अक्सिजनको भरमा कोरोनासँग जुध्दै संक्रमित

महेन्द्रनगर । दैनिक चारदेखि सात अक्सिजन सिलिण्डर मात्रै भर्न मिल्ने प्लान्ट रहेको अस्पतालमा कोरोना संक्रमणको महामारीमा संक्रमितको उपचार कस्तो होला ? सहजै अनुमान गर्न सक्छौँ, स्थिति सकसपूर्ण ।

अक्सिजन आपूर्तीमा सकस, रहेका ६ सघन उपचार कक्ष (आइसियू) श्यया भरिभराउ र अस्पतालको आकस्मिक कक्षमा समेत संक्रमितहरु भौतारिएका बेला महेन्द्रनगरस्थित महाकाली अस्पतालमा उपचारमा रहेका ९० प्रतिशत संक्रमित अक्सिजनको भरमा कोरोनासँग लडिरहेका छन् । जनशक्ति अपुग हुँदा पनि संक्रमितको सेवामा अहोरात्र खटिएको अस्पतालमा अझै अक्सिजन पुर्याउन सकिएको छैन् ।

‘यहाँ लक्षणसहितका उपचारमा रहेका संक्रमित मध्ये ९० प्रतिशत भन्दा बढी अक्सिजन लगाएरै उपचार सम्भव भइरहेको छ’, अस्पतालका डा. गोविन्द रोकायाले भने, ‘अक्सिजन बिना संक्रमितको उपचार नै सकसपूर्ण छ ।’ अस्पताललाई दैनिक एक सयभन्दा बढी अक्सिजन आवश्यक भइरहेको उनको भनाइ छ । ६५ भन्दा बढी संक्रमित उपचाररत रहेको अस्पालमा यहाँका समाजसेवी युवा व्यवसायीहरुले दैनिक रुपमा अस्पताललाई निःशुल्क अक्सिजन उपलब्ध गराइरहेका छन् ।

यसैगरी कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष जंगबहादुर मल्लको अगुवाइमा विभिन्न संघ–संस्थाहरुले पनि अस्पताललाई दैनिक ५० थान अक्सिजन सिलिण्डर उपलब्ध गरारहेका छन् । अस्पतालमा शंकास्पद बिरामीहरु कोरोना परीक्षणका लागि आउनेक्रम बढिरहेको छ भने केही दिनयता अस्पतालबाट निको भएर घर जानेको संख्या पनि सन्तोषजनक रहेको छ ।

अक्सिजन खरिदकै लागि यहाँको भीमदत्तनगरपालिकाले रु २० लाख, बेदकोट नगरपालिकाले रु १० लाख लगायत यहाँका विभिन्न सहकारी र बित्तीय संस्थाहरुले पनि अस्पताललाई सहयोग गरिरहेको महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशीले जानकारी दिए ।यसैगरी भारतबाट गड्डाचौकी नाका हुदै स्वदेश फर्किनेहरुको पनि सीमानाकामा स्वास्थ्य परीक्षण भइरहेको छ ।

त्यहाँ नेपाली सेनाको श्रीदल गुल्म भगतपुर ब्यारेकको टोलीले अस्थायी होल्डिङ्ग सेन्टर निमार्ण गरिरहेको छ । ‘आइतबारदेखि सञ्चालनमा ल्याइसक्ने गरी होल्डिङ सेन्टर बनाउने काम भइरहेको छ’, श्रीदल गुल्मका गुल्मपनि सेनानी प्रतीकसिंह कार्कीले भने, ‘अब होल्डिङ सेन्टर बनेपछि भारतबाट आउने नेपाली दाजुभाईहरुलाई पनि सहज हुनेछ ।’

लकडाउनमा प्रहरीः ‘कालोबजारी नियन्त्रणदेखि मास होल्डसम्म’

कोरोनाको संक्रमण तीब्र रुपमा बढिरहेका बेला भारतसित दुई ठुला नाका गड्डाचौकी र गौरीफन्टासित जोडिएको कञ्चनपुरमा प्रहरी जोखिम मोलेर भएपनि लकडाउन पूर्ण पालना गर्न अग्रसर छ ।

‘सीमानाकादेखि बजार क्षेत्र हुँदै जिल्लाभर सबैतिर प्रहरी परिचालन भइरहँदा हामीलाई स्वास्थ्य सामाग्री माथिल्लो निकायबाट कहिकतैबाट उपलब्ध भएको छैन’, जिप्रका प्रमुख प्रहरी उपरीक्षक उमाप्रसाद चर्तुवेदीले भने, ‘स्थानीय पालिका र संघ–संस्थाले उपलब्ध गराएका स्वास्थ्य सामाग्री प्रयोग गरेर प्रहरी २४ सै घण्टा डियुटी गर्दैछ ।’ उनले लकडाउनका बेला सीमानाका बाट स्वदेश फर्किने यात्रुहरुलाई यातायातको साधन व्यवस्थापनमा समेत प्रहरी खटिएको बताए ।

‘लकडाउनका बेला हुने कालोबजारीप्रति पनि प्रहरीको सुक्ष्म निगरानी छ’, उनले भने, ‘कालोबजारी गर्नेलाई कारबाही र लकडाउन उल्लघन गर्नेलाई होल्ड गराउनेदेखि जरिवाना तिराउनेसम्मको काम हुदैछ ।’ उनले नियमित कामकाजसँगै आइसोलेसनदेखि जिल्लाको समग्र सुरक्षासम्म प्रहरी सक्रिय भएर लागिरहेको जानकारी दिए । कोरोनाको दोस्रो चरणको संक्रमणमा जिल्लामा ३० प्रहरी कर्मचारी संक्रमित भएको जनाइएको छ । – रासस

प्रतिक्रिया