जडीबुटी उपचार बुझेर मात्रै गर्नु

कालीकोट जिल्लाको रास्कोट नगरपालिकाकी पानसरा कुमालले दाउरा लिन जंगल जाँदा लडेर भाँचिएको आफ्नो बायाँ खुट्टाको उपचार घरमै जडीबुटीबाट गरेको बताइन् । गोलीगाँठो नजिक भाँचिएको खुट्टामा उनले अल्लोको जराको लेदो, पैयाँको बोक्रा र बाँसको काप्री लगाएको बताइन् । जाजरकोटको कुशे गाउँपालिका पैंकका विमल आरसीले पनि भलिबल खेल्दा मर्किएको खुट्टामा जडीबुटीको खोटी लगाएको बताए । मर्किएको खुट्टामा उनले घर गाउँमा परम्परागत रूपमा चल्दै आएको चलन अनुसार सल्ली कुसुम, उत्तिसको बोक्रा, खरानी, नुन, कुरिलो, जाम्नाको बोक्रा, रातो माटोको खोटी बनाएर लगाएका थिए ।

पानसरा र विमलजस्तै कैयौँ कर्णालीवासी सामान्यदेखि गम्भीर प्रकृतिको स्वास्थ्य समस्या पर्दा गाउँघरमै पाइने जडीबुटीको प्रयोगबाट हुने उपचारलाई पहिलो प्राथमिकता दिने गरेको बताउँछन् । उनीहरूलाई त्यसमा विश्वास छ । यस्तो घरेलु उपचार अभ्यासमा औषधीको प्रकार, मात्रा, मिश्रणको अनुपात, प्रयोग गर्ने तरिका, पथ परहेज, आवृत्ति लगायतका महत्वपूर्ण र जरूरी विशेषज्ञ ज्ञान आवश्यक पर्ने कुराहरू पनि घर–छरछिमेकका अग्रजको सुझाव वा अनुभवमा नै निर्भर हुने गरेको पाइन्छ ।

शारीरिक समस्याको निदान र अपनाइने उपचार विधिको स्रोत पनि परम्परागत चलन नै हुने गर्छ । प्रदेश आयुर्वेद अस्पताल सुर्खेतका प्रमुख डा.शंकरप्रसाद रिजालले कर्णालीवासीले दुई सयभन्दा बढी प्रकारका जडीबुटीहरू औषधिको रूपमा प्रयोग गर्दै आइरहेको बताए । तर डा. रिजाल विशेषज्ञको सल्लाहविना त्यस्ता औषधि प्रयोग नगर्न सुझाव दिन्छन् । त्यस्तै आधुनिक औषधि विज्ञान पढेकी हाल कर्णाली केयर अस्पतालमा कार्यरत डाक्टर अर्चना कार्की जडीबुटी वा अरू कुनै औषधि चिकित्सक र जडीबुटी विज्ञको सल्लाह र परामर्शविना खान नहुने बताउँछिन् । उनले भनिन्, ‘विशेषज्ञ डाक्टर र विज्ञ मान्छेको परामर्शविना देखेसुनेकै भरमा आफूखुसी औषधि खाँदा समस्या झन् बल्झिन सक्छ ।’

सुनेकै भरमा औषधि प्रयोग गर्दा मिर्गौला, कलेजोजस्ता संवेदनशील अंगमा असर गर्ने र उस्तै परे ज्यानैसमेत जान सक्ने खतरा रहने डा. कार्की औँल्याउँछिन् । त्यसैले त्यस्ता औषधि प्रयोग गर्नुअघि विज्ञको सल्लाह लिनुपर्ने उनको सुझाव छ । आयुर्वेद औषधिविज्ञ प्राध्यापक डाक्टर चन्द्रराज सापकोटा स्वास्थ्यमा समस्या आउने बित्तिकै अस्पताल जान नसक्ने कैयौँ बिरामीले घरमै जडीवुटीबाट उपचार गरिरहेको बताउँछन् । सन् १९७८ मा विश्व स्वास्थ्य संगठनको अल्माआटा घोषणापत्रमा झण्डै ८० प्रतिशत नेपालीले स्थानीय स्तरमा उपलब्ध जडीबुटीबाटै उपचार गर्ने गरेको उल्लेख गरेको थियो भन्छन् डा. सापकोटा ।

अहिले त्यो संख्या घटे पनि घरेलु उपचार गर्नेहरूको संख्या अझ पनि ठूलो रहेको उनको भनाइ छ । उनले भने, ‘ठाउँ अनुसार फरक–फरक जडीबुटीको प्रयोगबाट धेरै रोगको उपचारको पहिलो प्रयास गाउँघरमै हुन्छ ।’ बालबालिकालाई सर्दी (रुघाखोकी) लाग्दा, ज्वरो आउँदा सतुवा खुवाउने, खोलाको हरियो ढुंगा घोटेर घाँटी र निधारमा लगाउँदै आएको जाजरकोटका रामबहादुर रावलले बताए । ‘बालबालिकालाई झाडापखाला भए दुधे लहरो खुवाउँदा तुरुन्तै रोकिन्छ,’ उनले भने, ‘घरेलु उपचारले सन्चो नभएपछि मात्रै अस्पताल जान्छौ । नत्र भने घरमै उपचार गर्छौं ।’

