पीएसजी फ्रेन्च कपको फाइनलमा

पेरिस । पेनाल्टी सुटआउटमा जित निकाल्दै पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च कप (कप डि फ्रान्स) को फाइनलमा प्रवेश गरेको छ । पीएसजीले लिग वान प्रतिद्धन्द्धी मोन्टपेलिएरलाई पेनाल्टी सुटआउटमा ६–५ ले हराउँदै फाइनलमा पुग्न सफल भएको हो । निर्धारित समयमा २–२ गोलको बराबरी भएपछि सिधै भएको पेनाल्टी सुटआउटमा पीएसजीले बाजी मारेको हो । पेनल्टीमा पीएसजीका एन्जल डि मारिया, जुलियन ड्राक्सलर, लियान्द्रो ड्यानियल पारेडेस, मार्किन्हस, नेयमार र मोइस किनले गोल गरे ।

मोन्टपेलिएरका तेजी साभिनिएर, एन्डी डिलर्ट, स्टेफी माभीडिडि, मिहाइलो रिस्टिक र गाइटान लाबोर्डेले गोल गर्दा जुनियर साम्वियाले अन्तिम पेनाल्टी चुकाएका थिए । त्यसअघि मोन्टपेलिएरमा बुधबार राति भएको खेलमा केलियन एमबाप्पेको गोलबाट खेलमा दुईपटक अग्रता लिएर पनि त्यसलाई जोगाउन नसक्दा खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो । १०औं मिनेटमा एमबाप्पेको गोलबाट पीएसजीले अग्रता लिएको थियो । उनले इड्रिसा गाना गुआइको पासमा गोल गरेका थिए ।

४५औं मिनेटमा गाइटान लाबोर्डेले जोर्डन फेरीको पासमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । ५०औं मिनेटमा एमबाप्पेले व्यक्तिगत दोस्रो तथा टोलीका लागि दोस्रो गोल गर्दै पीएसजीलाई खेलमा पुनः अग्रता दिलाए । ८३औं मिनेटमा एन्डी डिलर्टले गाइटान लाबोर्डेको पासमा गोल गर्दै खेललाई पेनाल्टी सुटआउटमा धकेले । अब पीएसजीले उपाधिका लागि मोनाको र जिएफए रुमिलली भाल्लीरेससँग १९ मेमा प्रतिस्पर्धा गर्नेछ । यि दुई टोलीले आज राति प्रतिस्पर्धा गर्दैछ ।

प्रतिक्रिया