मानव सेवा आश्रमको सहारा

अस्पतालको शय्यामा लम्पसार परेका छन् उनी । चोट लागेको खुट्टामा मलहम पट्टी गरिएको छ । एउटा खुट्टा राम्ररी चल्दैन, हिँड्न सहारा चाहिन्छ । उनी करिब ३० वर्षीया महिला हुन् । आफ्ना नाम, ठेगानासम्म भन्न जान्दिनन् उनी । बडो कष्टसाथ केही भन्न खोज्छिन्, बोली नै निक्लदैन । सँगै रहेको अरूहरूले सोध्छन्, उनी सोध्नेको अनुहार मात्र पढ्न खोज्छिन्, मुखबाट वाक्य निस्कँदैन । सँगै छेउको शय्यामा अर्की १५ वर्षीया वौद्धिक अपांग बालिका छिन्, हँसिली र फरासिली । अस्पतालको सुरक्षा गार्डलाई देखेपछि निरन्तर सलाम ठोकिरहन्छिन् र मुस्काउँछिन् । आफ्नो नाम कविताकुमारी सदाबाहेक अरू केही लेख्न जान्दिनन् उनी । केही बोल्न खोज्छिन्, तर आवाज आउँदैन । हावामा औँला घुमाएर लेखेझँै गरेर बताउँछिन्, तर उनको त्यो हावामा औँला घुमाइको अर्थ अरूले बुझ्दैनन् । उनको हाउभाव ट्वाल्ल हेर्न सिवाय केही गर्न सक्दैनन अरू नाम नखुलेकी महिलालाई यही वैशाख ११ गते र कवितालाई वैशाख १५ गते सप्तरीको राजविराजस्थित छिन्नमस्ता अस्पताल ल्याइएको हो । सडकमा घाइते अवस्थामा फेला परेका उनीहरू दुबैलाई इलाका प्रहरी कार्यालय कल्याणपुर, सप्तरीका प्रहरी निरीक्षक धर्मराज मुडभरीले उपचारार्थ ल्याएको अस्पतालका व्यवस्थापक दीपेन्द्र यादवले बताए । उनीहरूलाई आकस्मिक कक्षको उपाचारपश्चात अरू बिरामीभन्दा अलग्गै एउटा कोठामा राखिएको छ । कुरुवाको आँखा छलेर कहिले छतमाथि पुग्छन् त कहिले मौका छोपेर बाहिर भाग्न खोज्छन् दुबैजना ।

प्रहरीले घाइते अवस्थामा अस्पतालमा उपचारार्थ भर्ना गरेपछि उनीहरूकोे पहिचानका लागि अस्पतालले जिल्ला प्रहरी कार्यालयलाई जानकारी गराउँदै सहयोग माग्यो । प्रहरीले खोजतलासका लागि मातहत र अन्य जिल्लामा पत्राचार गरे पनि हालसम्म केही पत्तो लाग्न सकेको छैन । प्रहरीले छाडेर गएपछि उनीहरू यहाँ बेवारिसे भए पनि आफूहरूले अभिभावकत्वमा कमी हुन नदिएको र उपचार गरेको अस्पतालका सञ्चालक समितिका अध्यक्ष शैलेन्द्रमोहन झाले बताए । करिब दुई साताको उपचारपछि घाइतेहरू हाल निको भएका छन् । अस्पतालले उपचार गरेर ठीक बनाए पनि लालनपालन गर्ने व्यक्ति वा संस्थाको खाँचो भएपछि इन्सेक प्रतिनिधि मनोहर पोखरेललाई आग्रह गरिएको अस्पताल सञ्चालक समितिकी उपाध्यक्ष करुणा झाले बताए ।

बिरामी ठीक भए पनि बेवारिसे बनेकाले केही गर्न सकिन्छ कि भनेर इन्सेक प्रतिनिधि पोखरेलले मानव सेवा आश्रम, राजविराज नगरपालिका र प्रहरीसँग समन्वय गरेर सर्लाहीको हरिवन नयाँ रोडस्थित मानव सेवा आश्रम पठाएको अस्पतालका व्यवस्थापक दीपेन्द्र यादवले बताए । खुल्ला आकाशमुनि बेवारिसे जीवन बिताइरहेका असहाय एवं मनोरोगीका लागि मानव सेवा आश्रम भरपर्दो सहारा बन्दै आएको छ । सर्लाहीको हरिवन नयाँरोडस्थित मानव सेवा आश्रमले सडकमा लामो समयदेखि कष्टकर जीवन बिताउँदै आएका मानिसहरूलाई उद्धार गरी गाँस, वास र कपासको व्यवस्थासहित न्यानो पारिवारिक वातावरण दिन थालेको साढे चार महिना भयो ।

सडक एवं सार्वजनिक स्थलमा कहालीलाग्दो जीवन बिताउँदै आएका अनाथ, अशक्त, असहाय एवं मनोरोगीको उद्धार गरी उनीहरूकोे उपचार, पालनपोषण र स्याहार गर्दै पारिवारिक पुनर्मिलन गराउन थालिएको उक्त आश्रमकी संयोजक मनिषा केसीले बताइन् । यसअघि पनि सप्तरी, सिरहा, सर्लाही, महोत्तरीका ६० जनालाई उद्धार गरी गत पुस १२ गतेबाट सञ्चालन गरिएको आश्रममा अहिले एक बालिका, १६ महिला र ४३ जना पुरुष छन् ।

विभिन्न स्थानबाट उद्धार गरिएका समाजका अनाथ, अपांग, अशक्त, असहाय एवं मनोरोगीको उद्धार, उपचार, पालनपोषण, संरक्षण तथा पारिवारिक पुनर्मिलनको माध्यमबाट नेपाललाई सडक मानव मुक्त गर्ने लक्ष्यका साथ संस्थाले काम गरिरहेको सर्लाही शाखाकी संयोजक केसीले बताइन् । रोग र भोगको समस्याले सडकमा अलपत्र परेका नागरिकलाई आश्रम आश्रय स्थल बनेको छ । विभिन्न संघ–संस्था, स्थानीय तहलगायत जन्मोत्सव, विवाह वर्षगाँठ, पूण्यतिथि लगायतका विभिन्न अवसरहरूमा प्राप्त हुने सहयोगले आश्रम सञ्चालन हुँदै आएको सञ्चालक बताउँछन् । भर्खरै सञ्चालनमा आएकाले आश्रममा खानाको समस्या नभए पनि लत्ताकपडा, उपचारमा भने कठिनाइ हुने गरेको छ ।

पछिल्लो समय प्रदेश–२ मा समेत आश्रमहरू सञ्चालन भएसँगै सडकका मुख्य बजार र राजमार्गमा असहाय एवं मनोरोगीको संख्यामा कमी आएको बताउँछन्, सप्तरीका प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धमला उनका अनुसरा सडकमा बेवारिसे अवस्थामा रहने ती व्यक्तिका कारण हुने दुर्घटनामा समेत कमी आएको छ । वैदेशिक दातृ राष्ट्रको सर्तसहितको सहयोग नलिई मुठ्ठीदानबाट सञ्चालन गर्ने लक्ष्यका साथ मानवताका लागि सञ्चालन हुँदै आएको यस आश्रमलाई अहिले स्थानीय र प्रदेश सरकारको महत्वपूर्ण सहयोग आवश्यक रहेको आश्रमका उपाध्यक्ष धर्मप्रसाद पौडेलले बताए ।

प्रतिक्रिया