कहाँ चुक्यो सरकार ?

कोरोना संक्रमितको वृद्धिदर एक सातादेखि दैनिक नौ हजारको हाराहारीमा रहेको छ । तर, दैनिक ५० को हाराहारीमा रहेको मृत्युदर भने एकैचोटी २ सय २५ सम्म पुग्यो । जब अक्सिजनको अभाव भयो तब मृत्युदर पनि ह्वात्तै बढ्यो । आधाजसो बिरामीको मृत्युको मुख्य कारण अक्सिजनको अभाव हो भन्ने प्रष्ट भएको छ । यो तथ्यलाई सरकारले पनि स्वीकार गरेको छ । अक्सिजनको मात्रै समुचित व्यवस्था गर्न सकिएको भए हालसम्म दैनिक मृत्युदर सय ननाघ्ने रहेछ भन्ने कुरा तथ्यले नै पुष्टि गरिसकेको छ । उत्पादनभन्दा माग बढी भएका कारण अक्सिजनको अभाव भएको हो भन्ने जिकिर सरकारको छ । सरकारको यो जिकिर गलत होइन, तर मागको तुलनामा उत्पादनको व्यवस्था गर्न नसक्नु सरकारको ठूलो कमजोरी हो । कोरोना संक्रमण एक्कासि बढेको होइन, अक्सिजनको माग पनि एक्कासि बढेको होइन । सामान्यतया महामारीका संकटहरू पूर्वसूचना दिएर आएका हुँदैनन्, तर नेपालमा कोरोना माहमारी पूर्वसूचना दिएरै आएको हो ।

एक वर्षअघि महामारीको पहिलो लहर सुरु हुनुभन्दा करिब तीन महिनाअघि नै पूर्वसूचना प्राप्त भएको थियो । त्यतिबेला भारतमा खतराको घण्टी बजिसकेको एक महिनापछि नेपालमा खतराको घण्टी बजेको थियो । पहिलो अनुभव भएका कारण त्यतिबेला व्यवस्थापनमा कमी कमजोरी हुनु स्वभाविकै थियो । त्यसका बाबजुद पहिलो लहरले खासै ठूलो नोक्सानी पुर्याएन । गत फागुनदेखि छिमेकी भारतमा दोस्रो लहर सुरु भयो । पहिलेको तुलनामा निकै खतरनाक मानिएको दोस्रो लहरले भारतमा चैतको पहिलो सातादेखि नै तहल्का मच्चायो । अक्सिजनको अभावमा धमाधम ज्यान जान थालेको समाचार आयो ।

भारतमा काम गर्ने मानिसहरू धमाधम नेपाल फर्कन थाले । अब कम्तिमा एक महिनाभित्र नेपालमा पनि भारतको जस्तै महामारी हुने प्रक्षेपण स्वास्थ्यमन्त्री स्वयंले गरे । हुन पनि वैशाखको सुरुदेखि नै वृद्धिदरले द्रुतगति लिन थाल्यो । वैशाखको तेस्रो सातासम्ममा त अस्पतालका सबै बेडहरू भरिए । नया“ बिरामीले बेड नपाउने अवस्था उत्पन्न भयो । बेड पाएका बिरामीहरूले पनि अक्सिजनको अभावमा ज्यान गुमाउन थाले ।
कोरानाका बिरामीका निम्ति सबैभन्दा पहिलो आवश्यकता अक्सिजन हो भन्ने जानकारी हुँदाहुँदै, भारतमा अक्सिजनको अभावमा बिरामीहरू धमाधम मर्न थालेको देख्दादेख्दै सरकार उदासीन बन्यो । भारतबाट अक्सिजन आयात हुन सक्दैन भन्ने सुनिश्चित भएको एक महिनासम्म नेपालमा महामारी सुरु भएकै थिएन । त्यो अवधिमा सरकारले अक्सिजन उत्पादन तथा आपूर्तिका लागि विशेष व्यवस्था गर्नुपथ्र्यो । जेठको पहिलो सातासम्ममा दैनिक ११ हजार संक्रमित थपिने घोषणा गरेको सरकारले ती थपिएका मध्ये कति जनालाई अक्सिजन चाहिएला ? भन्ने अनुमान गर्न नसक्ने कुरै थिएन । नेपालभित्र कति उत्पादन हुन्छ ?,

सिलिन्डरहरूको संख्या कति छ ? भन्ने विश्लेषण गरेर तत्काल विकल्पको खोजी गर्नुपथ्र्यो । नेपालजस्तो थोरै जनसंख्या भएको सानो मुलुकका लागि अक्सिजनजस्तो बस्तु सहयोग गर्न धेरै मित्रराष्ट्रहरू तयार थिए । छिमेकीमुलुक चीन स्वयं तयार थियो । तर, समय छँदै सरकारले चासो दिएन । सरकारले जुन बेला चीनलाई गुहारेको थियो, त्यो बेलासम्म परिस्थिति जटिल बनिसकेको थियो । प्रारम्भिक सहयोग स्वरूप चीनले २० हजार वटा अक्सिजन सिलिन्डर उपलव्ध गराउने वचन दियो । चीनले वचन दिएको १५ दिन बितिसक्दा पनि अहिलेसम्म चार सय वटा मात्रै सिलिन्डर ल्याइएको छ । सबै सिलिन्डर ल्याउन अझै डेढ महिना लाग्ने स्वास्थ्य मन्त्रालयका प्रवक्ताको भनाइ छ । आपैmँ ल्याउन नसके ढुवानीका लागि पनि चीनसँग गुहार माग्न सकिन्थो । यस्तो संकटका बेला गुहार माग्न के को लाज ? कोरोना नियन्त्रणका लागि चीनसँग जति अनुभव छ त्यति अनुभव विश्वका कुनै मुलुकहरूसँग पनि छैन । यता निजी क्षेत्रलाई अस्पताल खोल्न दिने तर अस्पतालका लागि अत्यावश्यक पूर्वाधार अक्सिजन प्लान्ट बनाएका छन् कि छैनन्, अनुगमन नै नगर्ने गम्भीर गल्ती अहिलेसम्म भएको रहेछ । यदि, सरकारी अस्पतालमा जस्तै निजी अस्पतालमा पनि अक्सिजन प्लान्ट भएको भए अहिले यतिविधि संकट नपर्ने रहेछ ।

प्रतिक्रिया