आफ्नै मैदानमा लेस्टरको हार

लण्डन । इंग्लिस प्रिमियर लिगमा लेस्टर सिटीले घरेलु मैदानमा न्यु क्यासलसँग हार बेहोेरेको छ । लेस्टर सिटीले न्युक्यासलसँग ४–२ को हार बेहोरेको हो । किङ पावर स्टेडियममा न्युक्यासलको जितमा कलुम विल्सनले दुई तथा जोसेफ विललक र पउल डुम्मेटले समान एक गोल गरे । लेस्टरका मार्क अल्ब्राइटन र केलिची इहानाँचोले गोल फर्काए ।

शुक्रबार राति भएको खेलको २४औं मिनेटमा जोसेप विललकको गोलबाट न्युक्यासलले खेलमा अग्रता लिएको थियो । ३४औं मिनेटमा पउल डुम्मेटले माट रिट्चीको पासमा गोल गर्दै न्युक्यासललाई पहिलो हाफमा २–० को अग्रता दिलाए । त्यसपछि न्युक्यासलको लागि दुवै गोल कलुम विल्सनले गरे । ६४औं मिनेटमा कलुम विल्सनले गोल गर्दै न्युक्यासललाई फराकिलो जितततर्फ अघि बढाए । ७३औं मिनेटमा कलुम विल्सनले व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गरेपछि न्युक्यासल ४–० ले अघि बढ्यो । त्यसपछि घरेलु टोली लेस्टरले ७ मिनेटको अन्तरमा दुई गोल गरेपनि जित निकाल्न सकेन ।

८०औं मिनेटमा मार्क अल्ब्राइटनले जेमी भार्डीको पासमा गोल गर्दै खेललाई ४–१ को अवस्थामा ल्याए । ८७औं मिनेटम केलिची इहानाचोले एयोजी पेरेजको पासमा गोल गर्दै खेललाई ४–२ को अवस्थामा ल्याएपनि हार टार्न सकेन । जितपछि न्युक्यासल ३५ खेलबाट ३९ अंक जोडेर १३औं स्थानमा उक्लिएको छ । पराजित लेस्टर ३५ खेलबाट ६३ अंकसहित तेस्रो स्थानमा यथावत रहेको छ ।

प्रतिक्रिया