गाह्रो छ, डोल्पामा कर्मचारीलाई

हिउँले ढाकेका अग्ला पहाड ! हिमालका छेउमै गाउँहरू । रुख, विरुवा कत्तै नभएका तर हिउँले ढाकिएका सेताम्य हिमालले सबैको मन प्रफुल्ल बनाउँछ, तर क्षणिक समयका लागि मात्र । यहाँ पुर्खौँदेखि बस्दै आएका सर्वसाधारणहरू उपल्लो डोल्पाको हावापानीसँग घुलमिल भइसकेको भए पनि घुम्न तथा अन्य कामले जाने व्यक्तिहरूलाई भने क्षणिक रमाइलोका लागि मात्र काम लाग्छ यहाँको वातावरण । लामो समय खप्नै सक्दैनन् ।

महिनैपिच्छे उपल्लो डोल्पामा जाने सर्वसाधारण तथा कर्मचारीहरू हैरान् भएर दुनै फर्कने गरेको बताउँछन् । कसैलाई रमाइलोको लागि जानु परे पनि कर्मचारीहरू भने सरकारले तोकेको ठाउँमा जान ज्यान फालेर कार्यस्थलसम्म खट्नुपर्दछ । बर्सेनि उच्च हिमाली क्षेत्रमा जानेहरू अक्सिजनको कमीका कारण श्वासप्रश्वासमा समस्या आएर कतिले ज्यान नै गुमाउनु परेको छ भने कतिलाई बिरामी अवस्थामा उद्धार गर्नुपर्छ ।

कतिपय कर्मचारीलाई त सही नसक्नुको पीडा हुने गरेको हप्ता दिनअघि मात्र बिरामी भएर अहिले काठमाडौंमा उपचार गराइरहेका शे–फोक्सुण्डो गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद न्यौपानेले बताए । उनले भने, ‘खटाएको काम र लागेको जिम्मेवारी बहन त गर्नु नै प¥यो तर काम गर्न कति चुनौतीपूर्ण छ भन्ने कुरा भोग्नेलाइ मात्र थाहा हुन्छ ।’ दुनैबाट गाउँपालिकाको केन्द्रसम्म जाँदा बाटोमा फोन सम्पर्कसम्म गर्न मुस्किल हुने गरेको उनले बताए । उनका अनुसार को कहाँ पुगेको छ, के गरिरहेको छ केही अत्तो पत्तो नहुँदा परिवारमा निकै कति पीडा हुने गरेको छ ।

कम पीडा छैन छार्का ताङसोङ गाउँपालिकामा कार्यरत सबइन्जिनियर हरिप्रसाद रोकायको पनि । रोकायले भने, ‘फिल्डमा जाँदाजाँदै आँखै अगाडि हिउँ पहिरोहरू जान्छन्, हिमपात हुन्छ, बाटो अवरुद्ध हुन्छ सोही समयमा मन भारी भएर आउँछ । सरकारले खटाएको ठाउँमा काम गर्नैपर्छ । ज्यानको बाजी लगाएर भएपनि अटाएको ठाउँमा त पुग्नैपर्छ । तर जतीबेलाआपत विपत आउँछ, त्यतिबेला जीवनको अन्तिम क्षण नै हो कि जस्तो लाग्छ,’ उनले पीडा पोख्दै भने, ‘अघिल्लो वर्ष फिल्ड जाँदै गर्दा बाटोमा साथी हिँड्दा हिँड्दै सुनिएर समस्या भयो । उहाँलाई बाटोबाटै फर्काएर दुनै पठाएँ र म अगाडि बढेँ । त्यतिबेला मलाइ पनि त्यस्तै हुन्छ कि भनेर मनभरि पीडा बोकी कर्मस्थलतिर लागेँ ।’ उनले कैयौँ दिन भोकै काममा हिँडेको अनुभवसमेत सुनाए । ‘बाटोमा खानेकुरा पाइँदैन, पाइहाले पनि एउटा रोटीलाइ ५० रुपैयाँ पर्छ,’ उनले भने ।