हातखुट्टा मर्किए, भाँचिए सल्ली कुसुम, उतिसको बोक्रा, खरानी, नुन, कुरिलो, पदमचाल्लो, पैयाँको बोक्रा, सेतो रयन ढुंगा, कालो गहुँतेको खोटी बनाएर लगाउने गरेको उनीहरू बताउँछन् । ज्वरो आए चिराइतो, कटुकी, जन्डिस भए आकाशवेली, महिनावारीको बेला उच्च रक्तस्राव रोक्न अशोक, नाकबाट रगत बगे दुबोको रस, असुरो, लज्जावती झार, प्याउली फूल, जामुनाको रस प्रयोग गरिन्छ । यो यहाँको लागि समान्य जस्तै हो । सुनेको भरमा सबैले प्रयोग गर्छन् ।

झाडापखाला रोक्न भकमिलो र दही मिसाएर खाने, दाँत आउने बेलामा बच्चालाई आउने ज्वरो सन्चो बनाउन हर्रो, आँपको कोया, गेरुलगायत खुवाउने गरिएको पनि उनीहरू बताउँछन् । मानसिक समस्या भए जटामसी, रगत मासी (आउँ) परे बेल, रागन (युरिक एसिड) भए सिलाजित, आँकको दूध लगाउने र सिस्नाले कन्याउने पनि गरिन्छ । स्वर सुके बोझो, अमिलाको पात खाने, आँखा पाके जौको पातको रस, चुत्राको बोक्राको खोटी बनाएर लगाउने, ऐयर र चुत्राको डुफाको रस लगाएर लुतो निको गरिन्छ । बिरामी पर्दा काली मर्चा, तितो कटुको, बायो जरी, गदाल्नु, पाँच औलेजस्ता विभिन्न जडीबुटी प्रयोग गदै आएको कालिकोटका ७१ वर्षीय नन्दाकृष्ण तिमिल्सेनाले बताए ।

कतिपय मान्छेहरू आर्थिक अभाव र स्वास्थ्य संस्थासम्मको पहुँच सहज नभएको जस्ता कारणले गर्दा बिरामी हुँदा चाहेर पनि अस्पताल जान नसक्ने भएकोले घरेलु उपचारमै जोड निर्भर हुने गरेको स्वास्थ्यकर्मी बताउँछन् । कालिकोटको सिपखाना स्वास्थ्य चौकीका अहेव हंसराज न्यौपानेले भने, ‘समस्या जटिल भयो भने मात्रै स्वास्थ्य संस्थामा आउँछन् । नत्र घरमै विभिन्न जडीबुटीबाट उपचार गरेर बस्छन् । अनुमानकै भरमा उपचार गर्दा भाँचिएको हातखुट्टा छोटो हुने गरेको, दुखीरहनेजस्ता समस्या पनि आउने गरेको उनीहरूले बताए ।

न्यौपानेका अनुसार उनी कार्यरत स्वास्थ्यचौकीमा हरेक महिना ८÷१० जना जति मानिस घरेलु उपचार गरेर केही सीप नलागेपछि आउने गरेका छन् । पहिलो गाउँ घरमा पाइने जडीबुटी प्रयोग गर्ने र केही नलागे मात्रै स्वास्थ्यचौकी जान्छन् उनीहरू । खासगरी हातखुट्टा भाँचिए जडीबुटी लगाउने र ठीक नभएपछि स्वास्थ्यचौकी आउनेहरू धेरै रहेको उनले बताए । बिरामी पर्दा जडीबुटीको प्रयोग गर्ने चलन कर्णालीका गाउँघरमा वर्षौंदेखि चलिरहेको छ । अहिले सवैतिर अस्पताल खुले पनि यो चलन हटिनसकेको ७५ वर्षीय जयबहादुर रावलले बताए ।

उनले भने, ‘गाउँमा न स्वास्थ्यचौकी थिए, न त डाक्टर नै । बिरामी पर्दा जडीबुटीबाटै उपचार गर्नुपथ्र्योे । अहिले पनि त्यो पुरानो चलन गाउँ घरमा छँदै छ । परम्परागत उपचार विधि जानेका मान्छेहरू गाउँमा एक÷दुई जना मात्रै हुन्छन् ।’ उनीहरूले आफ्ना बाउबाजेबाट परम्परागत उपचार विधिसम्बन्धी ज्ञान सीप सिकेका हुन्छन् । तर यससम्बन्धी दक्खल भएका व्यक्तिको मृत्युसँगै ज्ञान, सीप हराउँदै गएको गाउँलेहरू बताउँछन् । (बिबिसी)

प्रतिक्रिया