संक्रमित घरघरमा, आइसोलेसन रित्तै

भारतसँग सीमा जोडिएको बैतडी जिल्लामा पनि देशका अन्य जिल्लामा जस्तै कोरोना संक्रमणको दोस्रो लहर फैलँदै गएको छ । प्रतिदिन संक्रमित बढिरहे पनि स्वास्थ्य क्षेत्रको प्रबन्ध मिलाउन सम्बन्धित निकायले सकेको छैन । समुदायस्तरमै संक्रमण फैलँदै गएको छ । बाहिर घुम्न कतै नगएका र घरमै बसिरहेका व्यक्तिमा समेत संक्रमण देखिन थालेकोे स्वास्थ्य अधिकारीले बताए । यसकारण पनि यस जिल्लामा संक्रमण समुदायस्तरमै पुगेको देखिएको छ । संक्रमण पुष्टि भएकामध्ये ९० प्रतिशतभन्दा बढी नागरिक घरमै बसेका छन् । होम आइसोलसनमा बस्ने भन्दै घरमा बसिरहेका उनीहरूले सतर्कता नअपनाउँदा समुदायमा संक्रमण फैलिएको स्वाथ्यकर्मी बताउँछन् ।

याहाँको अर्काे समस्या भनेको स्थानीय तहहरूले संस्थागत आइसोलेसन स्थापना गरेका भए पनि संक्रमितहरू त्यहाँ बस्न मान्दैनन् । उनीहरू यसरी संस्थागत आइसोलेसनमा बस्न नमान्दा झनै समस्या भएको स्वास्थ्य अधिकारी बताउँछन् । यसरी निर्माण गरिएका आइसोलेसन रित्तै छन्, तर संक्रमित घरघरमै छन् । उता जिल्ला अस्पतालमा अक्सिजन अभावका कारण संक्रमितले ज्यान गुमाएका छन् । अक्सिजन प्लान्ट स्थापनाको तयारी भए पनि अझै केही महिना लाग्ने बताइएको छ । जटिल खालका संक्रमित बढिरहेका भए पनि जनशक्ति अभावको कारण देखाउँदै सुदूरपश्चिम प्रदेश सरकारले प्रदान गरेको भेन्टिलेटर मेसिन सञ्चालन नहुँदै फिर्ता मागेको छ ।

जिल्लामा हाल ६ सय ४७ सक्रिय संक्रमित छन् भने नौ जनाको मृत्यु भएको छ । जिल्लाका १८ स्थानमा निर्माण गरिएको आइसोलेसनमा हाल १ सय १५ जना मात्रै बसेका छन् भने अरू सबै घरमै रहेका स्वास्थ्य कार्यालयले जनाएको छ । सीमा नाका झुलाघाटबाट स्वदेश फर्किने नागरिकको एन्टिजेन परीक्षण गर्ने गरिएको छ । एन्टिजेन पोजेटिभ आएकालाई आइसोलेसनमा राख्ने गरिएको छ भने नेगेटिभ रिपोर्ट आएकालाई होम क्वारेन्टाइनमै बस्न भनिएको छ ।

अधिकांश कोरोना संक्रमितहरू घरमै बसेकाले संक्रमण तीव्र रूपमा फैलिइरहेको स्वास्थ्य कार्यालयले जनाएको छ । संक्रमितहरू संस्थागत आइसोलेसनमा बस्न नमान्दा संक्रमणको दर बढ्दै गएको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताए । ‘स्थानीय तहहरूले आइसोलेसन निर्माण गर्न ढिलाइ गरेका छन्’, उनले भने, ‘निर्माण गरिएका आइसोलेशनमा संक्रमित नबस्दा जोखिम बढाएको छ । उता घरमा बसेका संक्रमितले पनि होम आइसोलेसनको नियम पालना नगर्दा घरपरिवार र गाउँघरमा संक्रमण बढेको छ ।’