भौतिक पूर्वाधार विकास कार्यालय डोल्पाका सबइन्जिनियर प्रकाश बुढाले वैशाख ६ गते उपल्लो डोल्पाका गाउँपालिकाहरूमा योजना अनुगमनमा जाँदा झण्डै ज्यान गएको बताए । उनले भने, ‘वैशाख ६ गते सदरमुकाम दुनैबाट उपल्लो डोल्पाको चीनसँग जोडिएको क्याटु नाका लगायतका ठाउँमा चार वटा टेन्डर प्रक्रिया चलिरहेको थियो सोही योजना हेर्न म केही बाटो घोडा र केही बाटो हिँडेर त्यहाँ गएको थिएँ ।’ झण्डै ५ हजार २ सय मिटरको उचाइमा पुग्दा तीन घण्टा हिँड्ने बाटोमा १२ घण्टा लगाएर हिउँमा जानुपर्दा जिन्दगीको अन्तिम क्षण यही रहेछ भन्ने लागेको इन्जिनियर बुढाले बताए ।

उनले भने, ‘स्थलगत अनुगमन तथा कार्यका लागि कात्तिक÷मंसिर महिना अनुकूल हुन्छ तर त्यहाँका मानिसहरू हिमालबाट तलतिर झर्ने भएकाले र त्यहाँको कठिन भौगोलिक अवस्थाका कारण त्यसबेला त्यहाँ पुगेर काम हुँदैन । चैत, वैशाख, जेठ र असारमा मात्र काम हुन्छ । त्यसकारण हिउँदमा नगएर मौसम अनुकूल भएपछि वैशाखमा जाने योजना बनेको थियो । योजनाअनुरूप यात्रा वैशाख ६ गते दुनैदेखि सुरु भयो । मेरो नौ दिनसम्मको यात्रा चुनौतीपूर्ण रह्यो, जसमध्ये सात दिन हिउँसँग लड्नुप¥यो ।’

यात्राको नवौं दिन तिन्जेदेखि क्याटु नाकासम्म गएर योजनाहरू हेरेर आउने पूर्वनिर्धारित कार्यक्रमहरू हिमपातका कारण असफल भएपछि जीवन कसरी बचाउने भन्नेमा मात्र आफ्नो ध्यान केन्द्रित भएको बुढाले बताए । भारी हिमपातका कारण तिन्जेमै बास बसी अर्को दिन बिहानै उकालो चढेपछि नेपाल टेलिकमको सामग्री ढुवानी गरिरहेको हेलिकोप्टर बस्ने (५ हजार ३०० मिटर) ठाउँमा पुगेको बुढाले बताए । सो ठाउँमा पनि आफू नपुग्दै हेलिकोप्टर उडिसकेकोले जुफाल आउने योजना असफल भएको थियो । त्यसपछिका ६ वटा फ्लाइटपछि हेलिकोप्टरले आफूहरूलाई उद्वार गरी करिब ३५ मिनेटमा जुफाल ल्याएपछि जिन्दगी बाँच्यो भन्दै मनभरी गदगद भएको बुढाले बताए ।

वैशाख ६ गते सुरु भएको कठिन र जोखिमपूर्ण यात्रा १४ गते टुंगिएको बुढाले बताए । अगिल्लो आइतबार मात्र धो बस्तीमा बिरामी परेका चार जना डोल्पो बुद्ध गाउँपालिकाका कर्मचारीहरूलाई उद्वार गर्न नसक्दा साह्रै पीडा भएको डोल्पोबुद्ध गाउँपलिकाका प्रमुख प्रशासकीय अधिकृत गौतम पंज्ञानीले बताए ।

