कोरोनाको दोस्रो लहर फैलाउन मोदी जिम्मेवार !

नयाँदिल्ली । विश्व प्रसिद्ध मेडिकल जर्नल द ल्यान्सेटले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको कार्यशैलीको आलोचना गरेको छ । जर्नलले प्रकाशित गरेको सम्पादकीयमा मोदीको कार्य माफीलायक नभएको भन्दै उनले कोरोनाभाइरसको दोस्रो लहर नियन्त्रणमा भएको आफ्नो गल्तीको जिम्मेवारी लिनुपर्ने टिप्पणी गरिएको छ । जर्नलमा यो वर्षको अगष्टसम्म महामारीका कारण कम्तीमा १० लाख मानिसको मृत्यु हुने अनुमान गरिएको छ । कोरोनाको तीव्र फैलावटको बारेमा दिइएको चेतावनीको बाबजुद मोदीले धार्मिक क्रियाकलाप र चुनावी सभाको आयोजना गरेको भन्दै सम्भावित राष्ट्रिय प्रकोपको लागि मोदीलाई जिम्मेवार ठह¥याइएको छ ।

कोरोना महामारी नियन्त्रण गर्नुको साटो मोदी सरकार ट्विटरमा भएको आलोचना र खुला बहसमाथि रोक लगाउन सक्रिय रहेको टिप्पणी गरिएको छ । जर्नलले भारत सरकारको खोप नीतिको आलोचना समेत गरेको छ । राज्यहरुसँग छलफल नै नगरी खोप नीतिमा परिवर्तन गरेकाले केन्द्र सरकारले २ प्रतिशतभन्दा कम जनसंख्यालाई मात्र खोप लगाउन सकेको निष्कर्ष निकालिएको छ ।

उक्त लेखमा भारतको स्वास्थ्य प्रणालीमाथि पनि प्रश्न उठाइएको छ । ‘अक्सिजन नपाएर बिरामीहरु मरिरहेका छन् । चिकित्सक टोली थाकिसके । उनीहरु पनि संक्रमित भइरहेका छन् । सरकारसँग असन्तुष्ट मानिस सामाजिक सञ्जालमा अक्सिजन, बेड, भेन्टिलेटर र औषधिको माग गरिरहेका छन्,’ जर्नलमा उल्लेख छ । स्वस्थ्यमन्त्री डा. हर्षवद्र्धन गोयलको अभिव्यक्तिलाई लिएर पनि जर्नलमा टिप्पणी गरिएको छ । गोयलले गत मार्चमा सरकारको उत्तम व्यवस्थापकीय कौशलका कारण कोरोनाभाइरसमाथि विजय पाएको भन्दै महामारी अन्त हुनै लागेको घोषणा गरेका थिए । कोरोनाको दोस्रो महामारीको बारम्बार चेतावनी दिए पनि मोदी सरकारले बेवास्ता गरेको जर्नलले जनाएको छ ।

प्रतिक्रिया