विकासको बाधक, घुम्ती गोठ

दक्षिण–पूर्व लमतन्नै पसारिएको भिरालो पाखो । वर्षांै पहिले त्यही पाखोलाई सम्याएर बनाइएका बारीका ठूल्ठूला गह्रा । गह्राको डिलमा डाले घाँस अनि बीचैमा छन् गाई भैँसी बाँध्ने अस्थायी गोठ । सिँचाइको सुविधा भएको र जे लगाए पनि राम्रो फल्ने मलिलो माटो भएर के गर्नु ? म्याग्दीको धवलागिरि गाउँपालिका–३ मुनाको हजारौं रोपनी जग्गा कहीँकतै फाट्ट फुट्टरुपमा आलु खेती बाहेक अरु खेती केही छैन । बर्सेनि जमिन बाँझै पल्टिने गरेको छ । त्यही बाँझो जमिनलाई स्थानीयले गाई भैंैसी, गोरु र बाख्रा पाल्ने अस्थायी गोठको रूपमा प्रयोग गर्ने गरेका छन् । यो पनि उनीहरूको घुम्ती गोठ हो ।

करिब ६ सय घर परिवारको बसोवास रहेको मुना गाउँको बस्ती भने निकै बाक्लो छ । पश्चिम म्याग्दीको प्रमुख व्यापारिक केन्द्र तथा मालिका गाउँपालिकाको केन्द्र दरबाङबाट गाडीमा साढे दुई घण्टाको यात्रापछि पुग्न सकिने मुना पाँच वर्ष अघिसम्म अत्यन्त दुर्गम मानिथ्यो । अहिले यातायातको पहुँच पुगेसँगै सुगम त भएको छ, तर स्थानीयको परम्परागत मान्यता र सोचाइमा भने परिवर्तन आउन नसकेको धवलागिरि गाउँपालिका–३ का अध्यक्ष पुर्म पुनले बताए ।

वडाअध्यक्ष पुनका अनुसार उन्नत तरिकाको खेतीपाती, व्यावसायिक पशुपालन र आयआर्जन मूलक कार्यक्रममार्फत् यस गाउँको विकास गर्न सकिने प्रशस्तै सम्भावनाहरू यहाँ रहेका छन् तर यी सबै सम्भावना केवल सपना मात्र भएका छन् । किनभने यहाँका स्थानीय वासिन्दाहरू खाली जग्गालाई घुम्ती गोठको रूपमा बाहेक अरू कुरामा प्रयोग गर्न मान्दैनन् ।

अध्यक्ष पुनले भने, ‘घुम्ती गोठ यहाँको विकासका लागि बाधक बनेको छ, गाउँ भरि ८० भन्दाबढी घुम्ती गोठ छन्, खेती गर्नुपर्ने जग्गालाई बाँझै पल्टाएर घाँस उमारेपछि खाद्यान्न लगायत अन्य बालीमा कहिले आत्मनिर्भर हुन सकिन्छ ?’ वडाअध्यक्ष पुनले प्रश्न गरे । जनतालाई विकास र आयआर्जनसँग जोड्ने काम त जनप्रतिनिधिको पो हो त भन्ने जिज्ञासामा अध्यक्ष पुनले भने, ‘माने पो ! परम्परागत कुराहरूलाई छोड्न यहाँका वासिन्दा ज्यान गए तयार छैनन् । प्रविधिको प्रयोग नै गर्दैनन् । सरकारी सेवा सुविधमा विश्वासै छैन, अनि कहाँबाट विकास गर्न सकिन्छ ?’
‘हामीलाई यसैमा आनन्द छ, वर्षामा पशुगोठ बुकी (लेक) मा लैजान्छौं, हिउँदमा वेसी झार्छौं, पशु पाल्छौं, दूधमही खान्छौँ, यसैगरी यत्रो जीवन बाँचियो, अब मर्ने बेलामा किन नानाभाँति गर्नुप¥यो ?’ मुनाका ७९ वर्षिय पमबहादुर पुनले भने ।