उनका अनुसार हेलिकोप्टरको व्यवस्था गरेर पनि कर्मचारीको उद्वार गर्न सकिएको छैन । दुनै र धोबाट फोन सम्पर्क मात्र भइरहेको छ तर हेलिकोप्टर खराब मौसमका कारण जान नसकेको कारण कर्मचारीलाई सुरक्षित स्थानमा ल्याउन सकिएको छैन । दुर्गममा काम गर्दाका समस्या कति छन् भन्ने कुरा सुगममा बस्नेलाइ के थाहा हुन्छ र ? कर्मचारीहरू बताउँछन् ।

उपल्लो डोल्पा सडक सञ्जालसँग नजोडिएका कारण घोडा र हेलिकोप्टरबाहेक अन्य माध्यमबाट बिरामीहरूको उद्वार गर्न सक्ने अवस्था नभएको तत्कालीन प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले बताए । बिरामीको घरेलु उपचारदेखि अन्य कुनै माध्यम नभएको कारण बिरामीको तत्काल उद्वार नभए ज्यान जाने गर्दछ ।

उपल्लो डोल्पामा बसोवास गर्ने स्थानीयभन्दा बाहिरबाट गएका व्यक्तिहरू त्यहाँको हावापानीसँग सजिलै मुकाविला गर्न नसक्दा बिरामी हुने गर्दछन् । बाक्लो कपडा, सोहीअनुसारको खाना अनि व्यवस्थापनका साथ यहाँका सर्वसाधारणहरू बस्ने गर्दछन् । स्थानीयहरू बिरामी हुँदा स्थानीय आम्चीद्वारा उपचार गर्दै आएका छन् । आम्चीलाई स्थानीय सरकारले समेत सहयोग गरेका छन् । हिमपातका कारण पाँच महिना नियमित खोप सेवासमेत बन्द हुने गरेको छ ।

अन्य मौसममा चिसो हुने भएकाले चैत महिनादेखि असारसम्म उपल्लो डोल्पामा विकास निर्माणको काम सुरु हुने गर्दछ । यार्सागुम्बा संकलनको समयसमेत यही रहेको छ । आकासमा बादल आउने बित्तिकै पानी नपरी हिउँ बर्सिने भएकाले कति बेला के हुन्छ भन्ने कुरा थाहा नहुने गरेको छार्का ताङसोङ गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनप्रकाश गिरीले बताए ।

निम्न आर्थिक अवस्था भएका सर्वसाधारणबाहेक अन्य अधिकांश स्थानीयवासीहरू १२ महिना उपल्लो डोल्पामा नबस्ने उनको बताए । विकास निर्माण काम सुरु गर्ने समयमा नै यहाँ यार्सागुम्बाको संकलनको समय सुरु हुँदा विकास निर्माणको काम प्रभावित हुँदै आएको छ ।

काठमाडौं तथा अन्य ठूला सहरमा हुने विकास निर्माणको बजेट अनुसार डोल्पामा बजेट पठाउँदा सोचेको जति काम नहुने गरेको डोल्पोवुद्ध गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गौतम पंज्ञानीले बताए । भूगोल हेरेर बजेट विनियोजन गरेमा मात्र यहाँको विकास नतिजामुखी हुने उनकोे तर्क छ ।

कर्णालीका हिमाली जिल्लाको लागि आर्थिक वर्षसमेत फरक हुनुपर्ने उनले बताए । हिमपात हुने समयमा अन्य ठाउँमा विकास निर्माण काम भए पनि माथिल्लो डोल्पामा अवरुद्ध हुने गरेको छ । चैतदेखि असारसम्मको समयमा विकास निर्माणका कामहरू एकैपटक हुन नसक्ने उनले बताए । जिल्ला सदरमुकामको दररेटले उपल्लो डोल्पाको विकास गर्न नसकिने जनप्रतिनिधिहरू बताउँछन् ।

कर्णालीको जडीबुटी तथा खनिज पदार्थले देश चलाउनेहरूले यहाँको लागि आवश्यक बजेटमा राम्रोसँग व्यवस्थापन नगर्दा कर्णालीको विकास सोचेजस्तो नभएको डोल्पाकी सांसद सत्य पहाडीले बताइन् ।

प्रतिक्रिया