चालु खाता घाटा २ खर्ब ७ अर्ब

काठमाडौ । चालु आर्थिक वर्षको चैत मसान्त सम्ममा चालु खाता घाटा दुई खर्ब ७ अर्ब रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको देशको बर्तमान आर्थिक तथा वित्तीय स्थिति सम्बन्धी प्रतिवेदन सो कुरा उल्लेख गरेको हो । गत वर्षको सोही अवधिको तुलनामा चालु खाता घाटा ६४ दशमलव ५ प्रतिशतले बढेको हो । चैत मसान्तसम्म ७ खर्ब २९ अर्ब २ करोड रुपैयाँ रेमिटेन्स भित्रिएको छ । यो अघिल्लो बर्षको चैतको तुलनामा साढे १६ प्रतिशत बढि हो । अमेरिकी डलरमा ६ अर्ब १९ करोड भित्रिएको छ । यो १३ प्रतिशतको बृद्धि हो । विदेशमा काम गर्न जाने र पुनः श्रम स्वीकृति लिनेहरु घटेपनि रेमिटेन्स भने बढिरहेको प्रतिवेदने देखाएको छ ।

चालु खाता घाटाले यथार्थ समयमा मुलुकमा भित्रिएको र बाहिरिएको विदेशी मुद्राको हिसाब देखाउने हुँदा अर्थतन्त्र कति मजबुत छ भन्ने मापन गर्छ । चालु खाता घाटाले मुलुकभित्र भित्रिएको तुलनामा बाहिरिएको रकमको अन्तर देखाउँछ । साउनदेखि चैतसम्म नेपाल भित्रिएको भन्दा नेपालबाट बाहिरिएको रकम दुई खर्ब ७ अर्ब रुपैयाँ बढी रहेको पनि सो प्रतिवेदनान उल्लेख छ ।

९ महिनामा आयात गत वर्षको तुलनामा १३ दशलमव १ प्रतिशतले बढेर ११ खर्ब ११ अर्ब रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको कुल आयात बराबर चालु आर्थिक वर्षको ९ महिनामा आयात भैसकेको छ । निर्यात २० दशलमव २ प्रतिशतले बढेर ९४ अर्ब ७६ करोड रुपैयाँ पुगेको छ । व्यापारघाटा गत वर्षको सोही अवधिको तुलनामा १२ दशलमव ५ प्रतिशतले बढेर १० खर्ब १६ अर्ब रुपैयाँ पुगेको छ । राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको नौ महिनामा शोधनान्तर बचत ४२ अर्ब ५४ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ३६ अर्ब ६१ करोड रुपैयाँले बचतमा रहेको थियो ।

यो अवधिमा मूल्यवृद्धि अपेक्षाकृत नियन्त्रणमा देखिए पनि आम नागरिकको दैनिकीसँग जोडिएको दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि भन्ने उच्च देखिएको छ । सरकाले चालु आर्थिक वर्षमा ७ प्रतिशतको आर्थिक वृद्धि लक्ष्यसहित मूल्यवृद्धिलाई ७ प्रतिशतभित्र राख्ने लक्ष्य लिएको थियो । मुल्यबृद्धिको सम्बन्धमा लक्ष्य भित्र रहेपनि उपभोक्ता मुल्यबृद्धि भने बढेको छ । चालु आबको चैतमा वार्षिक विन्दुगत उपभोक्ता द्रास्फीति ३ दशमलव १० प्रतिशत रहेको छ । गत आर्थिक वर्षको सोही सोही अवधिमा विन्दुगत उपभोक्ता मुद्रास्फीति ६ दशमलव ७४ प्रतिशत रहेको थियो ।

तर, चैत महिनामा खाद्य तथा पेयपदार्थ समूहको मुद्रास्फीति ३ दशमलव ४९ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति २ दशमलव ७९ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ । २०७६ चैतको तुलनामा ०७७ चैतमा सबैभन्दा धेरै मूल्यवृद्धि घ्यू तथा तेल र मासु तथा माछा उपसमूहको रहेको राष्ट्र बैंकले जनाएको छ ।

त्यस्तै, दात तथा गेडागुडीको मुल्यवृद्धि पनि उच्च रहेको छ । यसले मुल्यवृद्धि नियन्त्रित देखिए पनि आम उपभोक्ताको दैनिकी महँगिएको देखाउछ । यद्यपि, तरकारीको मूल्य भने घटेको छ । राष्ट्र बैंकको अनुसार खाद्य तथा पेयपदार्थ समुहमा सबैभन्दा धेरै मुल्यवृद्धि घ्यू तथा तेल र मासु तथा माछा उपसमूहको क्रमशः २१ दशमलव ३८ र १२ दशमलव ६१ प्रतिशत रहेको छ । त्यस्तै, दात तथा गेडागुडी उपसमुहको मुल्यवृद्धि ८ दशमलव ८४ प्रतिशत रहेको छ । तरकारी उपसमूहको मुल्य भने ०७६ चैतको तुलनामा ११ दशमलव ६७ प्रतिशतले घटेको छ ।

गैरखाद्य तथा सेवा समूहमा रहेको ढुवानी उपसमूहका मूल्यवृद्धि सर्वाधिक ८ दशमलव ७७ प्रतिशत छ । त्यस्तै, फर्निचर तथा घरायसी सामान, कम्युनिकेसन र स्वास्थ्य क्षेत्रको मुल्यवृद्धि क्रमशः ४ दशमलव ४९, ३ दशमलव ९५ र ३ दशमलव ६ प्रतिशत रहेको छ । चैत महिनाको वार्षिक विन्दुगत तथ्यांकमा सबैभन्दा उच्च मुद्रास्फीति पहाडी क्षेत्रमा ३ दशमलव ३८ प्रतिशत हुँदा काठमाडौं उपत्यकामा ३ दशमलव २४ प्रतिशत, तराईमा २ दशमलव ९२ प्रतिशत र हिमालमा १ दशमलव ५४ प्रतिशत रहेको छ ।

२०७७ चैतमा वार्षिक विन्दुगत थोक मुद्रास्फीति ६ दशमलव १४ प्रतिशत रहेको छ । गत आर्थिक वर्षको यही अवधिमा वार्षिक विन्दुगत थोक मुद्रास्फीति ७ दशमलव ७७ प्रतिशत रहेको थियो । समीक्षा अवधिमा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको थोक मूल्यवृद्धि क्रमशः ७ दशमलव ४२ प्रतिशत, ५ दशमलव ८४ प्रतिशत र ३ दशमलव ७० प्रतिशत रहेको छ ।

प्रतिक्रिया