बैतडीमा दोस्रो लहरको कोरोना संक्रमण फैलिएसँगै हाल ६ सय ४७ जना सक्रिय संक्रमित देखिइसकेका छन् । सक्रिय संक्रमितमध्ये हाल १ सय १५ जना मात्रै संस्थागत आइसोलेसनमा बसेका छन् । अन्य होम आइसोलेसन तथा घरमै बसेका स्वास्थ्य कार्यालयले जनाएको छ । स्थानीय तहहरूले आइसोलेसन निर्माण सुरु गरेका भए पनि आइसोलेसनमा बस्ने संक्रमितको संख्या भने न्यून छ । स्थानीय तहले त्यहाँ बस्ने संक्रमितको व्यवस्थापनमा चासो नदिँदा बस्न नमान्ने गरेका प्रमुख भट्टले बताए । उनले भने, ‘स्थानीय तहहरूले आइसोलेसन मात्रै निर्माण गरे त्यहाँ बस्ने संक्रमितको बसाइँ तथा खानपिनको व्यवस्थामा ध्यान दिएका छैनन्, त्यसैले संक्रमित बस्न मानिरहेका छैनन् ।’ स्थानीय तहहरूले अनिवार्य रूपमा संक्रमितलाई संस्थागत आइसोलेसनमा बस्ने व्यवस्था गर्नुपर्ने उनले बताए ।

शिवनाथ गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नरेन्द्रसिंह महताले कोरोना संक्रमण समुदायस्तरमै फैलिइसकेको बताए । उनका अनुसार संक्रमित अझै पनि आइसोलेसनमा बस्न मान्दैनन् । उनले भने, ‘घरमा संक्रमितलाई आइसोलेसनमा राखे पनि भागेर घरमै जान्छन् । संक्रमितको सम्पर्कमा रहेकाहरूको स्वाब संकलन गरौँभन्दा पनि मान्दैनन्, समुदायस्तरमा कोरोनाकै लक्षण देखिने गरी धेरै बिरामी छन् ।’ यस्तै पाटन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले पनि संस्थागत आइसोलेसनमा बस्न नमान्ने गरेको बताए । उनले भने, ‘होम आइसोलसन बस्छौँ भन्दै जान्छन् तर उनीहरूले स्वास्थ्यका मापदण्ड अपनाएका छैनन्, उनीहरूकै कारण संक्रमण फैलँदै गएको छ ।’ यसका साथै निषेधाज्ञा पूर्ण पालना नगर्दा पनि संक्रमण बढेको उनले बताए । उनले भने, ‘निषेधाज्ञाको पूर्ण पालना भएन, जनस्वास्थ्य मापदण्ड पालना नगरिँदा संक्रमण फैलिँदै गएको देखिन्छ ।’

भारतबाट फर्किएकाहरू सिधै घरमा बस्दा पनि संक्रमणको जोखिम बढेको स्थानीय बताउँछन् । भारतबाट आएकाहरू गाउँघरमै घुमिरहेकाले उनीहरूबाट पनि संक्रमण फैलने डर भएको दोगडाकेदारका गणेश विष्टकोले बताए । बैतडीमा अक्सिजनको चरम अभाव छ । जटिल प्रकारका संक्रमितको जिल्ला अस्पतालमा उपचार भइरहेको छ तर अस्पतालमा अक्सिजनको चरम अभाव छ । अस्पतालमा १९ ओटा मात्रै सिलिन्डर छन्, ती सिलिन्डर संक्रमितको उपचारका लागि निकै कम हो । अस्पतालमा रहेका सिलिन्डरले मात्रै संक्रमितको उपचारका लागि निकै समस्या भएको जिल्ला अस्पताल बैतडीका प्रमुख डाक्टर वसन्तराज जोशीले बताए । अस्पतालमा रहेका १९ सिलिन्डरमध्ये आठ ओटा भर्नका लागि धनगढी पठाइएकोमा त्यहाँको ग्याँस उद्योग बिग्रिदा झनै समस्या भएको छ । डाक्टर जोशीले भने, ‘अस्पतालमा संक्रमितहरू दिनप्रतिदिन बढ्दै छन्, थप संक्रमितलाई भर्ना गर्न सकिने अवस्था छैन ।’