‘खोइ केके जाती हो दिन्छ भन्छन्, पशु गोठ दर्ता गरे र पशु पालन गरे अनुदान हो कि के पाइन्छ पनि भन्छन्, पैसा नभए जग्गा धितो राखेर बैंकले पैसा दिन्छ पनि भन्छन्, तर यी सबै कुरामा हामीलाई चासो छैन, जे छ त्यसैमा खुसी छौँ,’ अर्का ७४ वर्षीय शेरबहादुर पाइजाले भने, ‘पैसा तिर्न नसके बैंकले जग्गा खाइदिन्छ रे ! गोठ भएका ठाउँमा अरु बाली लगाए हुन्छ हुँदैन ठेगान छैन, त्यसैले बाजे, बराजुको पालादेखि जे चलेको थियो त्यसैलाई हामीले पनि थामेका हौँ ।’

कृषि र पशुपालनमा प्रशस्तै सम्भावना भएको यस ठाउँबाट स्थानीयले लाभ लिन नसकेका वडाअध्यक्ष पुन स्वीकार्छन् । घुम्ती गोठलाई व्यवस्थित बनाई त्यहाँ व्यावसायिक कृषि गर्ने सोच भएपछि स्थानीयहरूको बेवास्ताका कारण त्यसो गर्न नसकिएको उनले बताए ।
यहाँका युवा पुस्तालाई कृषि र पशुपालनतर्फ कुनै रुचि छैन । उनीहरू वैदेशिक रोजगारका लागि मरिहत्ते गर्छन् । बूढा पुस्ता आफ्नै रैथाने तरिका परिवर्तन गर्न चाहदैनन् । ‘गाउँपालिका र वडाले पैसा दिन्छ, अलि फरक तरिकाले पशुपालन गरौँ न भन्दा पनि मान्नुहुन्न’ वडाअध्यक्ष पुनले बताए ।

अध्यक्ष पुनका अनुसार यहाँका वासिन्दाको आम्दानीको मुख्य स्रोत भनेकै बैदेशिक रोजगार हो । विदेशबाट आउने रेमिट्यान्सले नै यहाँको दैनिकी धानिएको छ । यहाँको जमिनलाई राम्रोसँग सदुपयोग गर्न सक्ने हो भने रोजगारीका अनेकौं अवसरहरू यहाँ छन् तर ती अवसरहरू त्यतिकै खेर गइरहेका छन् ।

चिसो बढेसँगै मुना, लुलाङ र गुर्जाका किसानहरूले घुम्ती गोठहरू बेँसी झार्ने गर्दछन् । अब गर्मी शुरु हुन लागेको र गाउँमा कोरोना संक्रमणको जोखिम पनि उच्च रहेकाले उनीहरूले गोठलाई लेक लैजाने तयारी गरिरहेका धवलागिरि गाउँपालिका २ लुलाङका वडा सदस्य मतिप्रसाद पाइजाले बताए । हिमाली जिल्ला म्याग्दीका उच्च वस्तीहरूमा रहेका घुम्ती गोठहरू यतिवेला लेक जाने तयारीमा रहेका भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीले जनाएको छ ।

जिल्लाका लेकाली क्षेत्रहरूमा प्रशस्तै मात्रामा पशुपालन गरिन्छ । निर्वाहामुखी पशुपालन भनिए पनि भेडाबाख्राबाट भने यहाँका किसानले राम्रै आम्दानी पनि गरेका गुर्जाबाट बेनी आउँदै गरेका तमवहादुर विकले मुनामा भने, ‘गर्नेले राम्रै पनि गरेका छन्, भेडाबाख्रा बेचेर वार्षिक पाँच लाख रुपैयाँ कमाउने व्यक्तिहरू पनि पश्चिमी क्षेत्रका लेकाली वस्तीहरूमा भेटिन्छन् ।’ बिकका अनुसार भेँडाबाख्रा, गाई, भैंसी, याक÷चौँरीका लागि गाउँमा घाँसको कमी हुन जान्छ । आहाराको अभावले पशु चौपाया मर्ने समस्या हुनसक्छ, । त्यसैले गर्मी र चिसो छल्नका साथै पशुलाई आहाराको कमी हुन नदिन किसानहरूले चिसोको समयमा घुम्ती गोठहरू बेँसी झार्छन् भने गर्मीको समयमा लेकतर्फ उकाल्ने गर्दछन् ।
उनका अनुसार मुनादेखि माथिका वस्ती (लुलाङ,मुदाी,गुर्जा) का गोठहरूमा झण्डै दुई हजार गाई, भैंसी र गोरु पालिएका छन् भने भेँडी गोठमा झण्डै ८ हजारको हाराहारीमा भेँडाबाख्रा पालिएका छन् ।

