शिक्षण अस्पतालमा ९ जना संक्रमितको मृत्यु

मोरङ । कोरोना संक्रमणबाट यहाँका दुई शिक्षण अस्पतालमा आज बिहान चार र गएको १२ घण्टाको अवधिमा पाँच गरी ९ जनाको मृत्यु भएको छ । सुनसरीको इटहरी उपमहानगरपालिका–४ की ५४ वर्षीया संक्रमित महिलाको मोरङको बूढीगङ्गास्थित विराट शिक्षण अस्पतालको कोभिड सेन्टरमा उपचारका क्रममा आज मृत्यु भएको छ । मृतकलाई कोरोना पुष्टि भएपछि यही वैशाख २४ गते उपचारको लागि भर्ना गरिएको अस्पतालका इन्जार्च सुनिल देवले बताउनुभयो ।

धरान उपमहमनगरपालिका –१७ बस्ने ६६ वर्षीय संक्रमित पुरुषको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचारका क्रममा आज बिहान मृत्यु भएको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए । यसैगरी विराटनगर–१ त्रिवेणी चोक बस्ने ७६ वर्षीय संक्रमित पुरुषको उपचारमा सोही अस्पतालमा आज बिहान मृत्यु भएको छ ।

यस्तै सिरहाको कल्याणपुर–४ का ३८ वर्षीया संक्रमित महिलाको सोही अस्पतालमा उपचारका क्रममा आज बिहान मृत्यु भएको छ । मृतकलाई यही वैशाख २५ गते उपचारका लागि भर्ना गरिएको प्रबन्धक दाहालले बताए ।

मेची नगरपालिका–६ झापाका ६० वर्षीय संक्रमित पुरुषको उपचारका क्रममा शनिबार राति मृत्यु भएको छ । निजलाई उपचारका लागि यही वैशाख २३ अस्पतालमा भर्ना गरिएको थियो ।

यस्तै मोरङको उर्लाबारी नगरपालिका–६ की ३९ वर्षीया संक्रमित महिलाको उपचारका क्रममा सोही अस्पतालमा शनिबार राति मृत्यु भएको छ । सप्तरीको बोदेवरसाइन नगरपालिका–१० बस्ने ३२ वर्षीय संक्रमित पुरुषको उपचारका क्रममा सोही अस्पतालमा शनिबार बेलुकी मृत्यु भएको छ ।

मृतकलाई यही वैशाख २२ गते उपचारका लागि सोही अस्पतालमा भर्ना गरिएको प्रबन्धक दाहालले बताए । यस्तै धनुषाका ७७ वर्षीय वृद्धको उपचारका क्रममा शनिबार मृत्यु भएको छ । निजलाई यही वैशाख १७ गते उपचारका लागि भर्ना गरिएको प्रबन्धक दाहालले जानकारी दिए ।

सोही अस्पतालमा सप्तरीका ५३ वर्षीय एक पुरुषको उपचारका क्रममा शनिबार साँझ मृत्यु भएका छ । मृतकलाई यही वैशाख २४ गते उपचारका लागि अस्पतालमा भर्ना गरिएको थियो ।

प्रतिक्रिया