तमासा हेरेर नबसौँ

कोरोना महामारीका कारण नेपालमा उत्पन्न संकट सामान्य छैन । विश्वकै सबैभन्दा बढी संकटग्रस्त मुलुकका रूपमा छिमेकी भारतको नाम लिने गरिएको देखिन्छ, तर जनसंख्याको अनुपात हेर्ने हो भने नेपालले संक्रणदरमा मात्रै होइन मृत्युदरमा पनि भारतलाई उछिनेको छ । डेढ अर्ब जनसंख्या भाएको भारतमा दैनिक चार हजारको मृत्यु भइरहेको छ भने पौने तीन करोड जनसंख्या भएको नेपालमा दैनिक मृतकको संख्या २ सय २५ देखिएको छ । वैशाख १ देखि २८ सम्मको आँकडा हेर्ने हो भने भारतमा मृत्युदर दैनिक तीनदेखि चार हजारमा सीमित देखिन्छ । तर, नेपालमा वैशाख १ गते दुई जनाको मृत्यु भएको थियो भने २८ गते २ सय २५ जनाको मृत्यु भयो । यसैगरी भारतमा परीक्षण गरिएकामध्ये सरदर २३ प्रतिशतमा संक्रमण देखिने गरेको छ भने नेपालमा ४६ प्रतिशतमा संक्रमण देखिने गरेको छ । दैनिक थपिने संक्रमितको संख्या भारतमा ३ लाख ५० हजारको हाराहारीमा छ भने नेपालमा नौ हजारको हाराहारीमा छ । जनसंख्याको अनुपातमा हिसाब गर्ने हो भने संक्रमितहरूको वृद्धिदर पनि भारतमा भन्दा नेपालमै सबैभन्दा बढी छ ।

नेपाल विश्वकै सबैभन्दा बढी संक्रमित मुलुक बन्न पुगेको सूचना पाएपछि अमेरिकाको विश्व प्रसिद्ध टेलिभिजन च्यानलले प्रधानमन्त्री केपी शर्मा ओलीसँग यसै साता अन्तवार्ता लिएको थियो, तर प्रधानमन्त्री ओलीले नेपालमा विश्वमै सबैभन्दा डरलाग्दो अवस्था भएको यथार्थतालाई स्वीकार गरेनन् । अझै पनि नियन्त्रणभित्रै रहेको भन्दै विश्व जगतलाई प्रधानमन्त्री ओलीले ढाँटे । बास्तवमा सरकारले श्वेतपत्र जारी गर्दै विश्व जगतसँग हारगुहार गर्नुपर्ने बेला आइसकेको छ । हामीभन्दा कैयौँ गुणा सक्षम भारतले समेत विश्व जगतसँग हारगुहार गरी सहयोग लिन थालेको अवस्थामा हाम्रा प्रधानमन्त्रीले अवशर गुमाएका छन् । जसरी २०७२ वैशाखमा भूकम्प जाँदा सरकारले कत्ति पनि ढिला नगरी विश्व जगतसँग गुहार मागेको थियो, त्यसरी नै अहिले गुहार माग्न ढिलाइ भइसकेको छ । स्थिति कतिसम्म भयावह छ भने सौभाग्यले अस्पतालमा बेड पाउनेहरू समेत अक्सिजनको अभावमा प्याकप्याक हुँदै मृत्युवरण गरिरहेका छन् । अस्पतालको बेड नपाउनेहरू घरमै मरिरहेका छन् ।

घरमा मर्नेहरूको लाश व्यवस्थापन हुनसमेत दुई÷तीन दिन लाग्ने गरेको अत्यन्त कहालीलाग्दा समाचार सार्वजनिक भएका छन् । संक्रमण दर कल्पना गरेभन्दा पनि द्रुत गतिले फैलिरहेको छ । महासंकटको यो घडीमा राज्यका सबै संयन्त्रलाई एकीकृत रूपमा परिचालन गर्न ढिलाइ भइसकेको छ । स्वास्थ्य मन्त्रालयको मात्रै भर परेर बस्ने हो भने भोलि लास व्यवस्थापन गर्नसमेत विदेशीसँग गुहार माग्नुपर्ने अवस्था आउन सक्छ । संकटको यो घडीमा राजनीतिक दल तथा तिनका नेताहरूले सत्ता समीकरणको दाउपेचलाई थाति राख्नुपर्छ । जनता महासंकटमा फसिरहेका बेला सत्ता समीकरणको दाउपेचमा मुलुकलाई होमेर ओलीले ठूलो गल्ती गरिसकेका छन् । माओवादी केन्द्रले समर्थन जारी राखेको र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले पनि तत्काल अविश्वासको प्रस्ताव नल्याउने निर्णय गरिसकेको अवस्थामा प्रधानमन्त्री ओलीका लागि महामारीस“ग जुधेर जनताको मन जित्ने ठूलो अवसर थियो, तर उनले विनासन्दर्भमा विश्वासको मत लिने निर्णय गरे ।

जबकी उनको पक्षमा विश्वासको मत पुग्दैन भन्ने सुनिश्चित थियो । आखिर त्यही भयो । मुलुक अर्को सरकार गठन गर्नुपर्ने वाध्यतामा फस्यो । सामान्य अवस्थामा यस्तो वाध्यता स्वभाविक पनि हुन्छ । तर, असामान्य अवस्थामा यस्तो वाध्यतामा मुलुकलाई फँसाउनु हुँदैनथ्यो । अब न ओलीले बहुमतको सरकार गठन गर्ने सक्ने अवस्था छ न उनको विकल्पमा अर्को बहुमतको सरकार गठन हुने अवस्था छ । यस्तो अवस्थामा आमनिर्वाचन अनिवार्य वाध्यता हो । तर कोरानाबाट उत्पन्न मुलुकको परिस्थिति हेर्दा कम्तिमा एक वर्ष आमनिर्वाचन संभव छैन । यस्तो अवस्थामा मुलुकलाई आमनिर्वाचनमा होम्नु भनेको अर्को भयंकर अपराध हो । दल तथा तिनका नेतामा अलिकति पनि विवेक छ भने अब डेढ वर्षका लागि राष्ट्रियसहमतिको सर्वदलीय सरकार गठन गर ।

प्रतिक्रिया