चिसोमा बेँसी झारिएका घुम्ती गोठहरू गर्मी सुरु भएसँगै लेकतिर सारिन्छ । ‘चिसो महिनामा माथिल्लो क्षेत्रमा रहेका गोठहरू बेँसी सारिन्छ । चैत, वैशाखदेखी बेँसी झारिएका घुम्ती गोठहरू बिस्तारै माथिल्लो क्षेत्रतर्फ सारिन्छन्,’ उनले बताए । गर्मीमा उनीहरूको हरमा रहेका कपडाले नै जाडो पनि कटाउने गर्छन् । छोरा, नाति विदेश भएपनि उनीहरू आफ्नै इच्छा र परम्परागत लुगामा नै रमाउन अभ्यस्त छन् । वडाअध्यक्ष पुनले भने, ‘पैसा नभएर पनि होइन, छोरा नाति, अमेरिका, अष्ट्रेलिया छन् । यिनीहरूले जे मागे पनि पु¥याइदिन्छन् तर लगाउँदै नलगाएपछि उनीहरू पनि के गरुन् ?’

धौलागिरि गाउँपालिकाको केन्द्र मुनाको वडा नं ३ को वडा कार्यालयको तल्लोपट्टि मुना–मटला सडकखण्ड मुनिको घुम्ती गोठमा चारवटा गाई गोरु र ३ वटा भैंसी पालेर वस्नु बसेका डबहादुर विकले दिन कटाउन सजिलो हुने र (गोरस) दुध, मही खान पाइने भएकोले पशुपालन गरेको बताए । यति धेरै पशु पालेर पनि उनले घिऊ मात्र वेच्ने गरेका छन् । ‘दूध विक्रि गर्ने ठाउँ छैन, महि पा¥यो, यसो कहिले काहीँ घिऊसम्म बेचिन्छ,’ उनले भने, ‘दुःख धेरै छ, आम्दानी त छैन सरोवर ।’

वडाअध्यक्ष पुनले पशुपालक कृषकहरूलाई आयआर्जनसँग जोड्न वडाले पटक पटक गरेको प्रयास पनि उनीहरूकै वेवास्ताका कारण असफल भएको बताए । उनका अनुसार परम्परालाई छोड्न नसक्नु नै यहाँका पशुपालक कृषकहरू आय आर्जनसँग जोडिन नसक्नुको मुख्य कारण हो । पश्चिम म्याग्दीका लेकाली जंगल र खर्कहरू जैविक विविधताले भरिएका छन् । यहाँ यार्सागुम्बा, कटुकी, निरमसी, बोधो, सतुवाजस्ता बहुमूल्य जडिबुटी पाइन्छन् । खर्कहरूमा चरिचरन खुला गरिँदा यस्ता बहुमूल्य जडिबुटीहरू पशुचौपायका आहारा बनेका स्थानीय लखबहादुर भण्डारीले बताए ।

त्यसैगरी यहाँ मृग, चितुवा, बनविरालो, बाँदरजस्ता जंगली जनावर र डाँफे, मुनाल, गिद्ध, ढिकुर, तित्रो, उल्लु, चिलजस्ता पक्षीहरूको वासस्थान पनि छ । तर गोठ सर्दा मानिसहरू पनि सँगै हुने र उनीहरूले गाउँमा मानिसलाई बोलाएर सिकार गर्ने हुँदा जैविक विविधताका स्रोतहरू पनि नासिँदै गएका त्यस क्षेत्रका जनप्रतिनिधिहरू बताउँछन् ।

प्रतिक्रिया