अक्सिजन अभावकै कारणले जिल्ला अस्पतालमा आउने बिरामीलाई अन्यत्रै रेफर गर्नुपर्न अवस्था छ । अस्पतालमा हाल १४ जना कोरोनाका जटिल खालका बिरामी भर्ना भएका छन् । उनीहरू सबैको अक्सिजनको सपोर्टमा उपचार भइरहेको अस्पतालले जनाएको छ । जिल्ला अस्पतालमा अक्सिजन आवश्यक पर्ने बिरामीहरूलाई अब भर्ना गर्न नसकिने र रेफर गर्नुको विकल्प नभएको डाक्टर जोशीले बताए । अक्सिजन कतैबाट आपूर्ति भइरहेको छैन । उनले भने, ‘जिल्ला अस्पतालमा अक्सिजनको अभाव भएसँगै कोरोनाका बिरामीहरूलाई बाहिर रेफर गर्नु परेको छ ।’ कसैसँग अक्सिजनका सिलिन्डर भए अस्पताललाई दिन उनले आग्रह गरेका छन् ।

उता सुदूरपश्चिम प्रदेश सरकारले जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट स्थापनाका लागि ८० लाख रुपैयाँ बजेट उपलब्ध गराएको भए पनि प्लान्ट स्थापनामा ढिलाई हुने भएको छ । टेन्डर प्रक्रियाबाट प्लान्ट स्थापना हुने भएकोले स्थापनामा ढिलाइ हुने देखिएको हो । प्लान्ट स्थापनाका लागि बजेट आएको भए पनि सञ्चालनमा आउन अरू दुई महिना लाग्नसक्ने डाक्टर जोशीले बताए ।

प्रदेश सरकारको आग्रहमा भेन्टिलेटर मेसिन फिर्ता गर्न लागेको जिल्ला अस्पताल बैतडीका प्रमुख डा. जोशीले बताए । उनले भने, ‘दक्ष जनशक्तिको अभावमा भेन्टिलेटर सञ्चालनमा नआएकाले प्रदेश सरकारको आग्रहमा दक्ष जनशक्ति भएका ठाउँमा भेन्टिलेटर मेसिन फिर्ता गर्दैछौं, हाम्रो अस्पतालमा भेन्टिलेटर सञ्चालन गर्ने जनशक्ति छैनन् । त्यसैैले जनशक्ति भएका ठाउँका लागि मेसिन फिर्ता पठाउँदैछौंँ ।’

नेपाली कांग्रेस बैतडीले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएर भेन्टिलेटर मेसिनको लागि आवश्यक पर्ने जनशक्ति थप्नुपर्ने तथा उक्त मेसिन फिर्ता नमाग्न आग्रह गरेको छ । कांग्रेस उपसभापति चतुरबहादुर चन्दद्वारा हस्ताक्षरित ज्ञापन पत्रमा महामारीको बेला पनि सरकारले जनताका समस्या बुझ्न नसकेको आरोप लगाइएको छ । दोस्रो लहरको कोरोना संक्रमण फैलिएपछि बैतडीका स्थानीय तहहरूले यसको रोकथाम तथा नियन्त्रणको तयारी थालेका छन् । यहाँका स्थानीय तहहरूले आइसोलेसन निर्माणको कामलाई तीव्रता दिएका छन् ।

जिल्लाका १० ओटै स्थानीय तहमा हालसम्म १८ स्थानमा आइसोलेसन सेन्टर स्थापना भइसकेको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए । भारतसँग सीमा जोडिएको झुलाघाट नाकामा हेल्थ डेस्क स्थापना भएको छ भने जिल्लाका १० ओटै स्थानीय तहका विभिन्न ठाउँमा कोरोना संक्रमितहरूलाई राख्नका लागि आइसोलेसन सेन्टर सञ्चालनमा आएका हुन् । स्वास्थ्य प्रमुुख भट्टले भने, ‘जिल्लाका १८ ठाउँमा २ सय ५६ शय्याका आइसोलेसन सेन्टर तयार भएका छन्, आइसोलेसन निर्माण गरिए पनि त्यहा बस्ने संक्रमितको संख्या न्यून छ ।’

यस्तै यहाँका स्थानीय तहहरूले आफूसँग रहेका सवारी साधनहरूलाई एम्बुलेन्सका रूपमा प्रयोग गर्ने घोषणा गरेका छन् । जिल्लाको पुर्चौडी नगरपालिका, डिलाशैनी गाउँपालिका र दोगडाकेदार गाउँपालिकाले आफूसँग रहेका सबै सवारी साधनलाई एम्बुलेन्सका रूपमा प्रयोग गर्ने घोषणा गरेका छन् ।

प्रतिक्रिया