबालाले ६६ औं मिनेटमा गोल गर्दै जित पक्का गरेका थिए ।

जितका बाबजुद युभेन्टस अंक तालिकाको पाँचौ स्थानमा नै कायम छ । टोलीको ३६ खेलमा ७२ अंक छ । च्याम्पियन्स लिगको दौडमा रहेका अन्य क्लबले पनि जित हासिल गर्दा युभेन्टसले माथि उक्लन सकेन । एटलान्टा र एसी मिलानको समान ७५–७५ अंक तथा नेपोलीको ७३ अंक रहेको छ ।

प्रतिक्रिया