शर्मालाई पारिजात पुरस्कार

काठमाडौं । नेपाली साहित्यमा योगदान दिएको भन्दै साहित्यकार सीता शर्मालाई पुरस्कार दिने घोषणा गरिएको छ । अभिनव साहित्य समाजले यस वर्षको पारिजात स्मृति अभिनव पुरस्कार शर्मालाई दिने जनाएको हो । समाजले तीन वर्षअघिदेखि साहित्यकार पारिजातको जन्म महिनाको अवसर पारेर प्रत्येक वर्ष वैशाखको अन्तिम शनिबार यो पुरस्कार प्रदान गर्दै आएको थियो । यस वर्ष नयाँ भेरियन्टसहितको कोरोनाबाट बच्न जारी निषेधाज्ञाका कारण शर्मालाई पुरस्कार दिने घोषणा भर्चुअल माध्यमबाट आयोजित कार्यक्रममा गरिएको हो । निषेधाज्ञा सकिएलगत्तै सम्मान पत्रसहित दश हजार राशिको उक्त पुरस्कार प्रदान गरिने समाजका अध्यक्ष गोविन्दप्रसाद वेदमणिले जानकारी दिए । तीन वर्षअघि साहित्यकार वसन्त रिजालले एक लाखको अक्षय कोष राखी पुरस्कार स्थापना गरेका हुन् । कोषमा समाजका तर्फबाट ५० हजार थप गरिएको थियो ।

अक्षयकोषमा राखिएको राशिबाट प्रत्येक वर्ष प्राप्त हुने ब्याजबाट पुरस्कार प्रदान गरिन्छ । सो पुरस्कार पहिलो पटक २०७६ सालमा बैतडीकी पूजा चन्दलाई प्रदान गरिएको थियो । गतवर्ष कोरोना महामारीबाट बच्न बन्दाबन्दी गरिएकाले प्रदना गर्न नसकिएको वेदमणिले बताए । समाजले विसं २०५८ फागुनदेखि प्रत्येक महिना अन्तिम शनिबार जोरपाटीमा साहित्यिक कार्यक्रम गर्दै आएको छ । शनिबार कार्यक्रमको २३१औँ शृंखलामा मानन्धर अभागी, विमल अर्याल, डा. शेषराज आचार्य दीक्षित, प्रकाशमणि दाहाल, सुशील आचार्य, दुर्गा अधिकारी, प्रदीपरत्न शाक्य, घनश्याम प्रसाईं, शारदा पराजुली, द्वारिका कुइँकेल, डा. बमबहादुर जिताली, त्रिलोचन आचार्य, इन्दिरा दाहाल, हेमगङ्गा पौडेल, निर्मल पराजुली, गीता बराल, उर्मिला पन्त, सम्मानित शर्मा, गायत्री चापागाईँ, गोपाल बराल, आलोक चालिसे, रामकुमार पण्डित, खोलाघरे साइँला, मेनका पोखरेल, रामचन्द्र दाहाल, उत्तम भेटवाल, भारद्वाज मित्र, परशुराम पराशरलगायतले रचना पाठ गरेका थिए । कार्यक्रममा कोरोना कहर, समसामयिक राजनीतिका बारेमा व्यंग्यात्मक रुपमा रचना गरिएका कविता वाचन गरिएको थियो । कोरोनाका कारण मानवदेखि मानव त्रसित हुनुपरेको, घरमै बन्दी जीवन बिताउन परेको लगायत पीडा पनि कवितामा अभिव्यक्त भएका थिए ।

प्रतिक्रिया